कस्ता थिए मदिरा ‘लभर’ प्रसिद्ध साहित्यकार ?
काठमाडौँ । समाजमा रक्सी पिउनुलाई नकारात्मक नजरले हेरिन्छ । अभिभावकले आफ्ना छोराछोरी र आफन्तजनलाई अल्कोहल नपिउन सल्लाह दिन्छन्, निगरानी गर्छन् र चेतावनीसमेत दिन्छन् । सरकारले पनि अल्कोहल पिउनु स्वास्थ्यका दृष्टिले खराब भनेर सचेतनाका कार्यक्रम सञ्चार माध्यममा बारम्बार प्रसारण गरिरहन्छ । अति अल्कोहल सेवनले शरीरका भित्री अङ्गमा क्षति पुर्याएर मृत्यु भएका उदाहरण पनि चिकित्सकहरूले दिने गरेका छन् ।
यद्यपि जवानीमा अल्कोहल पिउने धेरै हुन्छन् । तीमध्ये कतिपयले अल्कोहललाई साथीभाइ जमघट हुने र उन्मुक्त भई गफमा भुलिने माध्यम तथा मनोरञ्जनको पेय ठान्छन् । नेपालमा मात्र होइन, विश्व स्तरमा हेर्दा पनि धेरै बौद्धिक वर्ग तथा सर्जकहरूले अल्कोहल पिएका उदाहरण पाइन्छ ।
अल्कोहल पिउने मात्र होइन, कतिपय साहित्यकारहरू अल्कोहलको भुक्तभोगी पनि छन् । विश्व साहित्यमा नाम स्थापित गर्ने साहित्यकारहरू पनि अल्कोहलका लतमा फसेका उदाहरण धेरै भेटिन्छन् ।
प्राचीन इटालेली कवि होरेसले भनेका थिए, “पानी नपिउने साहित्यकारद्वारा लेखिएका कुनै पनि कविता सर्वकालिक अमर र सबैलाई रमाइलो दिन सक्ने नहुन सक्छन्” अर्थात् उनको दृष्टिकोण थियो, मदिरामा नडुबी वास्तविक साहित्य सिर्जना हुन सक्दैन ।
होरेसले इसापूर्व ६५ मा भनेको यो कुरा २१ औँ शताब्दीसम्म आउँदा नेपालमा मात्र होइन, पश्चिमा जगत्मा पनि अल्कोहलमा डुबेर साहित्य सिर्जना गर्ने धेरै साहित्यकार छन् । उनीहरू आफ्नो देश र भाषामा मात्र होइन, विश्वमै प्रसिद्ध भए । तीमध्ये केही चर्चित साहित्यकार यस्ता छन्:
रक्सी छोडे मात्र विवाह स्वीकार्ने प्रस्ताव !
चाल्र्स बिओकप्स्की अमेरिकी कवि, उपन्यासकार र लघुकथा लेखक हुन् । उनका पोस्ट अफिस, फ्याक्टोटम, हाम अन रे जस्ता विश्व प्रसिद्ध उपन्यास तथा द लास्ट नाइट अन अर्थ पोएम, बर्निङ इन वाटर, ड्रवनिङ इन फ्लेम, लभ इज अ डग फ्रम हेल जस्ता कविता कृतिले विश्व प्रसिद्ध छन् ।
‘हाम अन रेले’ उपन्यासमा उनले मदिराको परिचय दिँदै आफ्नो जीवनमा मदिरा कसरी अभिन्न अङ्ग बन्न पुग्यो भनेर मदिराको महत्त्वसमेत प्रकाश पारेका छन् । भनिन्छ, उनले जीवनभर रक्सीसँग रोमान्स गरे ।
धेरै समालोचकले नरम बोलीका बिओकप्स्कीमा आत्मविश्वासको कमी थियो र मदिराले उनलाई चाहिने आत्मविश्वास प्रदान गरेको थियो भनेका छन् । तर, संयोग नै मान्नुपर्छ, मदिराका कारण उनी कहिल्यै बिरामी भएनन् ।
यस्तै, १९ औँ शताब्दीका विश्वप्रसिद्ध कथाकार एड्गर एलन पो पनि ज्यादै पिअक्कड थिए । अमेरिकाली कवि, लेखक, सम्पादक तथा समालोचक थिए ।
खास गरी, पत्नी भर्जिनियाको मृत्यु भएपछि उनी रक्सीको लतमा फसेका थिए भनी समालोचकहरूले उल्लेख गरेका छन् । पत्नीको मृत्युपछि धेरै रक्सी पिए, केही समयपछि उनलाई सहारा दिने हेलेन विट्मेन नाम गरेकी महिलासँग प्रेम गर्न थाल्छन् ।
गहिरो प्रेममा डुबेका पोले विट्मेनसँग विवाहको प्रस्ताव पनि राख्छन् । विट्मेनले रक्सी छोडे मात्र विवाह स्वीकार्ने प्रस्ताव राख्छिन् । तर, उनले प्रेमलाई त्यागे रक्सी त्याग्न सकेनन् । त्यसको केही वर्षपछि पोको रहस्यमय मृत्यु भयो । कतिपयले उनको मृत्यु रक्सीकै कारण भएको भने पनि धेरै समालोचकले यसलाई चर्चाको विषयसमेत बनाएका छन् ।
‘ड्रिङ्क लोकल्ली, थिङ्क ग्लोबल्ली’
उपन्यासकार, कथाकार र पत्रकारसमेत रहेका अमेरिकी साहित्यकार अर्नेस्ट हेमिङ्ग्वे पनि त्यस्तै मदिराप्रेमी थिए ।
बिसौँ शताब्दीमा काल्पनिक लेखन शैलीलाई प्रभावकारी रूपमा सिर्जनामा उतार्ने सफल साहित्यकार हुन् । उनका द सन अल्सो राइज, अ फेयरवेल टु आर्म, फर हुम द बेल टोलस्, द ओल्ड म्यान एन्ड द सी जस्ता विश्व प्रसिद्ध कृति प्रकाशित छन् ।
सन् १९२० को मध्यदेखि १९५० को मध्यसम्म रचिएका रचनाहरूले उनलाई सन् १९५४ को नोबेल पुरस्कार दिलाएको थियो ।
ओल्ड म्यान एन्ड द सीका लेखक ज्यादै अल्कोहल पिउँथे भन्दै फिलिप ग्रिनले ‘टु ह्याभ एन्ड ह्याभ एनोदर’ भन्ने पुस्तक वार्तामा हेमिङ्वेको पिउने बानीका बारेमा उल्लेख गरेका छन् । उनी ‘ड्रिङ्क लोकल्ली, थिङ्क ग्लोबल्ली’ भन्थे । उनी प्रशस्त पिउँथे तर लेखनका क्रममा भने उनी पिउँदैन थिए भनिन्छ ।
कस्ता थिए नेपाली मदिराप्रेमी साहित्यकार ?
पश्चिमी साहित्यमा मात्र होइन, नेपाली साहित्यका क्षेत्रमा पनि पिउने सर्जकहरू प्रशस्त छन् । भूपि शेरचन, मनु ब्राजाकी, शङ्कर लामिछाने, हरिभक्त कटुवाललगायत साहित्यकारले अधिक मदिरा पिउँथे भनेर बेला बेला साहित्यकारहरूमाझ चर्चासमेत हुने गर्छ ।
भूपि शेरचन निकै नै मदिरा प्रेमी थिए भन्ने कुरा शङ्कर लामिछानेको ‘भूपि शेरचन’ निबन्ध पढ्दा थाहा हुन्छ । शङ्करको व्यक्ति निबन्धको यो अंश हेरौँ...
‘...भूपि भन्थ्यो, ‘बाहिरबाट आएर, शङ्करजी, पहिलो काम चाहिँ झ्याल बन्द गर्नुहुन्छ मेरो ! नत्र राति झ्याललाई ढोका भन्ठानी बाहिर जान खोजेँ भने... भित्र आउन सक्दिनँ फेरि !’ (उसको कोठा चार तलामाथि छ ! मैले आश्चर्य मानेको थिएँ, ऊ लड्खडाएर कसरी त्यतिको गल्ली, भ¥याङ, मटान पार गर्न सक्छ सधैँ ! ऊ भन्थ्यो रक्सीले उसलाई स्फूर्ति प्रदान गर्छ रे !
र, आजकाल चाहिँ रक्सी भएन भने उसको खुट्टा लर्बराउँछ । भन्थ्यो, ‘म नढलमलाई हिँड्नै सक्तिनँ नपिएको बेला !’
र, अस्ति मात्र संयोगवश फेरि दर्शन र म उसकहाँ गयौँ । उसलाई भेट्न होइन, उसलाई छाड्न । दुईतिर दुई जनाले अँगालो मारेर उसलाई ओछ्यानमा छाडिदियौँ ।
जुन साथीकहाँबाट उसलाई ल्यायौँ हामीले, त्यहाँ ऊ होसमा थिएन, ऊ मोटरमा पनि होसमा थिएन, ऊ भ¥याङमा पनि होसमा थिएन, ऊ ओछ्यानमा पनि होसमा थिएन ।
उसको सिराननिर राखेको रमको बोतल देखेर ऊ होसमा आयो । भन्छ, ‘यारोँ, कम अन, वन फर द रोड !’ दर्शन मतिर फर्कँदा त्यस बखत, प्रश्न चिह्नको सच्चा प्रतीक देखिन्थ्यो ।
यहाँनिर एउटा कुरा भनिदिऊँ– भूपि ओछ्यानमा पल्टिँदा पनि सडककै चिन्ता गर्छ । उसको सम्पूर्ण जीवन मानौँ एउटा लामो ‘रोड’ हो, जसमा ऊ कतै आराम पाउँदैन । र, भूपिले जति रक्सी खाइरहेछ, आफ्नो निमित्त होइन, सिर्फ त्यस ‘रोड’ का निमित्त !’
(लामिछानेको ‘बिम्ब प्रतिबिम्ब’ बाट ।)
लामिछानेको निबन्धमा मात्र होइन, भूपि आफैँले पनि आफूले पिएका सम्बन्धमा साहित्यकार मित्रले नपिउन दिएका सुझावलाई प्रतिवाद गर्दै यस्तो कविता लेखेका छन्–
“मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर सहिद हुनेहरू,
जिएर त हेर, जिउन झन् गाह्रो छ !..... (मेरा साथीहरू कविताबाट)
यस्तै, साहित्यकारका प्रवृत्ति साहित्यिक पत्रकार रोचक घिमिरे बेला बेला चर्चा गर्छन् । एकपटक विजय मल्ल सहितको साहित्यकारको टोलीले राति ११ बजेसम्म रक्सी पिएपछि एकजनाले पारिजातको डेरा जान उक्साएको सम्झन्छन् घिमिरे । तर, जाँड खाएर मध्यरातमा आएका साहित्यकारको टोलीलाई पारिजातले धेरैबेरसम्म ढोका खोल्दै खोलिनछिन् ।
“त्यो बेलाकी सुन्दर पारिजात, चर्चाको शिखरमा थिइन् । उनी पुतलीसडकमा बहिनी सुकन्यासँग बस्थिन्, त्यो टोली पारिजातकहाँ नगई नछाड्ने भयो । रक्सी नखाने भएकाले मैले नै कसो कसो त्यहाँसम्म पु¥याएँ ।” घिमिरे भन्छन्, “अन्त्यमा त्यो टोलीमा म पनि छु भन्ने थाहा पाएपछि मेरो विश्वासमा उनले ढोका खोलिन् ।” साहित्यिक जमघटमा अल्कोहल पिउने नेपाली साहित्यकारहरूको प्रवृत्ति पहिलेदेखि नै रहेको घिमिरेको यो कथनले प्रस्ट पार्छ ।
महोत्तरीको औरही–२ को नैनीगौरी गाउँमा जन्मिएका मनु ब्राजाकी अर्थात् चेतनमान सिंह भण्डारी नेपाली आख्यान क्षेत्रका प्रसिद्ध कथाकार हुन् । उनका अवमूल्यन, आकाशको फल, तिम्री स्वास्नी र म, भविष्य यात्रा, पारदर्शी मान्छे, अन्नपूर्णाको भोज, मनु ब्राजाकीका कथालगायत कथासङ्ग्रह प्रकाशित छन् ।
धेरै साहित्यकारहरू ब्राजाकी मदिरा अधिक पिउँथे भन्छन् । तर, उनले पिएर कोही कसैलाई हेलाहोचो गरेनन् भन्छन् पत्रकार सुनील पुरी । पुरीसँग उनको निकै गहिरो दोस्ती थियो । मदिरा पिउँदा ‘दाजु तपाईं किन यति पिउनुहुन्छ ?’ भनेर पुरीले सोध्दा कथाकार भएकाले नयाँ नयाँ कथाका कथानक खोज्न मदिरा पसलहरू जाने गरेको उनी बताउँथे ।
मदिरा पसलमा विविध किसिमका पृष्ठभूमि र स्वभावका मान्छेहरू आउँछन् । कथा सामग्री र पात्रहरू बनाउन पाइने हुनाले यहाँ आउँछु र पात्रहरूसितै घुलमिल भएर कथा बुन्छु भन्थे उनी । पात्रहरू उनका मस्तिष्कमा आएर छर्लङ्ग भएपछि मात्रै कथा लेख्छु भन्थे । ‘उहाँले मसँग मात्र होइन, धेरै जनासँग भन्नु भएको छ,’ पुरी भन्छन्, ‘पिएका बेलामा म लेख्न सक्दिनँ, नशाले छोडेपछि मात्र लेख्छु । तर गजल चाहिँ जुनसुकै बखत पनि लेख्न सक्छु ।’
ब्राजाकी आफ्नो सिर्जनाको पारिश्रमिक लिनेमध्ये सबैभन्दा कडा लेखक हुन् । मदिरा पिउने भए पनि उनी पैसा लिएर मात्र प्रकाशनका लागि सिर्जना छोड्थे भन्छन् घिमिरे । “उनी तराईबाट रात्रिबसमा काठमाडौँ आउँथे र सिधै हाम्रो घरमा पस्थे । राति खाएको मदिरा गन्हाइरहेको हुनाले म उनलाई घरभित्र लैजान डराउँथे,” घिमिरे सम्झन्छन्, “एकपटक बिहानै मेरो बुवा नुहाएर पूजा गर्न ठिक्क परेका बेला भावुकतावश उनले बुवाको खुट्टा ढोगे । बुवाले उनले पिएको कुरा थाहा पाउनुभयो । उनी गएपछि मसँग रिसाउनुभयो ।”
यस्तै, अर्का मदिराप्रेमी चर्चित साहित्यकार हुन् हरिभक्त कटुवाल । उनका ‘सम्झना’ गीतहरूको सङ्ग्रह, ‘भाटिया मान्छे बोल्ना खोज्छ सुधा’ (महाकाव्य), ‘पूर्व किरण’, ‘यो जिन्दगी खोइ के जिन्दगी’, ‘बदनाम मेरा यी आँखाहरू’, ‘म मरेको छैन’ जस्ता कृति चर्चित छन् ।
कटुवाल भारतको आसामबाट नेपाल आउँदासम्म रक्सी चाखेका पनि थिएनन् । यहीँको सङ्गतमा उनले रक्सी खाना थालेका थिए । एकपल्ट हरिभक्तले मज्जाले पिएर रत्नपार्कबाट गाडी चढ्न खोज्दा गाडीवालले चढाउन नमानेको अवस्थामा घिमिरेले देखेछन् । “त्यो हरिबिजोगमा उनलाई हामीले छाड्न मिलेन, दुईतिरबाट बोकेर रानीपोखरी छेउमा ल्यायौँ,” घिमिरे भन्छन्, “गाडीले मात्र होइन, ट्याक्सीले पनि बोक्न मानेन ।
यसले हरिभक्तलाई ठुलो पीडा भयो र भने, ‘हेर बाबु, मलाई सामान्य मान्छे नठान । म त्यही मान्छे हुँ, जसले लेखेको गीत नारायण गोपालले गाएका छन् ।’
त्यसपछि उनले ‘पोखिएर घामको झुल्का’ गीत गाएर भने, यो गीत मैले लेखेको हो ।” सुरुमा त ट्याक्सीवालाले पत्याएनछ र घिमिरेहरूलाई हेरेछ । “हामीले लैजाऊ भनेर स्वीकृति जनाएपछि हरिभक्तलाई घरसम्मै छाडिदियो र पैसा लिएनछ,” उनी भन्छन्, “हामी पनि साहित्यकार भएको थाहा पाएपछि घरैसम्म छाडिदियो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस