बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

रोग होइन औषधि हो प्रेम : मधुमेह, मोटोपना र क्यान्सरको खतरा कम गर्छ

मङ्गलबार, २१ कात्तिक २०८०, १७ : ४९
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । माया प्रेमलाई कसै कसैले पनि रोग भन्छन् । तर हालै भएको एउटा अनुसन्धानले चाँहि माया प्रेममा रहँदा वा प्रेमीको साथमा समय बिताउँदा ठुला ठुला रोग पनि भाग्ने देखाएको छ । 

रोमान्टिक पार्टनरसँग समय बिताउँदा कयौँ गम्भीर रोगका खतरा कम हुन सक्छ । दुवैले एक अर्कासँग कुराकानी नगरेपनि यसको असर व्यक्तिमा देखिने पाइएको छ । 

निदाउने बेलामा पार्टनरसँगै हुँदा शरीरमा ग्रोथ हर्मोन एक्टिभ हुन्छ । पार्टनरको भौतिक उपस्थितिले स्वास्थ्यलाई बढवा दिन्छ । यो अनुसन्धान प्रतिवेदन ‘ब्रेन बिहेभियर र इम्युनिटी हेल्थ’ नामक जर्नलमा पनि प्रकाशित छ ।

के भन्छ अनुसन्धान ?

बुझ्ने भाषामा भन्नु पर्दा माया, प्रेम रोग नभएर कयौँ रोगको उपचार भएको यो अनुसन्धानले साबित गर्छ । रोमान्टिक पार्टनरको भौतिक उपस्थितिले हाम्रो शरीरमा हर्मोन नियन्त्रण गर्छ । यति बेला तन र मनलाई क्षति पुर्‍याउने वा रोग निम्त्याउने ल्याउने हर्मोन कम हुन्छ । 

शरीरको लागि राम्रो मानिएका हर्मोनहरुको उत्पादन बढ्छ ।

पुराना अनुसन्धानभन्दा फरक छ नयाँ अध्ययन

सामाजिक रुपमा सक्रिय मानिसहरूसँग धेरै साथीभाइ हुन्छन् । त्यसैले उनीहरू धेरै खुसी रहन्छन् । नतिजा उनीहरूको स्वास्थ्य राम्रो हुन्छ । ह्युमन साइकोलोजीबारे भएका कयौँ अनुसन्धानमा यस्तो खालको तथ्य बाहिरिएको छ । तर अमेरिकाको नर्थ क्यारोलाइना विश्वविद्यालयमा भएको पछिल्लो अनुसन्धान यसअघि भएका भन्दा बिल्कुल फरक छ । यसले मानिसहरूको व्यवहारको आधारमा नभएर उनीहरूको क्लिनिकल परीक्षणको आधारमा नतिजा देखाएको छ ।

रोमान्टिक पार्टनर आसपास हुँदा मानिस स्वस्थ रहन्छ । यसले शरीरमा के कस्तो परिवर्तन आउँछ भनेर अनुसन्धानले खोज्ने प्रयास गरेको छ । यो अनुसन्धानका लागि कुनै न कुनै रुपमा रोमान्टिक सम्बन्धमा रहेका सय जनालाई छानिएको थियो । तीन महिनासम्म सहभागीहरूले तिनका पार्टनरसँग समय बिताउँदा खेरिको पूरै जानकारी संकलन गरिएको थियो । साथै नियमित अन्तरालमा उनीहरूको  क्लिनिकल परीक्षण पनि गरिएको थियो ।

जुन व्यक्तिले आफ्नो पार्टनरसँग बढी समय बिताएका थिए, उनीहरूको शरीरमा सी–रियाक्टिभ प्रोटिनको मात्रा कम थियो । सी–रियाक्टिभ प्रोटिनले शरीरमा संक्रमणको स्तर बताउँछन् । यो प्रोटिन जति धेरै हुन्छ त्यति नै शरीरमा संक्रमण हुने वा गम्भीर रोगको खतरा बढ्छ ।

पार्टनरसँग समय बिताउँदा मधुमेह, मोटोपना र क्यान्सरको खतरा कम हुने

रोमान्टिक पार्टनरसँग बढी समय बिताउने व्यक्तिमा सी–रियाक्टिभ प्रोटिन कम हुने भएकोले उनीहरुमा मधुमेह, मोटोपना र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुने अनुसन्धानले भनेको छ । कोही व्यक्ति पहिलादेखि नै यी रोगसँग जुधिरहेको छ भने रोग गम्भीर बन्ने आशंका पनि कम हुन सक्छ ।

पार्टनरको उपस्थितिले भावनात्मक, शारीरिक र मनोवैज्ञानिक लाभ

पार्टनर आसपास हुँदा रोगको खतरा त टाढिने भए नै मानसिक स्वास्थ्य पनि राम्रो रहन्छ । यसले व्यक्तिको सामाजिक जीवन पनि राम्रो बनाउन सक्छ । आफ्नो पार्टनरसँग धेरै समय बिताउने मानिसको दुनियाँसँगको सम्बन्ध (विद्यालय–कलेज, घर–परिवार), प्रोफेशनल सम्बन्ध (अफिस), आफैँसँगको सम्बन्ध (आन्तरिक मनोवैज्ञानिक सोच) पनि राम्रो हुन्छ । अर्थात् पार्टनरको उपस्थितिले भावनात्मक, शारीरिक र मनोवैज्ञानिक तीनै खालको फाइदा प्राप्त हुन्छ ।

प्रेमीको साथ हुँदा गलत बानी छुट्छन्

अध्ययनको बेलामा सहभागीहरुमा चुरोट, रक्सी र शारीरिक परिश्रम नगर्ने जस्ता केही नराम्रा बानीहरुमा पनि हेरिएको थियो । नतिजाअनुसार रोमान्टिक पार्टनर साथमा भएको बेलामा व्यक्तिहरु एक–अर्काको स्वास्थयबारे बढी जागरुक भएको पाइयो । सहभागीहरूले पार्टनरको उपस्थितिमा चुरोट, रक्सी र फाष्टफूडको सेवन कम गरे । एक्सरसाइज गर्ने सम्भावना पनि बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप