केन्द्रीय संस्करण
विचार

संविधानको अमूर्त समाजवाद

person explore access_timeचैत २०, २०७४ chat_bubble_outline0

आजको दिनसम्म पनि नेपाली समाजमा सामन्तवादका अवशेषहरू रहेका छन् । मुख्यरूपमा कर्म, संस्कृति, देशभक्ति, राष्ट्रवाद जस्ता कुराहरू सामन्तवादको जगमै टेकेर सञ्चालित छन् । यसको विकल्पमा हामीले कर्मको नयाँ सांस्कृतिक चेतना निर्माण गर्न सकिएन । राजनीतिक परिवर्तन भयो तर सांस्कृतिक परिवर्तन हुन सकेन । 

सामन्तवादको अन्त्य भयो तर त्यसको ठाउँ राष्ट्रिय पुँजीवादले होइन कि ‘क्रोनी क्यापिटलिजम’ले लियो । पुँजीवादको सबैभन्दा ठूलो विशेषता हो भने जन्मदै कोही ठूलो हँुदैन । प्रतिस्पर्धाबाट मात्रै ठूलो हुन सकिन्छ । तर ‘क्रोनी क्यापिटलिजम’ले पहिले भाइ भतिजाहरूको सम्पत्तिको संरक्षण गर्छ । भन्नुको अर्थ यसले अरूको पुँजीलाई स्वस्थ प्रतिस्पर्धा गर्न दिँदैन । 

हाम्रो संविधानमा समाजवादको कुरा गरिएको छ । तर हामी कस्तो समाजवादतर्फ जाने हो भन्ने स्पष्ट छैन । संविधानमा भनिएको समाजवाद अस्पष्ट र अमूर्त छ । मैले बुझेको समाजवाद शोषणबाट मुक्ति हो । सजिलोगरी भन्दा काम गर्नेहरू शोषित नहुने खालको समाजवाद वास्तविक समाजवाद हो । 

तर हाम्रो देशमा ३०औँ लाख युवाहरू विदेश जाने नाममा पहिले गाउँमा ठगिन्छ, जिल्ला सदरमुकाममा ठगिन्छन् त्यसपछि राजधानी आएर ठगिन्छन् । अनि जब विदेश जान्छन्, त्यहाँ पनि ठगिन्छन् । भनेपछि तपाईं आफै अनुमान गर्न सक्नुहुन्छ, हाम्रो देशलाई समाजवादतर्फ जान कति सहज असहज छ ।

हामीले समाजवादको कुरा गरिरहँदा विदेश पलायन भएका ती ३०औँ लाख युवालाई आफ्नै देशमा काम र काम अनुसारको दाम दिन सक्छौँ कि सक्दैनौँ भन्ने कुराबाट हामीकहाँ समाजवादतर्फ जाने तगाराहरू कति छन् भन्ने थाहा हुन्छ । हामीले जुन दिनबाट युवाहरूलाई क्षमता अनुसारको काम दिन सक्छौँ, त्यहीँबाट नयाँ राज्यको यात्रा सुरु हुन्छ । 

युवाहरूलाई विदेश पठाएर, समाजलाई शोषणको जाँतोमा पिसेर समाजवाद कसरी आउँछ ? यसका लागि औद्योगिक पुँजीको विकास हुनु पर्यो । तर यहाँ वित्तीय पुँजी हाबी छ । 

देशमा अहिले वामपन्थीहरूले जितेका छन्, जुन राम्रो कुरा हो । जनताले जसरी वामपन्थीहरूलाई आफ्नो मत दिएका छन्, के त्यो जनमतको हामीले कदर गर्न सक्छौँ ? मलाई लाग्छ मुख्य चुनौती नै यही हो । भन्नुको अर्थ हामी चुनौतीको जगमा उभिएका छौँ । तर अहिलेका वामपन्थी नेताहरूलाई हेर्दा, उहाँहरूको विचार र आचरणले उहाँहरूलाई समाजवादको यात्री देखाउँदैन । उहाँहरू जति गम्भीर हुनुपर्ने हो त्यति गम्भीर देखिनु हुन्न । 

त्यसैले कम्तीमा पनि शिक्षा र स्वास्थ्य जस्तो संस्थाको निजीकरण गरिनु हुन्न । यी संस्थाहरूको निजीकरण गर्ने अनि कुरा र भाषणको भरमा समाजवाद आउँदैन । आउँदो दुई वर्षमा जनताले सरकारमा वामपन्थीहरू भएको अनुभूत गर्नेगरीको काम गर्न सक्नुपर्छ । यही चुनौती हो । 

नेपालमा लाखौँ यस्ता किसानहरू छन्, जसले ऋण झिकेर कुखुरा, बङ्गुर, बाख्रा आदि पाल्छन् । अर्को समूह छ, जसले आफ्नो लगानी गरेर त्यहाँसम्म दानापानी पुर्याउने गर्छन् । जसले ऋण लिएर सानो स्तरमा काम गरिरहेका छन्, तीनले नेपालको वास्तविक अर्थतन्त्र धानिरहेका छन् किनभने उनीहरूले कर निरन्तर तिरिरहेका छन् । 

तर जसले उत्पादनको क्षेत्रमा आफ्नो लगानी गरेको छ ऊ त्यो सानो किसान जति इमानदार छैन । उसले राज्यलाई तिर्नुपर्ने कर तिरेको छैन । तर कुनै राजनीतिक दललाई सबैभन्दा धेरै चन्दा दिनु परेमा उसैले नै दिएको छ । भन्नुको अर्थ यहाँ कर तिर्ने र चन्दा दिने बीच भिन्नता छ । यही भिन्नतामा राज्य कसको पक्षमा उभिन्छ भन्ने आज जनताले हेरिरहेका छन् । 

त्यसैगरी शिक्षा र स्वास्थ्यमा जनताको पहुँच हुन्छ कि हुँदैन ? भन्नेले कुराले पनि हामी कहाँ जाँदैछौँ भन्ने निर्धारण गर्छ । त्यसैले शिक्षा र स्वास्थ्यमा जनताको पहुँच स्थापित गर्न यी दुई संस्था राज्यको नियन्त्रणमा हुनुपर्छ । यसो गर्नका लागि पहिलो चरणमा राजनीतिक नेताहरू र कर्मचारीहरूको शिक्षा र स्वस्थ्यको क्षेत्रमा भएको लगानी फिर्ता गर्न भन्नुपर्छ । 

जबसम्म यो नीति आउँदैन जति समाजवादका कुरा गरे पनि केही हुँदैन । समाजवादको यात्रा तय गर्ने राज्यले यति काम गर्न सक्छ कि सक्दैन जनताले हेरिरहेका छन् । हाम्रो समाजवादको यात्रा यहीँबाट आरम्भ हुन्छ । शिक्षा र स्वास्थ्य भनेको समाजवादी राज्यका लागि मस्तिष्क र शरीर हो । अनि मस्तिष्क र शरीरको निजीकरण गरेपछि के हुन्छ ?

त्यसैले कम्तीमा पनि शिक्षा र स्वास्थ्य जस्तो संस्थाको निजीकरण गरिनु हुन्न । यी संस्थाहरूको निजीकरण गर्ने अनि कुरा र भाषणको भरमा समाजवाद आउँदैन । आउँदो दुई वर्षमा जनताले सरकारमा वामपन्थीहरू भएको अनुभूत गर्नेगरीको काम गर्न सक्नुपर्छ । यही चुनौती हो । 

समाजवादतर्फको यात्रामा सरकार र पार्टीहरू मात्र जिम्मेवार हुँदैनन् । सरकार र पार्टीहरूले ल्याएका नीतिमा जनता कति सजग र सचेत हुन्छन् भन्ने कुराले पनि धेरै महत्व राख्छ । जनता र पार्टीबीचको सम्बन्ध जहिलै नङ र मासुको जस्तो हुनुपर्छ । जनताले पार्टीलाई निर्देशित गर्ने हो भने पार्टीले जनताबाट सिकेर जनतालाई प्रशिक्षित गर्ने हो । कम्युनिस्ट पार्टीको काम जनतालाई चनाखो बनाई राख्ने हो । 

विकास गरे पनि, सुशासन ल्याए पनि नेताले नै ल्याई देओस् भन्ने जनताले सही अर्थमा सरकारलाई दबाब दिइरहन सक्दैनन् । जनताको भूमिका सकारात्मक र नाकारात्मक दुवै घडीमा सडकमा ओर्लने हो । विश्वमा यस्ता कैयौँ उदाहरण छन्, जति बेला जनता सडकमा ओर्लिए र सरकारहरू सत्ताच्युत भए । त्यति मात्र होइन, जनता सडकमा ओर्लिएकै आधारमा सरकार थप बलिया पनि भएका छन् । 

यदि हामीले जनताको पक्षमा वास्तविक काम गर्न सकेनौँ भने जनता र सरकारका बीच सम्बन्ध टुट्छ जुन अवस्था पर्खेर प्रतिक्रियावादीहरू बसेका हुन्छन् । कुनै पनि वामपन्थी अथवा कम्युनिस्ट सरकारको जनतासँग सम्बन्ध टुटेमा त्यो सरकार एम्बुसमा पर्यो भनेर बुझ्दा हुन्छ । 

त्यसका साथै सरकारले किसानले उब्जाएको उत्पादनको न्यूनतम मूल्य तोक्नुपर्छ । त्यसका लागि सरकारमा पुगेको किसान नेता र किसान स्वयम्को भूमिका महत्वपूर्ण हुन्छ । किसान आफै चनाखो भए सरकारलाई थप सहयोग हुन्छ । मलाई लाग्छ, जनताको पक्षमा काम गर्न चाहने सरकारको शक्तिको मुख्य स्रोत जनता नै हुन् । जसरी कुनै पनि कम्युनिस्टको शक्तिको स्रोत जनता हुन् । 

यदि हामीले जनताको पक्षमा वास्तविक काम गर्न सकेनौँ भने जनता र सरकारका बीच सम्बन्ध टुट्छ जुन अवस्था पर्खेर प्रतिक्रियावादीहरू बसेका हुन्छन् । कुनै पनि वामपन्थी अथवा कम्युनिस्ट सरकारको जनतासँग सम्बन्ध टुटेमा त्यो सरकार एम्बुसमा पर्यो भनेर बुझ्दा हुन्छ । 

इन्डोनेसियामा सन् १९६५ मा कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या ३० लाख र जनवर्गीय सङ्गठनमा आबद्धको सङ्ख्या १ करोड थियो तर सैनिक तानाशाह सुहार्तोले सजिलै सत्ता पल्टाइ दियो । त्यति मात्र होइन त्यसपछि कम्युनिस्टलाई यसरी धुजाधुजा पारिदिए कि फेरि कहिलै जोडिन सकेन । त्यसैले जनतासँगको सम्बन्धमा जहिले पनि सजग हुनुपर्छ । 

क्रान्तिपछिको यो अवस्थामा नेपाली समाजमा मन्दिरहरू थपिएका छन् । हाम्रा नेताहरू पनि मन्दिर उद्घाटनमा लागिरहेका छन् । यस्तो अवस्थामा हामी पनि घिस्रिएर हिँडिरहेछौँ । जनताको धार्मिकीकरण गरिँदैछ । विवाह, व्रतवन्ध, पुराण वाचन जस्ता कुराहरूले समाजमा थप स्थान ओगटिरहेको छ । जनता धर्मभिरु हुँदै गइरहेका छन् । यसको मूल कुरा हामीले नयाँ संस्कृतिको निर्माण गर्न सकेनौँ भन्ने हो । 

अहिलेको हाम्रो समयमा अर्को महत्वपूर्ण कुरा भनेको संस्था हो । तर अहिले हाम्रो कुनै पनि संस्थागत जीवन छैन । लोकतन्त्र जोगाउने संस्थाले नै हो तर हामीसँग संस्थाहरूको निकै कमी छ । हामीले विभिन्न संस्था निर्माणमा ध्यान दिन सक्यौँ कि सकेनौँ ? जनताहरू यस्तै संस्थाहरूबाट प्रशिक्षित हुने हो । जनताले यहीबाट आवाज उठाउने हो । जनताले यहीँबाट खबरदारी गर्ने हो । 

अहिले जस्तो प्रकारको भाषा, व्यवहार र रिल्याक्सले हिँड्ने डुल्ने चलन छ, त्यो कुनै ऐयासी राजाको भन्दा कम छैन । कम्युनिस्टहरूको आचार, व्यवहार र सोच्ने शैली ऐयासी राजाको जस्तो होइन कि माओ, होची मिन्ह, फिडेल, चे जस्तो हुनुपर्ने हो । उनीहरू सबै जनतासँग खेतमा काम गर्न जाने गर्थे । तर यहाँको चलन पुरै भिन्न छ । त्यसैले यस्तो अवस्था भएको देशमा प्रतिक्रियावादले हान्यो भने कोही पनि साथमा हुँदैनन् । 

प्रस्तुति कृष्ण गिरी 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.