सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मधेसमा पहिलोपटक क्युएफएक्स सिनेमा हल सञ्चालन

बिहीबार, २३ कात्तिक २०८०, २१ : ३०
बिहीबार, २३ कात्तिक २०८०

पर्सा । वीरगञ्जवासीलाई एकै स्थलमा किनमेलदेखि मनोरञ्जन, खेलकुदसम्मको सेवा दिनका लािग आदर्शनगरमा मधेश प्रदेशकै पहिलो सुविधा सम्पन्न ‘स्काइलाइन’ मल सञ्चालनमा आएको छ । वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको करिब दुई अर्बको लगानीमा मल सञ्चालनमा ल्याइएको हो ।

मधेश प्रदेशकै पहिलो सो हलमा क्युएफएक्ससँगको सहकार्यमा एक मात्र मल्टिप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ ।  बिहीबार जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले सो मलको उद्घाटन गरेका छन् ।
काठमाडौँ, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगञ्जको स्काइलाइन मलमार्फत मधेश प्रदेशमा प्रवेश पाएको छ ।

त्यस्तै मलमा चेन सरोभर पोर्टी पनि सञ्चालनमा आउन लागेको छ । चेन सरोभर भारतमा चार सयभन्दा बढी ठाउँमा स्थापित प्रख्यात होटेल हो । आतिथ्य र स्वादिष्ट खाने परिकारका लागि चर्चित सरोभर पोर्टी होटेलले वीरगञ्ज र आसपासका बासिन्दालाई अन्तर्राष्ट्रिय स्तरको सेवाको मौका दिने मल सञ्चालकको विश्वास छ ।

दश तले मलमा रिटेल स्टोरसहित पार्टी र फन्सन आयोजना गर्न ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुराँलगायतको सुविधा रहेको छ । हाल आंशिक रूपमा सञ्चालित सो मल केही समयभित्रै पूर्ण रूपमा खुल्ने बताइएको छ ।

सिनेमा हल सञ्चालन
मलमा रहेको क्यूएफएक्स सिनेमा हल भने बिहीबारदेखि सञ्चालनमा आएको छ । सिनेमा हलमा तीनवटा छुट्टाछुट्टै अडिटोरियम स्क्रिनहरू छन् । जहाँ एकैपटक तीन वटासम्म चलचित्र देखाउन सकिने सञ्चालकको भनाइ छ । कुल ३८२ सिट संख्या रहेको सो हलमा दुईवटा अडिटोरियममा रिक्लाइनर सिट पनि उपलव्ध छ ।

सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडिटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधा समेत रहेको छ । दर्शकहरूले टिकट बुक गर्न क्यूएफएक्सको आधिकारिक एप, वेबसाइटको प्रयोग गर्न सक्ने छन् । मलकै पहिलो तल्लामा रहेको बक्स अफिस काउन्टरबाट टिकट बुकिङ गर्न सकिने सुविधा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप