शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

सबैभन्दा धेरै नेपालीहरू ग्यास्ट्रिकका रोगी

यस्ता छन् नेपालीहरूलाई देखिने मुख्य स्वास्थ्य समस्याहरु
बुधबार, २२ कात्तिक २०८०, १७ : ३६
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । नेपालमा सबैभन्दा धेरै बिरामी ग्यास्ट्राइटिसका भएको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९–०८० मा सङ्कलन गरिएको उक्त तथ्याङ्कले एक वर्षमा ७५ लाखभन्दा बढी बिरामी ओपीडीमा उपचारका लागि पुगेका छन् । ती बिरामीलाई ९ प्रकारका स्वास्थ्य समस्याले सताएको र तीमध्ये सबैभन्दा धेरै ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) का बिरामी अस्पतालको ओपीडीमा पुगेको पाइएको छ । 

यो वर्ष ग्यास्ट्रिक समस्यका मात्रै १२ लाख २६ हजार बिरामी उपचारका लागि अस्पतालमा पुगेका थिए । त्यसैले ग्यास्ट्रिक नेपालीको साझा रोगका रूपमा देखिएको जनस्वास्थ्य विज्ञहरू सुनाउँछन् ।  दोस्रो नम्बरमा अप्पर रेस्पिरेटोरी ट्रयाक्ट इन्फेक्सन देखिएको छ । यसबाट ११ लाख ७४ जना पीडित भएको पाइएको छ । 

त्यसपछि टाउको दुखाइको समस्या लिएर ९ लाख ६९ हजार अस्पताल पुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । ज्वरोका कारण ८ लाख ५३ हजार बिरामी देशका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका थिए । 

यस्तैगरी उच्च रक्तचापबाट ६ लाख ४२ हजार बिरामी उपचारका लागि अस्पताल पुगेको देखाइएको छ । खोकीको समस्या लिएर ५ लाख ९० जना, छाला सङ्क्रमण ५ लाख ६९ लाख, ढाड दुख्ने समस्या ५ लाख १९ हजार र सामान्य परीक्षणका लागि ४ लाख ९३ हजार बिरामी जना देशका विभिन्न अस्पतालका ओपीडीमा पुगेको एकीकृत स्वास्थ्य सूचना प्रणालीको तथ्याङ्क आर्थिक वर्ष २०७९–०८० मा उल्लेख छ । 

पछिल्लो समय अस्वस्थ जीवनशैली र खानपानका कारण ग्यास्ट्रिक, उच्च रक्तचाप, श्वासनली सङ्मक्रमण, टाउको दुःखाइलगायतका समस्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ । खानपान र जीवनशैलीलाई सन्तुलन बनाउन सकिएन भने नसर्ने रोगले नेपालमा भयावह स्थिति सिर्जना हुने चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले चेतावनीसमेत दिएका छन् ।

विगतमा सरुवा रोग पहिलो स्थानमा पर्ने भए पनि अहिले आएर नसर्ने रोगहरू तीव्र गतिमा फैलिरहेको सरुवारोग विशेषज्ञ डा. प्रभात अधिकारी सुनाउँछन् । ठूलो सङ्ख्याका बिरामीमा खोकी, ज्वरो, उच्च रक्तचाप, ग्यास्ट्रिक, छालाका समस्या के कारण आयो भन्नेबारे सरकारले अध्ययन गर्न आवश्यक रहेको डा. अधिकारी बताउँछन् । 

‘सङ्ख्यात्मक रूपमा यति धेरै समस्या लिएर स्वास्थ्य संस्था पुगेको जानकारीसँगै के के कारणले यस्ता खालका स्वास्थ्य समस्या धेरैलाई देखियो भन्नेबारे गहन रूपमा अध्ययन गरी सोहीअनुसार काम गर्नुपर्छ,’ उनले भने ।

चिकित्सक भन्छन् : समस्या एक, कारण अनेक

टाउको दुखाइ  :

न्युरो रोग विशेषज्ञ डा. निराजन आचार्यका अनुसार टाउको दुखाइ धेरै रोगका सङ्केत हुन सक्छन् । माइग्रेन, एन्जाइटी, मष्तिस्कको नसा फुट्नु, ट्युमर र इन्फेक्सनलगायतका कारणले पनि टाउको दुख्ने उनी बताउँछन् । 

९७ प्रतिशत टाउको दुखाइ सामान्य हुन्छन् । माइग्रेन हुँदा एक्कासि टाउको दुख्ने, वाकवाक आउने, आँखा हेर्न गाह्रो हुने, अँध्यारोमा बस्न मन लाग्ने जस्ता स्वास्थ्य समस्या देखा पर्छन् । ‘एक पटक दुख्न सुरु भएपछि एक घण्टादेखि ७२ घण्टासम्म टाउको दुख्न सक्छ,’ उनले भने, ‘कसैको ७२ घण्टा, कसैको ४ घण्टा टाउको दुखेर निको हुन्छ । समयको अन्तरालमा पनि फेरि दुख्छ ।’ 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिनामा तीन पटकसम्म माइग्रेन भयो भने त्यसलाई धेरै टाउको दुखेको मानिन्छ । दुखाइका आधारमा औषधी सेवन गर्नुपर्ने डा. आचार्यको सुझाव छ ।

मनमा धेरै कुरा खेल्दा अर्थात तनाव, दुविधा पर्दासमेत टाउको दुख्ने उनले बताए । यस्तो खालको टाउको दुखाइ छोटो समयमा पनि निको हुन्छ भने लामो समयसम्म पनि दुखिरहन सक्छ । दैनिक जीवनयापन अर्थात् जीवन शैली राम्रो नहुँदा पनि टाउको दुख्ने बताए ।

मद्यपान तथा धूमपान, अस्वस्थ खानपान, अनिन्द्रा र शरीरमा भएका अन्यका रोगका लक्षणका कारण पनि टाउको दुुख्न सक्ने उनले बताए । कुनै टाउको दुखाइ जटिल अर्थात् ब्रेन ट्युमरलगाएतका समस्या पनि हुन सक्ने उनले बताए ।

त्यसैले रहेक टाउको दुखाइको कारण खोजी सोहीअनुसार परीक्षण तथा उपचार गर्न सुझाव उनको छ । 

ग्यास्ट्रिक :

सिभिल अस्पतालका निर्देशक तथा पेट तथा कलेजो रोग विशेषज्ञ विधाननिधि पौडेलले नेपालीहरूमा ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) का बिरामी बढ्नुको मुख्य कारण असन्तुलित खानापान भएको बताउँछन् । ग्यास्ट्रिक जुनसुकै मौसममा सबै उमेर समूहका मानिसका देखिने गर्छ । विकासोन्मुख देशका ७० देखि ९० प्रतिशत मानिसमा ग्यास्ट्रिकका ब्याक्टेरिया हुने डा. पौडेलले भनाइ छ । 

उनले भने, ‘ग्यास्ट्रिक साना बच्चालाई कम हुन्छ भने वयस्कदेखि क्रमशः ग्यास्ट्रिक हुने दर पनि बढ्दै जान्छ ।’ आमाशय वा सानो आन्द्रा सुनिनुलाई ग्यास्ट्रिक भनेको भनिन्छ । बच्चादेखि वृद्ध उमेरका सबैमा यो समस्या देखिन्छ । दीर्घरोग नियन्त्रणका लागि सेवन गरिने औषधीहरू र विशेषगरी दुखाइ कम गर्ने औषधीले ग्यास्ट्रिकको समस्या बढाउने उनले बताए । 

डा. पौडेल भन्छन्, ‘नेपालीहरूको खाजा तथा खाना खाने समय तालिका प्रायः कम मानिसको हुन्छ । काममा निस्कँदा भोकै निस्कने, फुर्सद भएपछि आवश्यकभन्दा धेरै अर्थात टन्न खाँदा पनि ग्यास्ट्रिक हुन्छ ।’ लामो समयसम्म भोकै बस्दा पेटमा एसिडको मात्रा बढ्छ, पेट दुखेपछि जथाभावी रूपमा पेनकिल्लर सेवन गर्ने बानीले ग्यास्ट्रिक बढ्ने उनको भनाइ छ । 

तनावका कारण पनि ग्यास्ट्रिक हुन्छ । यो रोग आहरविहर र दिनचर्यासँग सम्बन्धीत रहेकाले समयमा सुत्ने, उठ्ने, समयमा खाने बानी नहुँदा ग्यास्ट्रिक बढ्ने भएकाले यसलाई सन्तुलन बनाउन उनको सुझाव छ ।  शरीरमा ग्यास्ट्रिक हुँदा खानपान र जीवनशैलीमा ख्याल नपुर्याए अल्सर र  क्यान्सर समेत हुने भएकाले कारणले पत्ता लगाई सोही अनुसार खानपान र जीवनशैलीलाई परिवर्तन गर्नुपर्ने उनको सुुझाव छ । 

श्वासनली सङ्क्रमण :

राष्ट्रिय क्षय रोग केन्द्रका निर्देशक तथा छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले नेपालमा श्वासप्रश्वास नलीमा सङ्क्रमण धूमपान, मद्यपान, जलवायु परिवर्तन, वायु प्रदूषण, चुलोमा खानामा पकाउँदा निस्कने धुवाँले स्वासप्रश्वास नलीलाई असर गर्छ । अत्यधिक वायु प्रदूषणका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भई श्वासनलीसँगै फोक्सोमा सङ्क्रमण हुने उनले बताए । 

वायु प्रदूषणका कारण ब्रोन्काइटिस र फोक्सोमा असर गर्दा निमोनिया, दीर्घकालीन दमलगातका जटिल समस्या देखिन्छ । नसर्ने रोगहरूमध्ये दीर्घकालीन रोगका रूपमा श्वासनली सङ्क्रमण हुने डा. श्रेष्ठ बताउँछन् । ग्रामीण भेगमा अझै पनि चुलोमा खाना पकाउने ठूलो सङ्ख्या रहेकाले श्वास प्रश्वाससम्बन्धी समस्या र श्वासनलीमा सङ्क्रमण दर उच्च रहेको उनले बताए ।

प्रदूषण र दूषित हावामा लामो समयसम्म बस्दा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, छाती दुख्ने, पहेँलो खकार आउने समस्या भएका बिरामी ठूलो सङ्ख्या अस्पतालको ओपीडीमा आउने गरेको निर्देशक डा. श्रेष्ठले सुनाए । फोक्सोमा सङ्क्रमण भई निमोनिया भएमा अन्य अङ्गमा पनि फैलिन सक्ने भएकाले सचेत हुन जरुरी छ । 

उच्च रक्तचापः

सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका मुटु रोग विशेषज्ञ डा. रेजु मानन्धरका अुनसार अस्वस्थ जीवनशैलीका कारण अहिले उच्च रक्तचापका बिरामी बढ्दै गएका छन् ।  उच्च रक्तचापलाई साइलेन्ट किलर रोगको रूपमा चिनिन्छ । नेपालमा उच्च रक्तचापका बिरामी तीव्र दरमा बढ्दै गएकाले मृत्युदर पनि बढ्दै गएको छ ।

ईडीसीडीका अनुसार दीर्घकालीन रोगबाट मृत्यु हुनेमध्ये ३९ प्रतिशत मानिसको उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट हुन्छ । उच्च रक्तचापका लक्षण करिब १० प्रतिशतलाई मात्रै देखिने गर्छ । लक्षणविहिन बिरामीले समयमै पहिचान गर्न नसकेमा हृदयघात, मस्तिष्कघात, अन्धोपन, मिर्गौला फेल जस्ता गम्भीर खालका समस्या देखापर्न सक्ने उनले बताए ।

विगतमा ४० वर्ष समूहभन्दा माथिका व्यक्तिलाई मात्र उच्च रक्तचापको समस्या देखिन्थ्यो तर अहिले २०–२५ वर्षकै उमेरमा देखिन थालेको डा. मानन्धरले बताए । उच्च रक्तचाप मृत्युको कारण होइन तर यसले शरीरका विभिन्न अङ्गमा क्षति पु¥याउँदा जटिलखानका रोग लाग्ने र मृत्युसमेत हुने उनले बताए । सही जीवनशैली अपनाउन नसकेका कारण पनि यो समस्या बढी देखिएको हो । जङ्फुड बढी खाने, शारीरिक अभ्यास कम गर्ने बानीले उच्च रक्तचापलाई बढवा दिने उनको भनाइ छ । 

खोकी :
सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार सामान्यतः धेरैलाई रुघाखोकी देखिन्छ । रुघाखोकी लाग्दा पनि खोकी लाग्छ, एलर्जी हुँदा पनि खोकी लाग्छ, प्रदूषणका कारण पनि खोकी लाग्छ । ‘कोभिड हुँदा, डेङ्गु हुँदा, इन्फ्लुएन्जा जस्ता कारणले खोकी लाग्छ ।

खोकी मात्रै भनेर भएन, सम्बन्धित निकायले भाइरस हो कि ब्यक्टेरिया हो भन्ने कारण पत्ता लगाउन आवश्यक पर्छ’ डा. अधिकारी भन्छन्, ‘त्यसमा पनि कुन भाइरसले सङ्क्रमण गर्दा वा कुन व्यक्टिेरिया कारण खोकी लाग्यो त्यो थाहा पाउँन जरुरी हुन्छ ।’ त्यसैले खोकी लाग्नुको कारण पत्ता लागई त्यसको निराकण गर्नुपर्ने उनी बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप