भूकम्पका कारण करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको बताए । उनका अनुसार उक्त क्षेत्रमा रु एक करोड सात लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ ।
उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उनले जानकारी दिए ।
मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिए । मन्त्रालयका पशुपन्छी अधिकृत पूर्ण बुढाका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ ।
उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटेको थियो । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।
पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको थियो । प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनी उद्योगले समयमै भुक्तानी दिएपछि उखु किसानलाई राहत
-
एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि
-
आज महालक्ष्मीको बार, कस्तो छ तपाइको दिन ? हेरौँ राशिफल
-
अमेरिकी डलर, युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र रिङ्गेट ओरालो
-
इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा
-
हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा