कतारको भिसा नपठाइदिएको रिसमा मामाको छोराले बनाएका थिए हत्या योजना

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न दुई जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न सोही नगरपालिकाको–७, पिना घर भइ हाल बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ‘काले’ र मन्दु गाउँकै ३१ वर्षीय गोपालबहादुर बोहोरा छन् ।
प्रहरीले शाहीलाई कार्तिक २० गते सुर्खेत, वीरेन्द्रनगरको पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो भने बोहोरालाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
गोपालबहादुर कै मुख्य योजनामा कात्तिक ८ गते साँझ गोपाल र गोर्खबहादुरले मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीय छोरी अप्सरा बोहराको हत्या गरे ।
मृतक श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कात्तिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति उनीहरुको हत्या गरिएको थियो ।
यद्यपि प्रहरीले कात्तिक १० गते बिहानमात्रै घटनाबारे थाहा पायो । दुई दिनसम्म पनि यता–उता नगरेको र ताला नखोलिएको देखेपछि स्थानीयले घरमा लगाएको ताला तोडे । त्यसपछि भित्र चारै जनाको शव फेला परेको थियो ।
धारिलो हतियारबाट टाउको र घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीदेवीसहित छोराछोरीको शव भेटियो । उनका श्रीमान दीपक बोहोरा भने कतारमा थिए । लगत्तै जिल्लाबाट प्रहरी प्रमुख वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
कात्तिक ११ मा प्रदेश प्रहरी कार्यालयको टोली मुगुमा खटियो । कतारमा रहेका दीपक पनि घटनापश्चात ११ गते घर फर्किए । तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दा एक हप्तासम्म पनि घटनाबारै कुनै ‘क्लु’ पत्ता लागेन । पछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई घटनास्थलमा खटाइएको थियो ।
विभिन्न कोणबाट अनुसन्धान गरेको प्रहरीले अन्ततः हत्यारामा संलग्नहरु पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको छ ।
यस्तो छ घटनाको नालीबेली
घटनाको मुख्य योजनाकार गोपालबहादुर बोहोरा हुन्, जो श्रीदेवीकै मामाका छोरा हुन् । प्रहरीका अनुसार गोर्खबहादुर सानीआमाको श्रीमान हुन् ।
यी दुई जना आफन्तले नै श्रीदेवी बोहोराको परिवारको विभत्स हत्या गरे । घटनाको सुरुवात वैदेशिक रोजगारीमा रहेका श्रीदेवीका श्रीमान दीपकको आकर्षक कमाइबाट हुन्छ ।
गोपालबहादुर वैदेशिक रोजगारीका लागि कतार गएका थिए । त्यहाँ राम्रो काम नपाएपछि दुई वर्ष बसेर नेपाल फर्किएका थिए । तर, श्रीदेवीका श्रीमान दीपक बोहोराले भने कतारमै राम्रो कमाइ गर्थे ।
गोपालले दीपककै कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन आग्रह गरे, जुन आग्रह दीपकले अस्वीकार गरिदिए । त्यही विषयलाई गोपालले रिसइबीका रुपमा लिएर परिवारको हत्या गर्ने योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी भीमप्रसाद ढकालका अनुसार गोपालले नै बनाएको योजना अनुसार २०८० सालको जेठ महिनामा पिना घर भएर बाँकेमा बस्दै आएका गोर्खबहादुर शाहीलाई भेटेर दुई जना मिलेर हत्या गर्ने योजना बुनेका थिए । भेटमा दुईबिच श्रीदेवी बोहोरासँग भएको १०÷१२ तोला सुन र नगद रुपैयाँ लुटपाट गर्ने सल्लाह भएको थियो ।
उक्त सल्लाह अनुसार गोर्खबहादुर कार्तिक ५ मा सुर्खेतबाट मुगुतर्फ लागे । त्यसको भोलिपल्ट उनी मन्दु गाउँ पुगे, जहाँ मुख्य योजनाकार गोपाल थिए । गोपालसँगको भेट पश्चात गोर्ख गोपालकै घरको भुइँतलास्थित खरायोको खोर भएको कोठामा कोही कसैले नदेख्ने गरी लुकीछिपी बसे ।
भोलिपल्ट अर्थात दसैँको दिनभरि मन्दुस्थित एक सामुदायिक विद्यालय नजिक खोलामा लुकीछिपी बसे । साँझ गोपालको पुरानो गोठघरमा गएर बास बसेको र गोर्खलाई गोपालले नै घरबाट खाना ल्याइदिएको कुरा अनुसन्धानबाट खुलेको छ ।
दसैँको दिन श्रीदेवी भने सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कार्तिक ८ गते बेलुका घर फर्किइन् ।
साँझ ९ बजतिर श्रीदेवी बोहोरा र छोराछोरी खाना खाएर बसिरहेका थिए । गोपाल र गोर्खबहादुरले श्रीदेवीलाई घर बाहिरबाट बोलाएर ढोका खोल्न आग्रह गरे । श्रीदेवीले पनि ढोका खोलिन् । दुवै जना भित्र पसेर धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहार गरे । उनीहरुले श्रीदेवीले प्रयोग गर्दै आएको एउटा ओप्पो मोबाइल, श्रीदेवीले कानमा लगाएको अन्दाजी २.५ तोला सुनको रिङ र घाँटीमा लगाएको २५ लाल सुनको तिलहरी लुटेर फरार भएको बयान दिएका छन् ।
घटना पश्चात गोपाल गाउँमै बसे भने गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म पैदल गएको र त्यहाँबाट सुर्खेत जाने बस चढेर ९ गते बिहान सुर्खेत पुगेका थिए । उनले मृतक श्रीदेवीले प्रयोग गर्ने गरेको तर, घटनास्थलमा बरामद नभएको ओप्पो कम्पनीको मोबाइलबाट श्रीदेवीले प्रयोग गर्ने सिम निकालेर फालेका थिए भने गोर्खले आफूले प्रयोग गर्ने सिम उक्त मोबाइलमा हालेको डीआईजी ढकाल बताउँछन् ।
प्रहरीले घटनास्थलमा रहेको गलबन्दीलाई पनि अनुसन्धानको आधार बनाएको थियो । गोर्खबहादुरले प्रयोग गर्दै आएको गलबन्दी घटनास्थलबाट बरामद भएको थियो । बयानका क्रममा गोर्खले उक्त गलबन्दी आफ्नो भएको स्वीकार गरेका थिए । साथै लुटपाट गरेको सुन उनले बिक्री समेत गरिसकेको अनुसन्धानबाट खुलेको छ ।
२३ गते बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१८, कारकाँदोस्थित गजेन्द्र विक्रम शाहीको घरमा गोर्खले लुकाइछिपाइ साई कृपा गोल्ड चिया लेखेको झोलामा नगद एक लाख उनासी हजार, गोर्खबहादुर शाहीको नामको नेपाली राहादानी, उनकै नामका बस टिकट दुई वटा र दुई वटा सिम कार्ड होल्डर बरामद भएको थियो ।
उक्त रकम मृतक श्रीदेवीबाट लुटिएको सुन बिक्री गरेर आर्जन गरेको देखिएको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनाबारे थप विवरण भने आउन बाँकी नै छ । घरमा लगाएको ताला पनि श्रीदेवीले प्रयोग गर्ने नभएर बाहिरबाट ल्याएर लगाइएको अनुसन्धानका सक्रिय एक अधिकृतले बताए ।
प्रहरीले ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।