प्रदेशको १ को नाम यसरी राखौं
सुनिल सापकोटा
संविधानसभाबाट जारी भएको संविधान बमोजिम निर्वाचन सम्पन्न भई मुलुक पहिलो पटक सङ्घीय संरचनामा गएको छ । सङ्घीयताको अभ्यासले प्रदेशले सोचे अनुरूप गति लिने अनुमान सबैको छ । तर अहिले प्रदेश सरकार र प्रदेश सभाले आफ्नो बाटो पहिल्याउन नसकेर अल्मलिएको जस्तो देखिन्छ । निर्वाचन भई प्रदेश सभा र प्रदेश सरकार गठन भएको लामो समय भए पनि कर्णाली प्रदेशबाहेक अन्यले प्रदेशको नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् ।
संविधानको धारा २८८ को उपधारा २ ले प्रदेशको नाम र राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुने भन्ने व्यवस्था छ । तर आफूले पाएको अधिकारसमेत प्रयोग गर्न नसकेर प्रदेशहरू अलमलिएका छन् ।
प्रदेश सरकारले गर्नुपर्ने थुप्रै काम छन् । तीमध्ये प्रदेशको नाम र स्थायी राजधानी नतोक्न भौतारिरहेको अवस्था । यस आलेखमा प्रदेश नम्बर एकको चर्चा गर्न खोजिएको छ ।
नाम मात्र १ नम्बर होइन काममा पनि एक नम्बर हुनुपर्ने प्रदेश किन पछाडि पर्यो, यो दुखद् विषय हो । संविधानले अधिकारको विकेन्द्रीकरण गर्न सङ्घीयताको अवधारणा अघि सारेको हो । तर अहिले प्रदेश सरकारको काम कारवाही र सुविधाभोगी मानसिकता हेर्दा सङ्घीयतामा आधिकार नभई भ्रष्टाचार चाहिँ विकेन्द्रीकरण हुने छाँट देखिन्छ । यसमा सबैले बेलैमा ध्यान दिन जरूरी छ ।
विश्वले नेपाललाई चिन्ने मुख्य दुईवटा कुरा छन्– विश्वकै सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान लुम्बिनी । नेपाल भन्ने देश छ भन्ने कुरा विश्वमा कमैलाई थाहा होला तर सगरमाथा र लुम्बिनी थाहा नहुने मान्छे विश्वमा सायदै होलान् ।
सगरमाथा र लुम्बिनीको ब्रान्ड अन्तर्राष्ट्रिय पहिचान भएकाले एक नम्बर प्रदेशलाई र पाँच नम्बर प्रदेशलाई सगरमाथा र लुम्बिनीको नामबाट चिनाउँदा यो नाम राष्ट्रिय रूपमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित हुने देखिन्छ । यसलाई किन पनि जोड गरिएको हो भने प्रदेश नम्बर १ को नाम सगरमाथा र प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्दा कमैलाई आपत्ति होला । संसारले चिनेको हामीले चिन्न कन्जुस्याइँ गर्यौं भने त भन्नु केही छैन । हामी आफ्नैलाई नचिनेर भौंतारिँदै कुदेको कस्तूरी जस्तो हालतमा छौं ।
सगरमाथाको देश नेपालको सगरमाथा प्रदेश भन्ने बित्तिकै हामीले त्योभन्दा सान्दर्भिक र उपयुक्त अर्को नाम खोज्नुपर्ने आवश्यकता देखिँदैन । सम्पन्न प्रदेश र समृद्ध राष्ट्र निर्माणको अभियान लिएर हिँडेका हामी अब राजधानी र नाममा अल्झिएर बस्नु हुँदैन ।
यसअघिको सरकारले प्रदेश नम्बर एकको अस्थायी राजधानी भनेर विराटनगरलाई तोकेको छ । अब स्थायी राजधानी कहाँ राख्ने भन्ने निर्णय प्रदेश सभाले गर्नुपर्ने हो तर ढिला भइसक्यो । यही गतिमा अगाडि बढ्ने हो भने सङ्घीयताको लक्ष्य पूरा गर्न सक्दैनौं । प्रदेशको राजधानीमा पनि सबैलाई चित्त बुझाएर अघि बढ्नुपर्छ ।
अहिले प्रदेशको राजधानी दाबी गर्ने पूर्वका सहरहरूमा हालको अस्थायी राजधानी रहेको विराटनगर, इटहरी, धरान, धनकुटालगायतका छन् । अहिले भइरहेका सहर र संरचनामै राजधानी तोक्ने कि सबैलाई पायक पर्ने नयाँ र व्यवस्थित सहर विकास र संरचना निर्माण गरेर अघि बढ्ने त्यसको निर्णयमा पुग्न जरुरी छ ।
राजधानी र संरचना निर्माण गर्दा हावापानी, भौगोलिक बनावट, प्रशासनिक सुगमता, आर्थिक सम्भाव्यता, आर्थिक तथा भौतिक पूर्वाधारको अवस्थालाई हेरेर निर्णय गर्न सकिन्छ । पूर्वका जुनसुकै सहरहरू पनि प्रदेशको राजधानी तोक्नका लागि उपयुक्त छन् ।
विश्वका कतिपय देश र प्रदेशका राजधानीहरू हावापानीको आधारमा रहने गरेका छन् । ग्रीष्मकालीन राजधानी र शीतकालीन अथवा हिउँदकालीन राजधानी भनेर भिन्नभिन्नै स्थानमा तोक्ने परम्परा पनि रहेको छ । यसलाई हामी मौसमी राजधानीका रूपले पनि चिन्ने गर्छौं । प्रदेश १ को राजधानी पनि यही अभ्यासका आधारमा तोक्न सकिन्छ ।
सगरमाथा उचाइ बोकेको प्रदेश नम्बर एकले उत्तरमा चीनको तिब्बत छोएको छ भने पूर्व र दक्षिणमा भारतलाई छोएको छ । यो प्रदेशले पश्चिममा दुई नम्बर प्रदेश र तीन नम्बर प्रदेशलाई छोएको छ । कोशी राजमार्गले चीन र भारतलाई जोडेको छ । त्यसैले प्रदेशको राजधानीका लागि कोशी राजमार्गमै अवस्थित सहरहरू छनोट गर्दा राम्रो हुन्छ ।
विराटनगर पूर्वको व्यापारिक केन्द्र भएकाले विराटनगरलाई व्यापारिक राजधानीको रूपमा विकास गर्न सकिन्छ । हरेक हिसाबले केन्द्रमा रहेकाले इटहरी र आसपासका क्षेत्र समेटेर त्यो ठाउँलाई प्रदेशको प्रशासनिक राजधानी तोक्न सकिन्छ । हावापानीका हिसाबले र प्राकृतिक सुन्दरताका हिसाबले पनि सबैभन्दा उपयुक्त सहर धरान भएकाले यसलाई पर्यटकीय र खेलकुदको राजधानी बनाउन सकिन्छ । पूर्वकै प्रख्यात पर्यटकीय स्थल भेडेटारलाई धरानको शिर भनेर पनि चिनिन्छ । धरानमा जुनसुकै मौसममा पनि खेल खेलाउन सकिन्छ ।
विराटनगरमा खेलकुद मैदान बनाउनु र धरानमा बनाउनुमा धेरै फरक पर्छ । धरानमा जुनसुकै समयमा पनि मैदानमा उफ्रन सकिन्छ । तर गर्मीको समयमा विराटनगरमा दिउँसो मैदानमा गएर खेल्न निकै कष्ट पर्छ । त्यसैले अन्तर्राष्ट्रिय मापदण्डका रङ्गशाला बनाउन धरानपूर्वको सबैभन्दा उपयुक्त ठाउँ हो ।
विराटनगर विमानस्थलमा हिउँदकालीन शीतलहरको समयमा भिजिबिलिटी नपुगेर जहाज अवतरण गर्न समस्या पर्छ । त्यसतै ग्रीष्मकालीन अवस्थामा पानीको डुबानमा पर्ने हुँदा त्यो समयमा पनि विमानस्थलमा बन्द गर्नुपर्ने हुन्छ । त्यसैले बाह्रै महिना बाह्रै काल विमानस्थल सञ्चालन गर्नका लागि धरानमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ । विराटनगर विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउनुपर्छ । पूर्वमा सगरमाथा, अरुण उपत्यका, कोशीटप्पु वन्यजन्तु आरक्ष, बराहक्षेत्र, पाथीभरा जस्ता महत्वपूर्ण पर्यटकीय स्थल रहेकाले पनि यहाँ अन्तर्राष्ट्रिय विमास्थल आवश्यक छ ।
कृषि र शैक्षिक हबको हिसाबले धनकुटा उपयुक्त ठाउँ भएकाले धनकुटालाई कृषि र शैक्षिक राजधानीका रूपमा विकास गर्न सकिन्छ । पाख्रिबासमा रहेको कृषि अनुसन्धान केन्द्रलाई दक्षिण एसियाकै उत्कृष्ट अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सकिन्छ । धनकुटा सुन्तलाको हिसाबले पनि प्रख्यात ठाउँ हो । यही प्रदेशमा रहेको तीनजुरे मिल्के जलजले अहिले पनि लालीगुराँसको राजधानीको रूपले प्रख्यात छ । यसरी सबै सहरलाई समेटेर अघि बढ्न सकियो भने राजधानीको समस्या समाधान गर्न सकिन्छ । जुन सहरमा जुन विषयलाई केन्द्रमा राखेर राजधानी तोक्न खोजिएको हो, त्यो सहरमा त्यही किसिमका पूर्वाधारहरूको विकास निर्माण गर्नका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ ।
झापा, मोरङ र सुनसरीलाई समेटर चक्रपथ निर्माण गर्न सकिन्छ । नयाँ र व्यवस्थित सहरको अवधारणा अनुसार मेगा सिटी सेटलाइट सिटी लगायतका सिटीहरू निर्माण गर्न सकिन्छ ।
सबै सहरलाई विशेषता र सम्भाव्यता अनुसार समेटेर राजधानीको रूपमा विकास गर्न सक्ने हो भने प्रदेश एकको राजधानीको विवाद अन्त्य हुन्छ र विकासमा गति लिन्छ । सबै सहरहरूलाई अपनत्व महसुस हुने गरी अघि बढियो भने पूर्वको प्रदेश चम्किन्छ । यसमा सबैले बृहत् छलफल गरेर सुझबुझ र सहमतिका साथ निर्णय गर्दा राम्रो हुन्छ । यस्तो गर्न सकियो भने प्रदेश एकमा एकता र एक्यबद्धताका साथ आर्थिक विकासले गति लिन्छ । पूर्वाधार क्षेत्रको विकास र विस्तारले व्यापक फड्को मार्छ । यो प्रदेश मुलुककै नमुना र समृद्ध प्रदेश बन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’