उजाड बस्ती र म

बस्ती उजाड छ
न्याउली र प्रकृतिको
सम्बन्ध तोडिएको छ
मौसम त वसन्तकै थियो
परन्तु,
एकतमास फुल्ने गुराँस
आज शून्य शून्य लाग्दै छ
आज किन हो ?
बस्ती न्यास्रिएको छ
हेर्दा हेर्दै,
मेरा आँखाका ढक्कन
ठप्प ढाकिए
परेला लोलाएका छन्
उजाड बस्ती एकटकले
मलाई घुरिरहेको छ
म के सहानुभूति दिऊँ उसलाई ?
बेरङको यो दुनियाँमा
म आफैँ निख्रिएको छु, रित्तिएको छु
उराठ लाग्दो त्यो बस्तीलाई
हराभरा बनाउने एउटा सपना थियो
म कस्तो जवाफ दिऊँ उसलाई ?
जब कि
म आफैँ अपूरो सपनाभित्र विलीन छु
सुनसान बस्ती
मलाई हिस्स्याइरहेको छ
बेचिएको उसको अस्मिता
फिर्ता गराउन वचनबद्ध थिएँ
उसको र मेरो समानताको सन्धि
इतिहासको पानामा
स्वर्ण अक्षरले कोरिएको थियो
किन्तु,
म भुइँ मान्छे
आज, निर्लज्ज टोलाई रहेको छु
कसरी भरोसा दिलाऊँ उसलाई ?
म आफैँ अभावले दबिएको छु, पिल्सिएको छु
जति गहिराइमा डुब्छु
उति बेचैन छु
खडेरीको यो मौसमभित्र
म आफैँ तङ्ग्रिएको छु, उजाडिएको छु
उजाड बस्ती
मलाई गिज्याइरहेको छ
जति हिँड्छु यो बाटो
उति लम्बिएको छ
कतै पछ्याउँछु त भविष्य
त्यो, यतै अल्झिएको छ
म भुइँ मान्छे
भुइँमै समेटिएको छु, ओइलिएको छु
बेसुरको यो सङ्गीत लहरीमा
म, ध्वनिसँगै बरालिएको छु
हावासँगै बतासिएको छु
उजाड बस्ती
मलाई टुलुटुलु निहालिरहेको छ ।
मुसिकोट–१, रुकुम पश्चिम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?
-
हेटौँडाबाट पेस्तोल, सुन र लागु औषधसहित ४ जना पक्राउ
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता
-
अब पढ्न पाइने छैन अस्ट्रेलियाका पूर्वकप्तान इयान च्यापलले लेखेको क्रिकेटसम्बन्धी समाचार र विश्लेषण
-
यस्ता छन् केन्द्रीय कमिटीले पास गरेको १७ बुँदे प्रस्ताव (पूर्णपाठ)