पुरोहितवादको प्रतिफल
सृजो महीरिन्द्र या अपिन्वः परिष्ठिता अहिना शूर पूर्वीः ।
अमत्र्यँ चिद्दासं मन्यमानमवाभिनदुक्थैर्वावृधानः ।
अर्थात् बलशाली इन्द्रले जलप्रवाह रोक्न अहि नामको असुरद्वारा नदीमा बाँधिएका बाँधहरू भत्काएर प्राकृतिक रूपमा बग्ने व्यवस्था मिलाए । त्यसपछि उनले आफूलाई अमर ठान्ने घमण्डी असुुरहरूको पत्तासाफ गरे । (ऋग्वेद २।११।२)
‘गुरुदेव ! अस्ति तपाईंले हाम्रो पैतृक भूमि सिन्धु निकट तल्लो मद्र हो भन्नुभएको थियो । अहिले उनीहरूमध्ये केही अझै त्यतै छन् भन्दै हुनुहुन्छ । कुरा सुन्दा कस्तो कस्तो लाग्यो । हामी मात्र यता किन आयौँ ? कहिले आयौँ र किन आएका थियौँ । अनि यता आउनेमध्येका सन्तान अहिले कहाँकहाँ पुगेका छन् ?’ एक दिन भोल्गा तटमा पारिलो घाम तापिरहेका बेला शुक्राचार्यसित शिष्य श्रवणले सोधे ।
‘कहानी जति लामो छ त्यति नै दर्दनाक छ वत्स ! त्यतातिर नजाँदा नै वेश होला ।’ छोटो उत्तर दिएर शुक्राचार्य उम्कन खोजे ।
‘कहाँ त्यसो भनेर हुन्छ गुरुदेव ! इतिहास भनेको इतिहास हो । जति नै दर्दनाक भए पनि भावी पुस्ताले जान्नै पर्छ । अन्यथा पहिचान नै समाप्त हुन्छ होइन र ?’ श्रवणले जिद्दी गरे ।
‘त्यो त हो । खाटा बसेको घाउ किन कोट्याउनु भन्न खोजेको हुँ । त्यसै भन्छौ भने सुन । तिम्रा पूर्वज सिन्धु निकट मद्रको उर्वर भूमिमा बस्थे । त्यहाँ बस्नेमध्ये कति तल्लो मद्रवासी थिए कति परशुहरू, जो परापूर्वकालदेखि मिलेर बसेका थिए । उनीहरू प्रगतिशील पनि थिए र पौरखीमा पनि गनिन्थे । नदीमा बाँध बाधेर सिँचाइको प्रबन्ध गरेका थिए । बस्नका लागि माटो पोलेर इँटाको पक्की घर बनाएका थिए । जमिन उत्खनन गरी फलाम निकालेर ढुङ्गाको सट्टा फलामे औजार बनाएका थिए । पकाउन र खानका लागि पनि धातुको भाँडा प्रयोग गर्ने गर्थे । लिपि विकास गरी कथ्य परम्परालाई लेख्यमा परिणत गरेका थिए । यस्तै यस्तै धेरै नयाँ प्रविधि प्रयोग गरी मद्रभूमिलाई सम्पन्न बनाएका थिए तर दुःखको कुरा त्यही नै उनीहरूका लागि अभिसाप बन्न पुग्यो ।’ शुक्राचार्यले खुइय गरे ।
‘कुरा बुझिएन गुरुदेव ! त्यति राम्रो काम पनि कसरी अभिसाप बन्न पुग्यो । पहिले यसैबारे प्रष्ट पार्न आग्रह गर्छु ।’ श्रवण थप जिज्ञासु बने ।
‘कसरी भन्ने खोइ ? यसको कारण तिनै अग्निपूजक पौरव र उपल्लो मद्रवासीका हुन् । उनीहरू आफूलाई प्रकृतिवादी आर्य मान्थे । वन्यप्रान्तमा बस्थे, प्रकृतिलाई चलाउनुहुन्न भन्थे । यज्ञअनुष्ठानमा रमाउँथे । यसैबाट वातावरण स्वच्छ भई प्रकृति संरक्षण हुन्छ भन्ने उनीहरूको मान्यता थियो । विकासप्रेमी भएकाले उनीहरूले तिमीहरूका पुर्खालाई देखिसहेनन् । प्रकृति विरोधी अनार्य र असुर हुन् भन्दै उनीहरूका सम्राट् इन्द्रले ८०० भन्दा बढी नगर सभ्यता ध्वस्त पारेका थिए । तिनमा १०० वटा त शम्बर एउटैको थियो । (ऋग्वेद २।१४।६) यस निम्ति उनले सयौँ पटकका आक्रमण गरेका छन्, जसले गर्दा विकासप्रेमी वृत्र (ऋग्वेद २।११।१०), उरण, अर्बुद, अश्न, शुष्ण, अहि, पिप्रु, नमुचि, शम्बर, रुधिक्रा, दृभिक आदि हजारौँ विकासप्रेमी योद्धाहरूले ज्यान गुमाउनुपरेको थियो । (ऐऐ ३–७)’ शुक्राचार्यले लामो सास फेरे ।
(सरस्वती सभ्यताको नामले चिनिने उनीहरूको नगर सभ्यता मिश्र, चीन र मेसोपोटामियाभन्दा पनि पुरानो मानिन्छ । यो सभ्यता क्षीरसागर वर्तमान क्यास्पियन सी, दक्षिणमा गोवा, पश्चिममा पूवी टर्कीदेखि पूर्वमा हालको दिल्लीपूर्वको केही भागसम्म १३ लाख वर्ग किमि क्षेत्रफलमा फैलिएको थियो । मदनमणि दीक्षित हिन्दूसंस्कृतिको परिशीलन पृष्ठ २४७)
‘के उनीहरूलाई विकास चाहिएको थिएन र त्यति ठूलो ध्वंश गराएका होलान् ?’ श्रवणले जिज्ञासा थपे ।
‘किन नचाहिने नि तर उनीहरू थिए नै त्यस्तै ढोँगी । बाहिर बाहिर विरोध गर्थे । लुकी लुकी उपयोग गरिरहेका हुन्थे । लिपिकै कुरा गरौँ न । पहिले असुरहरूको उपज भनेर विरोध गरे । वेदका मन्त्रहरूसमेत मुखैले गुनगुनाउँथे । पछि त्यसैलाई स्वीकार मात्र गरेनन् वेदमन्त्र लेखेर पढ्न र पढाउन थाले । तिनताका पाञ्चाल नरेश दिवोदासका महापुरोहित वशिष्ठ थिए । लिपिका सर्वाधिक विरोधी उनै हुन् तर दासराज युद्धमा असुरहरूलाई हराउन सफल भएपछि विश्वामित्र दिवोदास पुत्र सुदासलाई प्रयोग गरी वशिष्ठको स्थान हत्याउन सफल भए । उनैले नै लिपिको प्रयोगमा राजाज्ञ गराएका हुन् । उनीहरू वेदका मन्त्रद्वारा इन्द्रको प्रशंसा गर्थे । इन्द्र त्यसैमा मक्ख परी बज्र हातमा लिएर तिम्रा पुर्खाहरूलाई खोजी खोजी गिँड्दै हिँड्थे । पहिले तिमीहरूका पुर्खालाई योनी र लिङ्गपूजक भनेर घृणा गरे । पछि उनीहरू आफैँ तिनैलाई इष्टदेवता मानेर त्यही योनी र लिङ्गमा चढाएको चिजलाई महाप्रसाद भनेर खान थाले ।’ शुक्राचार्यले थप प्रस्ट्याए ।
‘यसको पछाडि कसको दोष बढी पाउनुभएको छ नि गुरुदेव !’ श्रवणले थप जान्न चाहे ।
‘पुरोहितवाद हो वत्स ! पुरोहितवाद । तिनताका पुरोहितवादको जन्जिर तोडेर कोही पनि अघि बढ्न सक्दैनथे । कर्मकाण्डी पुरोहितवादको विरोध गर्दा राजा बेनको त हत्या नै भएको थियो । (भागवत ४।१४।३४) समर्थन गर्दा पृथुको देवत्वकरण गरियो । (ऐऐ १५।१०) पुरोहितवादीहरू शासकको स्तुतिगान गर्थे । शासकहरू उनीहरूले जेजे भने त्यसैमा लालमोहर लगाइदिन्थे । यसरी दुवै पक्षको दानापानी चलेको थियो । शासकहरू प्रशंसा पाउँथे पुरोहितवादीहरू दक्षिणाको मोटो थैली । यसरी पुरोहितवाद पनि टिकिरह्यो । शासकीय सत्ता पनि चलिरह्यो ।’ शुक्राचार्यले अमिलो मुख पारे ।
‘अनि हाम्रा पूर्वज यता कसरी आइपुगे नि गुरुवर ?’ श्रवणले प्रसङ्ग अघि बढाउन चाहे ।
‘यसको पनि कहानी लामो छ । प्रागैतिहासिक समयको कुरा हो । यसै भन्न त सकिन्न तर इतिहासकारहरू यसलाई देवासुर सङ्ग्रामको समय भन्छन् । तथापि सत्य के हो भने पौरव र माथिल्लो मद्रवासीहरूले तल्लो मद्रवासी र परशुहरूलाई प्रकृति विरोधी भनेर आक्रमण गरे । उनीहरूबीच ठूलो युद्ध भयो । यसमा धेरै तल्लो मद्रवासी र परशुहरू मारिए । केहीलाई दास बनाएर लगे । केही भागेर पुस्कलावतीतिर लागे, जुन स्वात र कुभा (काबुल) नदी सङ्गम निकटको सुरक्षित स्थान थियो तर आर्यहरू लखेट्दै आइपुगेकाले उनीहरू त्यहाँ पनि टिक्न सकेनन् र समुद्र पार गरी पर्सियातिर लागे । त्यसपछि उनीहरूका सन्तान बिस्तारै अघि बढ्दै गएर युनानसम्म पुगे । उनीहरूले यहाँ आएर दार्शनिक युगकोे समेत सूत्रपात गरेका थिए तर भइदियो के भने रोम साम्राज्यपछि त्यो पनि सरेर रोमतिरै पुग्यो । यसरी एथेन्सवासीले उत्पादन गरेको दर्शनको फल रोमनवासीले चाखे ।’ शुक्राचार्यले थप प्रस्ट पारे ।
‘पौरव र उपल्लो मद्रवासीले हाम्रा पुर्खामाथि यति ठूलो शत्रुता राख्नुको कारण के पाउनु भएको छ नि गुरुदेव ?’ श्रवणले जिज्ञासा थपे ।
‘आवरणमा जेजस्तो देखिए पनि मूलमा विकास तथा विज्ञान प्रविधिको जस कसले लिने भन्ने हो जस्तो लाग्छ । यसमा उनीहरूका गुरु बृहस्पति र मेराबीचको वैमनस्यले पनि काम गरेको हुनुपर्छ । किनभने उनी पहिलेदेखि मेरो विपक्षमा थिए । विगतमा उनले मलाई पछि पार्न कम्ती प्रयास गरेका होइनन् । कहिले मृतसञ्जीवनी विद्या हत्याउन आफ्नै छोरा कचलाई प्रयोग गरेका छन् कहिले चार्वाक दर्शनमार्फत् बदनाम गराउन खोजेका छन् । पहिले उबडखाबड जमिन सम्याएर सिँचाइ प्रबन्ध मिलाउँदा तिम्रा पुर्खालाई प्रकृति विरोधी भनियो पछि कर्मकाण्डवादी पृथुमार्फत् जमिन सम्याएर पृथिवीको दोहन गर्न बाँकी राखेनन् । (भागवत ४।१८।१२) उपासकहरूको यज्ञभागमा रमाउने इन्द्रकै कुरा गर्दा पनि पहिले प्रकृति चलाउनु हुन्न भन्ने उनै हुन् । पछि पर्वतको पखेटा काटी प्रकृतिको दोहोला काड्ने पनि उनै हुन् । (ऋग्वेद २।१२।२ र २।१७।५) उनीहरूको विरोधाभाष चरित्रले यही सिद्धि गर्छ कि तिम्रा पुर्खाले विज्ञान र प्रविधिको क्षेत्रमा गरेका विकासको जस आफ्नै पोल्टामा आओस् तर जस भने उनीहरूले पनि पाएनन् । वैदिक मन्त्रमै देखा परेको विज्ञान र प्रविधिको भ्रूण तिनै कर्मकाण्डी पुरोहितवादका कारण गर्भमै नष्ट हुन पुग्यो । अन्यथा अहिलेसम्म फैलिएर कहाँसम्म पुथ्यो अनुमानसम्म लगाउन पनि गाह्रो पर्छ ।’ शुक्राचार्यले भोल्गापारितिर आँखा लगाए ।
उनीहरूबीच यस किसिमको संवाद चल्दाचल्दै सूर्य किरण भोल्गा पारि डाँडोका टाकुरातिर पुगिसकेको थियो । त्यसपछि रात पर्न लागेको ठानी उनीहरू आआफ्ना निवासतिर लागे ।