त्रिपालको सहारामा भूकम्पपीडित, राहत वितरणमा मापदण्ड जरुरी
जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ ।
पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ ।
सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समेत त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने पराकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनुभूति भएको बताए ।
सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पुगेको छ । उनीहरु राहत सामग्री वितरणमा सहयोग गर्ने, भूकम्पबाट पीडितलाई सम्झाइबुझाई गर्नेदेखि टेन्ट निर्माणमा सघाइरहेका छन् । नलगाड नगरपालिका–२ रिजामा सशस्त्र प्रहरी बलको टोलीले त्यहाँ राहत वितरणमा सहयोग गर्दैछ । मानसिकरूपमा तनाबमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाई गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ । सदरमुकामभन्दा बाहिरका पालिकामा सबै निकायको ध्यान कम पुगेको छ । पटक–पटक परकम्प गइरहेकाले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयवासीलाई पर्याप्त जानकारी छैन । स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितले हैरानी खेप्नुपरिरहेको बताइएको छ । भेरी नगरपालिका–३ का गणेश थापाले न्यानो कपडा नपाएको गुनासो गरे ।
सदरमुकामभन्दा बाहिर अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन । राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा पुगेका सङ्घसंस्थाका प्रतिनिधिले आफूअनूकुल राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या भएको छ । बारेकोट गाउँपालिकामा सोमबार दिउँसो राहत सामग्री पुगेको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार सर्वसाधारण खुला आकाशमुनि बसिरहेका छन् । उनीहरूलाई अब चिसोबाट जोगाउनु मुख्य समस्या भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही