मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालमा दुई जनाको मृत्यु प्रकरण : चिकित्सकद्वारा सेवा ठप्प

मङ्गलबार, २१ कात्तिक २०८०, ११ : १७
मङ्गलबार, २१ कात्तिक २०८०

ललितपुर । दुई जनाको मृत्यु भएको घटनापछि उत्पन्न तनावका कारण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा कार्यरत चिकित्सकहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प बनाएका छन् ।  अस्पतालमा कार्यरत चिकित्सकले आफूहरुमाथि कुटपिट भएको भन्दै त्यसको विरोधमा मंगलबारदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प बनाएका हुन् । 

चिकित्सकमाथि कुटपिट, गालीगलौज, दुर्व्यवहार र ज्यान मार्ने धम्की समेत दिएर स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्‍याउने गतिविधि भएको अस्पतालको दाबी छ । 

स्वास्थ्यकर्मीमाथि आक्रमण भएको २ दिन बितिसक्दा पनि दोषीलाई कानुनी कारबाही नभएको उनीहरूको भनाइ छ ।  

कार्तिक १८ गते साँझ ज्येष्ठ नागरिक वार्डमा बिरामीको मृत्यु भएको विषयलाई लिएर दुई चिकित्सकमाथि आक्रमण भएको बताइएको छ ।

दुई जना ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मीले सुईमार्फत औषधि दिएपछि तत्काल बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ ।

अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार मृत्यु भएका ती दुई जनालाई सेफ्ट्रियाक्सोन नामक एन्टीबायोटिक्स र रगत पातलो गर्ने औषधि  हेपारिन दिइएको थियो । सोही औषधि अन्य बिरामीलाई पनि चलाइएको थियो । आफन्तले सोही औषधिका कारण मृत्यु भएको बताएपछि त्यस औषधिका बारे अनुसन्धान भइरहेको उनले बताए ।

यदि उपचारका क्रममा अस्पतालबाट कमजोरी पुष्टि भएमा कानुन अनुसार कारबाही भोग्न अस्पताल तयार रहेको उनको भनाइ छ ।

यसैबिच नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्य तथ्य  छानबिन गर्न माग गरेको छ । संघले ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्कीप्रति आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।  

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत घटनाका विषयमा पाटन अस्पतालसँग विवरण माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप