भिजिट भिसामार्फत विदेश जान खोज्ने साढे ६ हजार बढीलाई फर्काइयो
काठमाडौँ । भिजिट भिसामार्फत विदेश जान खोज्ने ६ हजारभन्दा बढीलाई प्रहरीले फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ वर्षको अवधिमा ६ हजार ६३७ जनालाई फर्काएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७९ को वैशाख १ गतेदेखि हालसम्म असोजसम्म भिजिट भिसामार्फत विदेश जान लागेकालाई फर्काएको हो । जसमा ३४ जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रहेका छन् ।
कागजात हेर्दा भिजिट भिसामार्फत देखिए पनि उनीहरू वैदेशिक रोजगारीमा जाने मनसाय देखिएकाले फर्काउने गरिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ हजार ४७९ जनालाई विमानस्थलबाट फर्काएको बताए ।
हाल ब्युरोले एयरपोर्टबाट छोडेको छ । अहिले विमानस्थल प्रहरी आफैँले हेर्ने गरेको छ ।
भिजिट भिसामार्फत जान लागेकालाई कुन आधारमा फर्काउने गरेको भन्ने प्रश्नमा एसपी पङ्गेनीले भने, ‘मान्छे हेर्ने वितिक्कै थाहा भइहाल्छ । उसलाई सोधपुछ गर्दा जाने ठाउँ पनि थाहा हुँदैन । कुन होटेलमा बस्ने ? कुन–कुन ठाउँ घुम्ने लगायतका कुरा सोधपुछ गर्दा केही थाहा हुँदैन । त्यही आधारमा हामीलाई शङ्का लागेर थप सोधपुछ गर्दा आफ्नो सही कुरा भनिहाल्छन् ।’
उनीहरूलाई सोधपुछ गरेर आवश्यक काउन्सिलिङ गरेर घर फर्काउने गरिएको उनको भनाई छ । विमानस्थलमा ब्युरोले गत २०७९ वैशाख १ गतेदेखि भिजिट भिसासम्बन्धी हेर्दै आएको थियो ।
भिजिट भिसामार्फत जाने क्रम बढेपछि ब्युरो विमानस्थलमै खटिएको थियो । हाल विमानस्थल प्रहरीले हेर्न थालेपछि ब्युरो पछि हटेको हो ।
नेपालबाट भिजिट भिसामार्फत जाने अधिकांशको गन्तव्य दुबई हुने गरेको छ । दुबईबाट विभिन्न देशमा घरेलु कामदार तथा अन्य काममा पठाउने गरेको पाइएको एसपी पङ्गेनीले बताए । त्यसरी भिजिट भिसामा जानेमा धेरैजसो महिला छन् ।
उनीहरूलाई भिजिट भिसामार्फत पठाउने र त्यहाँ घरेलु कामदारको रूपमा काममा लगाउने गरेको देखिएको उनको भनाई छ ।
प्रहरीले विगत पाँच वर्षको अवधिमा ८६९ जनाविरुद्ध मुद्दासमेत दर्ता गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गर्ने गरेको हो ।
त्यस्तै सोही अवधिमा १ हजार २८६ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । त्यसरी भिजिट भिसामार्फत खाडी मुलुकहरू दुबई, ओमान, कतार, कुवेत, बहराइन लगायतका देशमा बढी जाने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै अमेरिकी मुलुकहरू ब्राजिल, घाना, टर्की, माल्दोभा लगायतमा समेत जाने गरेको देखिएको छ । युरोपको हकमा अजरबैजान, सर्बिया, पोर्चुगल, टर्की, साईप्रस, रुस, बेलारूस, उज्बेकिस्तान लगायतका मुलुकमा बढी जाने गरेको देखिएको एसपी पङ्गेनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
कर्णालीमा कांग्रेसका मन्त्रीलाई दलका नेताको निर्देशन : गठबन्धनको स्प्रीड अनुसार काम गर्नुहोस्
-
पर्वतका दुईवटा सामुदायिक क्याम्पस गाभिए
-
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त