रमेश लेखकलाई प्रश्न : गणतन्त्रवादी त्रसित भएको कि सचेत ?
काठमाडौँ । प्रमुख राजनीतिक दलहरु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि हुने खतरा सामना गर्न गोलबद्ध भएका छन् । वर्तमान व्यवस्थाविरुद्ध सडक र सामाजिक सञ्जालबाट भइरहेका गतिविधिले राजनीतिक दलका नेताहरूको चिन्ता बढाएको देखिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले व्यवस्था विरोधी गतिविधिलाई निस्तेज बनाउन परिवर्तनका लागि लडेका तत्कालीन सात संसदवादी राजनीतिक दल सँग मंगलबार छलफल गरे ।
बैठकमा सहभागी कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति साझा प्रतिबद्धता आएको छ । प्रधानमन्त्री प्रचण्डले गणतन्त्रवादीहरू एकठाउँमा छौँ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।
यसबारे सत्ताको प्रमुख घटक नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग संक्षिप्त कुराकानी गरिएको छ । प्रस्तुत छ, नेता लेखकसँग गरिएको कुराकानी –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२/६३ को जनआन्दोलनमा सक्रिय र १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलहरूलाई मंगलबार बैठकमा बोलाएर व्यवस्था जोगाउन आग्रह गर्नुभयो । यो बैठकलाई कसरी लिनु भएको छ ?
प्रधानमन्त्रीजीले हिजो भनेको कुरा मैले कात्तिक १६ गते नै संसदमा भनेको थिएँ । यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका विरुद्धमा आवाज उठाउने गरिएको छ । प्रायोजित रुपमा उठ्ने गरेको छ । यो व्यवस्था नै खराब हो, यो संविधान नै खराब हो, यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन्, पुराना राजनीतिक दल कांग्रेस, एमाले र माओवादी बेठिक हुन्, यी अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ ।
यो देशका लागि खतरा छ । यो संविधान र व्यवस्था असफल भयो भने मुलुक ठिक ठाउँमा पुग्दैन । हामी राजनीतिक दलहरु यो संविधान र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी छ । प्रधानमन्त्रीजीको चिन्ता र चासो पनि यही नै होला भन्ने मेरो बुझाइ हो ।
यो व्यवस्थालाई खतरा छ भने शासन सत्ता सञ्चालन गरिरहेकै दलहरुबाटै खतरा छ पनि भनिन्छ । तपाईंहरुले राम्रो काम गर्न नसक्दा उठेको प्रश्न व्यवस्थामाथिको खतरा कसरी हुन सक्छ ?
मैले पहिले पनि भनेँ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था खराब हो भन्ने प्रायोजित ढंगले एउटा ‘न्यारेटिभ’ बनाइँदैछ । कांग्रेस, एमाले, माओवादी खराब भनिँदैछ । त्यसमा यदाकदा हामी पनि आफैँ जिम्मेवार भइराखेका छौँ ।
त्यसको कारक भइराखेका छौँ । हामी जानेर–नजानेर आफू पनि त्यही ठाउँमा पुगिराखेका त छैनौँ ? तत्कालीन उत्पन्न परिस्थितिलाई त्यो ढङ्गले हेरेर व्यवस्था र संविधानकै विपरीत वातावरण बन्ने गतिविधि हामीबाटै त भइराखेका छैनन् ? यसमा गम्भीरता पूर्वक हेर्नुपर्छ ।
पुराना दल खराब हुन भन्ने ‘न्यारेटिभ’ बन्नुका पछाडि तपाईंहरुको कार्यशैली पनि कारक बनेको हो कि ?
सरकारलाई गाली गर्दा एमालेलाई आनन्द आउँछ । एमालेको विरुद्धमा वक्तव्यबाजी हुँदा कांग्रेसलाई आनन्द आउँछ । कांग्रेसकाविरुद्ध हुँदा एमाले र माओवादीलाई आनन्द आउँछ । हामी जसरी प्रस्तुत भइराखेका छौँ, त्यसले संविधान साँच्चिकै बेठिक हो कि त भन्ने ठाउँमा पु¥याउँदै छ । सरकार र राज्यका केही कमी–कमजोरी पनि होलान् । त्यसलाई सुधार गरेर जानुपर्छ । योभन्दा राम्रो व्यवस्था कहाँबाट ल्याउने ?
गत वर्ष भएको तीन तहकै निर्वाचनमा गणतन्त्रवादीहरुले अभूतपूर्व मत पाएका छन् । एक वर्षमै यो व्यवस्थालाई खतरा हुने गरी कुन शक्ति आयो ? तपाईंहरु किन आत्तिनु भएको हो ?
आत्तिएको होइन । अहिलेको परिस्थितिको विश्लेषण गरेको हो नि ! मुलुकमा सानो भए पनि, ठूलो भए पनि यो व्यवस्थाका खिलाफमा कुरा उठिराखेको छ नि ! उठाउन खोजिएको छ । त्यो कुराप्रति सचेत हुने कुरा हो । यहाँ आत्तिएको कुरा होइन ।
हिजो तपाईंहरु तत्कालीन व्यवस्थामाथि धावा बोलेर यहाँसम्म आउनुभयो । आज यो व्यवस्थामाथि कसैले प्रश्नै उठाउन नपाइने भन्ने होइन होला नि ?
२००४ सालदेखि २०७२ सम्म हामीले सात वटा संविधान बनाएका छौँ । बढी संविधान बनाउने कुरा राम्रो होइन । सात वटा संविधानमध्ये केही संविधान असफल भए, केही संविधान असफल पारिए । यो संविधान असफल गर्ने छुट हामीलाई छैन । यो संविधान असफल भयो भने मुलुक एउटा विषम परिस्थितिमा पुग्न सक्छ ।
किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षबाट प्राप्त भएको हो । यो संविधानलाई सफल गर्नुछ । यो संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य मान्यताको परिधिमा बसेर संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्नुपर्छ ।
यो संविधानले परिकल्पना गरेको मुलुक निर्माण र यो मुलुकका महत्त्वपूर्ण विषयमा हामी एकमत हुन जरुरी छ । त्यसका लागि कांग्रेसको संवाद, सहमति र सहकार्यको मन्त्र जहिले पनि कामयाव हुन सक्दछ ।
केही मान्छेले व्यवस्थाको विरोध गरे भन्दैमा यति त्रसित हुनुपर्ने अवस्था आइसकेको हो र ?
समर्थन र विरोध लोकतन्त्रका गहना हुन् । समर्थन र विरोध लोकतन्त्रको सुन्दरता हो । तर, आलोचना र विरोधलाई पनि संविधानसम्मत् र व्यवस्थित ढङ्गले गर्नुपर्र्छ । संसदको प्रभावकारिता कमजोर भयो भने सरकारको मात्र होइन, यो व्यवस्थाकै प्रभावकारिता कमजोर भयो कि भन्ने सन्देश सम्प्रेषण हुन्छ ।
त्यसले यो व्यवस्थाका विरुद्धमा आइरहेका प्रायोजित विचार र निर्माण गर्न खोजिएको भाष्यलाई बल पुग्दछ । मुलुकमा अराजकताले प्रसय पाउने अवस्था बनेको छ । धरान, मलंगवा, नेपालगञ्जका केही ठाउँमा अनपेक्षित घटनाहरु भए । नेपाली समाजका चरित्र धार्मिक र भाषिक सहिष्णुताको चरित्र हो । तर यो चरित्रभन्दा फरक ढङ्गले अवाञ्छित घटना प्रकट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष