दीपावली र छठ पर्व नजिकिएसँगै सिराहामा कुम्हालेको व्यस्तता बढ्यो (तस्बिरहरू)
सिराहा । सिराहा धनगढीमाई नपा ७ कसहाका ७० वर्षीय वैजनाथ पण्डित (कुम्हाले) लाई अहिले भ्याई नभ्याई छ । उनी मात्र हैन यहाँ रहेका करिब ४० घर परिवार नै अहिले बिहानैदेखि माटोको भाडा बनाउनमा व्यस्त छन् ।
दीपावली तथा छठ पर्वमा चाहिने दियो, डिबिया, पाला, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मटिया (माटोको गाग्री) लगायतका सामाग्रीको माग स्थानीय बजारहरूमा बढेपछि कुम्हाले समुदायलाई माटोको सामाग्री बनाउन भ्याइ नभ्याइभएको हो ।
सांस्कृतिक पर्व छठ तथा दीपावली नजिकिँदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्यधिक हुने गर्दछ । स्थानीय कुमालेहरू खेतबारीका कामलाई थाती राखेर माटोका भाँडा तथा पूजाका सामग्री बनाउन व्यस्त भएका हुन् ।
वैजनाथले जसोतसो धान भित्र्याए पनि परालको टाल (कुन्यू) लगाउन भ्याएका छैनन् । छठ र दीपावलीमा नै सबैभन्दा बढी माटाका भाडाहरू बिक्ने भएकाले अहिले परिवारै यसैमा लागेको उनले बताए । उनले भने, ‘दसैँ बितेसँगै म, कान्छो छोरा रामवृक्ष पण्डित र मेरी श्रीमती बिहानदेखि बेलुका सम्म यसैमा लागेका हुन्छौ, अहिले राम्रै कमाई हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौँ ।’ उनी भन्छन्– ‘यही एक महिनाको अवधिमा सबै खर्च कटाएर ५०/६० हजार रुपैयाँ बचत हुन्छ ।’
धनढीमाई नपा ७ कसहाकै ४१ वर्षीय सुशील पण्डितलाई पनि अहिले उस्तै चटारो छ । उनी श्रीमती, आमा सहित बिहानैदेखि माटाका सामाग्री बनाउन मै व्यस्त छन् ।
अहिले कमाई धेरै हुने भएकाले पनि यो समुदाय दिनरात नभनी काममा लाग्ने गरेको सुशीलले बताए । उनले भने, ‘अहिले नै राम्रो बिक्री हुने हो, अरू बेला त्यति चल्दैन । त्यसमाथि छठ तथा दिपाली पर्वका लागि रमक जोह गर्नुपर्ने वेला भएकाले परिवारै मिलेर काम गर्ने गरेका छौँ ।’
उनले गत वर्ष चाड पर्व मनाउन लागेको खर्च कटाएर २५ हजार रुपैयाँ बचत गरेको बताए ।