नक्कली सर्टिफिकेट बनाएर ‘पठाओ’ मार्फत डेलिभरी
काठमाडौँ । भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुग्न प्रहरी सफल भएको छ ।
पर्यटक प्रवेशाज्ञा शंकास्पद देखिएपछि विमानस्थल सुरक्षा कार्यालयले १ हजार ३२ थान पासपोर्ट सहितका कागजात अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
रेग्मीले भने, ‘भिजिट भिसामा पठाउन गिरोहले ३ लाखसम्म लिने गरेको अनुसन्धानबाट भेटिएको छ । फर्जी कागजात बनाइदिएर विमानस्थलमा सेटिङ मिलाएर पठाउने काममा संलग्न प्रहरी जवानसहित १३ जना अहिले थुनामा छन् । विमानस्थलमा सेटिङ मिलाउने अध्यागमनका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीहरुबारे पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।’
अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीका अनुसार २ सय ९६ जनाको शंकास्पद कागजात र विमानस्थलमा सेटिङ मिलाउनेहरुबारे अनुसन्धान भइरहेको छ ।
विदेश जान चाहनेहरुलाई गिरोहले प्लस टुको सर्टिफिकेट, नाता प्रमाणित, पुलिस रिपोर्ट र श्रम स्वीकृतिसमेत नक्कली बनाइदिने गरेको भेटिएको छ ।
दाङ घर भएका एकजना पूर्व सैनिक भिजिट भिसामा रसिया जाँदै थिए । सेनाबाट राजीनामा दिएका ती पूर्व सैनिकलाई प्रहरीले रोकेपछि अनुसन्धान अधिकृतहरुलाई उनले आफूलाई कागजात बनाउन सघाउने एउटा नम्बर दिए । उक्त नम्बर प्रयोगकर्ता थिए काभ्रे घर भएका जीवराज तामाङ । उनी विमानस्थलमा कार्यरत प्रहरी जवान हुन् ।
जीवराजबाट प्रहरीले अनुसन्धान थालेको हो । जीवराजको मोबाइलमा फर्जी कागजातको चाङ नै भेटिएको छ । जीवराजले उदयपुरका आशिष श्रेष्ठसँग मिलेर विमानस्थलमा ‘सेटिङ’ मिलाउँदै आएको थाहा भएको छ ।
फर्जी कागजात तयार गर्न नयाँ बसपार्कस्थित मन्जरी ट्राभल्सका सञ्चालकको पनि भूमिका देखिएको छ । मन्जरी ट्राभल्सका सञ्चालक गोरखाका ३४ वर्षीय भक्त बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
आशिष श्रेष्ठ र नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठले भने अनुसारको कागजात भक्तबहादुरले १० हजार लिएर बनाइदिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
फर्जी कागजात भक्तबहादुरले नक्साल घर भएका दिपक केसीलाई ‘अर्डर’ गर्ने गरेका थिए । दिपकले काठमाडौँको टोखामा कारखाना नै सञ्चालन गरेको भेटिएको छ ।
पठाओमार्फत डेलिभरी
फर्जी कागजात बनाउने गिरोहले अर्डर भएका कागजात बनाएर पठाओ मार्फत ‘डेलिभरी’ दिने गरेको थियो । पक्राउ पर्ने डरले उनीहरुले त्यस्तो सचेतता अपनाउने गरेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले रातोपाटीलाई बताए ।
भिजिट भिसामा विदेश जान चाहने एक जना युवकले दीपक केसीसँग कागजात बनाइदिन आग्रह गरे । कागजात तयार गरेर केसीले पठाओमा पठाइदिए । डेलिभरी लिएर आउने पठाओ राइडरमार्फत प्रहरी दीपकको कारखानासम्म पुगेको हो ।
टोखा नगरपालिका–५ मा सञ्चालित केसीको कारखानामा छापा मारेपछि उनले बलबहादुर राउतले पनि यस्तै काम गर्ने गरेको खुलासा गरे । त्यसपछि प्रहरी स्वयम्भुस्थित राउतको कारखानामा पुगेको थियो ।
सल्यान घर भएका बलबहादुर राउतलाई पक्राउ गरेर उनको कारखानामा भेटिएका कागजात प्रहरीले जफत गरेको छ । टोखास्थित कारखानामा तयार गरिएका १५० थान सर्टिफिकेट र सरकारी निकायको छाप प्रहरीले बरामद गरेको छ ।
फुर्वु लामु शेर्पा दुबई जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिन् । प्लस टुको सर्टिफिकेटमा शंका लागेर प्रहरीले उनलाई फिर्ता गरिदियो । राष्ट्रिय परीक्षा बोर्डमा पत्राचार गर्दा उनको सर्टिफिकेट नक्कली पुष्टि भयो । फुर्बुले भनिन्, ‘मलाई जयराम श्रेष्ठले बनाएर दिएको हो ।’
नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठलाई प्रहरीले फक्राउ गरेको छ । फर्जी कागजात प्रकरणमा चार जना कन्सल्टेन्सी संचालकहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एसीई कन्सल्टेन्सी सञ्चालक अनिष अमात्य, प्रगती विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली, एस. टु अबरोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं छन् ।
विदेश जानेहरुको कागजात अपुग भएमा कन्सल्टेन्सी सञ्चालकहरुले कागजात बनाउन सल्यान घर भएका बलबहादुर राउतको सम्पर्कमा पठाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
कन्सल्टेन्सी सञ्चालक सहित सो प्रकरणमा हालसम्म पक्राउ पर्नेमा जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, बिपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दिपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् ।
गिरोहले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लस टुको सर्टिफिकेट र नाता प्रमाणित पनि किर्ते बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठले भिजिट भिषामा विदेश जान चाहने ग्र्राहक खोजेर नक्कली कागजात तयार गर्नका लागि दिपक केसी र बल बहादुर रावतसँगको सम्पर्कमा लैजाने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म