नेपालमा १५ लाख पर्यटक भित्र्याउने हो भने यसो गर्नुपर्छ
सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले प्रवद्र्धनात्मक अभियान थाल्ने भएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पदबहाली गर्दा सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने पहिलो नीतिगत निर्णय गरेका थिए ।
‘तर, भनेजस्तो सजिलो छैन,’ सोसाइटी ट्राभल प्रबन्ध निर्देशक सुनील शर्माले भने, ‘मन्त्री अधिकारीको नीतिगत निर्णय कार्यान्वयन गर्न पूर्वाधारविना सम्भव छैन । सरकारले पर्याप्त पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’
विमानस्थल विस्तार
१५ लाख पर्यटक भित्र्याउने भनेरमात्रै हुँदैन । सर्वप्रथम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वास्तविकता बुझ्नुपर्छ । ‘विमानस्थलको अवस्था सुधार्नुपर्छ,’ सोसाइटी ट्राभल प्रबन्ध निर्देशक शर्माले सुझाए, ‘विमानस्थल सरसफाइमा त्यत्तिकै ध्यान दिनुपर्छ । विमानस्थल अवतरण गर्नबित्तिकै पर्यटकले फोहोर देख्न नपरोस् । घरमात्रै महल देखिएर भएन । गेटमा फोहोर थुप्रेको छ भने त्यसको के अर्थ । तसर्थ, घरको ढोका सफा राख्नुपर्छ । नेपाल आएका पर्यटकका लागि विमानस्थल मूलढोका मानिन्छ ।’
समृद्ध सडक
(क) ठमेललाई सवारीसाधन निषेधित क्षेत्र घोषणा गरिएपछि पर्यटकलाई सहज भएको छ । सवारीसाधन गुड्न रोक लगाइए पनि जताततै खनिएका बाटोले पर्यटकमात्रै होइन, पैदलयात्रुलाई असहज हुने नै भयो । ‘ठमेलमा बाटो खनेर त्यत्तिकै छाडिदिएको हुन्छ,’ उनले दुःखेसो पोखे, ‘जसलाई जहाँ मन लाग्यो, त्यहाँ बाटो खनिदिएको छ । पर्यटक चहलपहल बाक्लो भएको ठाउँमा सडक मर्मत गर्दा फास्ट ट्र्याक अपनाउनुपर्छ । यो त प्रतिनिधि उदाहरणमात्रै हो ।’
(ख) मुग्लिनबाट नारायणगढ जाने बाटो निर्माण थालेको तीन वर्ष भयो । अझै पूरा भएको छैन । गुडेर यात्रा गर्न रुचाउने पर्यटकका लागि निर्माणाधीन मुग्लिन–नारायणगढ सडकले त्यत्तिकै असहज बनाएको छ ।
(ग) सबै पर्यटक विमान चार्टर्ड गरेर गन्तव्यसम्म पुग्न सक्दैनन् । तसर्थ, सडककै भर पर्नुपर्छ । ‘सगरमाथासम्म जान चाहनेले भनेको बेला विमानको टिकट पाउँदैनन् । पाइहाले पनि डराइ–डराइ जानुपर्छ,’ उनको तर्क छ, ‘सगरमाथा आधारशिविरसम्म पुग्ने ६ लेनको बाटो भइदिए पर्यटकको ताँती लाग्ने थियो ।’
६ लेनको बाटो विस्तार गर्न सके सगरमाथा आधारशिविरमा खाजा खाँदै सगरमाथा नियाल्न चाहने पर्यटकको ‘क्याराभान’ लाग्छ । आधारशिविरमा खाजा खाँदै सगरमाथा नियाल्नुको आनन्द शब्दमा व्यक्त गर्न सकिँदैन ।
‘अमेरिकामा कालीगण्डकी बनाइएको छ,’ उनले उदाहरण दिए, ‘चितवनको जंगल लज खोलिएको छ । उसले अमेरिकामै नेपालको स्वाद दिइसकेको छ । हामी भने पूर्वाधार निर्माणमै अल्मलिएका छौं ।’
सम्पदा संरक्षण
वाम गठबन्धन नेतृत्व सरकारले संयुक्त निर्वाचन घोषणापत्रमा ५० लाख पर्यटक भित्र्याउने उल्लेख छ । उसको घोषणापत्रअनुसार सन् २०३० भित्र सालिन्दा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने काम प्रशस्तै छन् ।
‘मठ–मन्दिरलगायत सम्पदा संरक्षणमा ध्यान दिनुपर्छ । तपाईं काठमाडौं उपत्यकाका कुनै पनि मठ–मन्दिर पुग्नुभयो भने परेवाले जताततै दिसा गरेको देख्नुहुन्छ,’ उनले सुनाए, ‘परेवाको दिसामा एसिड हुन्छ । परेवाको दिसाले मठ–मन्दिरको काठपातमा लाग्दा क्षति पुर्याउँछ । यतातिर कसैको ध्यान गएको छैन ।’
नीति निर्माण
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । भ्रमण वर्ष मनाउनुको अभीस्ट भनेकै पर्यटन प्रवद्र्धन गर्नु हो । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणसँगै कामयावी नीति निर्माण गर्नुपर्छ । नीति निर्माण कामयावी भए पर्यटन प्रवद्र्धन र बजारीकरण प्रभावकारी बनाउन सकिन्छ । ‘भाषण गरेरमात्रै हुँदैन,’ उनको भनाइ छ, ‘राइट डिसिजन गर्न सक्नुपर्छ । चुनौती पहिचान गरी निप्टारा लगाउन सक्ने क्यापासिटी हुनुपर्छ ।’
समस्यामाथि समस्या
(क) स्ट्याचु अफ लिबर्टी, इफेल टावर हेर्न जान जोकोही मरिहत्ते गर्छन् । ती मानवनिर्मित हुन् । नेपालमा के छैन ? हामीसँग प्राकृतिक सम्पदा नै सम्पदा छन् । ‘घुमघामका लागि पर्यटक बोलाए पनि कहिले टिकट पाइँदैन,’ उनले वास्तविकता बताए, ‘टिकट पाइहाले पनि विमानस्थल अवतरणका लागि पटक–पटक आकाशमै घुम्नुपर्छ । त्यसले समेत पर्यटन प्रवद्र्धनका लागि असर पार्छ ।
(ख) नेपालजत्तिको घुम्ने ठाउँ संसारमै छैन । ‘डोयल करेन्सी’ ले त्यत्तिकै समस्या पारेको छ । नेपाल आएका विदेशी पर्यटकसँग ‘डोयल करेन्सी’ लिनुपर्ने प्रावधान छ । ‘एक्काइसौं शताब्दीमा त्यो वैज्ञानिक मानिँदैन,’ ३० वर्षदेखि ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका सुनील शर्माले थपे, ‘बाह्य पर्यटकले नेपाल आउनअघि फरियन करेन्सी बैंक खातामा जम्मा गरिदिन्छ । त्यो ६० पैसा कममा बेच्नुपर्छ । आफूले किन्दा ६० पैसा बढी बुझाउनुपर्छ । सरकारलाई त्यत्तिकै ६० पैसा फाइदा हुन्छ ।’
(ग) काठमाडौंका कुनै पनि होटल तथा रेष्टुरेन्ट पुग्नुभयो भने १० देखि २० गुणा महँगो छ । ट्राभल एजेन्सीको काम विदेशी पर्यटक नेपाल भित्र्याउने हो । सोसाइटी ट्राभलले भुटान र ल्हासाको ‘प्याकेज’ बेच्दै आएको छ । पर्यटन प्रवद्र्धनका लागिसन् १९९८ मा ‘भिजिट नेपाल’, ‘नेपाल टुरिजम इयर’ २०११, भिजिट युरोप २०१७ र २०१७ लाई नै घुमफिर वर्षका रूपमा मनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना