बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु : प्रहरी

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ ।
तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मुख्यगरी पटाका पटकाउनेजस्ता गतिविधि, हत्या–हिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ ।
सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ ।
नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ÷छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।
यस्तै चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
-
औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ