गण्डकीमा बने २ हजार नयाँ झोलुङ्गे पुल
पोखरा । ३ सय वर्ष पहिले निर्माण भएको तनहुँको भीमाद स्थित फलामे पुललाई धेरैले झोलुङ्गे पुलको इतिहाससँग जोडेर हेर्छन् । स्थानीय उत्पादन प्रयोग गरेर निर्माण भएको उक्त पुल अहिलेसम्म प्रयोगमा छ । तर विज्ञहरू चाहिँ झोलुङ्गे पुलको आधुनिक अवस्था सन् १९६४ पछि मात्रै सुरु भएको बताउँछन् । जे होस् राणा शासनकै बेलामा झोलुङ्गे पुल निर्माण सुरु भएको हो ।
विगतमा डोरी, काठ, दाउरा, इट्टा, सुर्खे र मासको दालबाट यस्ता पुल बनाइएको थियो भने आजभोलि स्टिल र फलामबाट बन्न थालेको छ ।
हालसम्म नेपालभर १० हजार भन्दा बढी झोलुङ्गे पुल निर्माण भएको तथ्याङ्क छ । १० हजार पुल निर्माण भएको अवसरमा पोखरामा फोटो प्रदर्शनी पनि भयो । झोलुङ्गे पुल निर्माणको इतिहास, प्रयोग र परिमार्जित प्रविधिबारे फोटो कथा प्रस्तुत गरिएको हो ।
सरकारले गत आर्थिक वर्ष २०७९-८० मा मात्रै ७ सय ३० वटा पुल बनाउने घोषणा गरेको थियो । तर लक्ष्य भन्दा बढी ७ सय ४४ वटा पुल निर्माण भएको छ । देशभर १० हजार ४ सय ९ वटा पुल निर्माण पूरा भएको गण्डकी प्रदेश झोलुङ्गे पुल व्यवस्थापक ई। नवराज मोक्तानले जानकारी दिए । त्यसमध्ये गण्डकी प्रदेशमा २ हजार ६४ वटा पुल बनेको छ ।
उनका अनुसार सन् १९६४ मा सस्पेन्सन ब्रिज डिभिजन स्थापनापछि स्विस सरकारको सहयोगमा झोलुङ्गे पुलको तीव्र विस्तार भएको हो । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा मात्रै ४ सय ९१ वटा पुल बनेका छन् । सबैभन्दा लामो र अग्लो स्थानको पुल चाहिँ पर्वतमा छ । केही पुल बागलुङ र पर्वत जोडिएर संसारमा चिनिएको छ । लामो पुल पर्वत पाङ देखि बाग्लुङ जोड्ने छ भने अग्लो पुल कुस्मा देखि कटुवा चौपारीसम्म जोडिन्छ ।
पहिलो झोलुङ्गे पुल सन् १९०० देखि बन्न थालेपनि आधुनिक पुल निर्माणको इतिहास खासै लामो नभएको मोक्तानको भनाई छ । एक अध्ययन अनुसार झोलुङ्गे पुल प्रयोग गर्ने नागरिकहरू पिछडिएको समुदायमा छन् । बढी महिलाले यसको प्रयोग गर्छन् । घाँस दाउरा देखि दैनिकी चलाउन पनि महिलाले बढी झोलुङ्गे पुल प्रयोग गर्ने गरेको उक्त अध्ययनमा उल्लेख छ । पुल बनाउन प्रतिमिटर ४० हजारदेखि ७० हजारसम्म लगानी लाग्छ । तर त्यसको डिजाइनमा फरक पर्छ ।
तथ्याङ्क अनुसार सन् २००० सम्म १ हजार झोलुङ्गे पुल बनेको नेपालमा २०१० मा ५ हजार पुग्यो । त्यसपछिका वर्षहरूमा पुल निर्माणको तीव्रता निकै बढ्यो । सन् २००७ तिर नेपालमा कति पुल आवश्यक छ भनेर अध्ययन गरिएको थियो । १० हजार पुल चाहिने तथ्याङ्क निकालिएकोमा उक्त सङ्ख्यामा पुल बनिसके पनि आवश्यकता नघटेको मोक्तान बताउँछन् । ‘हिजो खोला तर्नका लागि पुलको माग हुन्थ्यो । आज समय बचाउन र यात्रा घटाउन माग हुन थालेको छ,’ उनले भने, ‘समय क्रमसँगै पुलको मागमा पनि नयाँपन आएको छ । हामीले धेरै लामा पुलहरू यात्रा घटाउनका लागि बनाएका छौँ ।’ पर्वत, बागलुङ लगायत जिल्लामा बनेका लामा पुल यही अभियान अन्तर्गत निर्माण भएका हुन् ।
पूर्वाधार विकास निर्देशनालय पोखराका निर्देशक डा। महेन्द्रबहादुर बानियाँले पुलको मागको पुनः अध्ययन गर्न लागिएको बताए । पालिकासँगको समन्वयमा जनअपेक्षा सङ्कलन गर्न लागिएको उनको भनाई छ । यस्तै, प्रयोग विहीन पुलको अध्ययन भइरहेको उनले बताए । ‘जिल्ला जिल्लामा प्रयोग विहीन पुल कति छन् भनेर खोजी भएको छ । कतिपय ठाउँमा मोटरेवल पुल बनेको छ, कतिपय ठाउँमा बस्ती नै विस्थापित भैसकेका छन् । कतिपय ठाउँमा नयाँ पुल बनेर पुरानो अलपत्र भइहरेको छ,’ उनले भने । गण्डकीमा अहिले करिब १ सय वटा पुल निर्माणको चरणमा छ । धेरैजसो पुलहरू पदमार्गमा माग भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने