शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

परकम्पका बेला आतंकित नभई भूकम्पबाट जोगिने कसरी ?

सोमबार, २० कात्तिक २०८०, १८ : ४६
सोमबार, २० कात्तिक २०८०

‘साधारणतया नेपालका विभिन्न ठाउँमा लगभग सय वर्षको अन्तरालमा एउटा ठूलो भूकम्प जाने गरेको छ, तर सन् १५०५ को भूकम्पपछि सुदूरपश्चिम नेपाल (पोखरादेखि पश्चिमको भूभाग)मा अहिलेसम्म ठूलो भूकम्प नगएको हुनाले यो क्षेत्र भूकम्पको उच्च जोखिममा छ, (सन् २०२३ मा प्रकाशित पुस्तक ‘बहत्तर सालको भूकम्प’ । लेखक ः तारानिधि भट्टराई, निमानन्द रिजाल र किशोर थापा) । 

भूकम्पविद् तथा भूगर्भशास्त्रीले नेपालको पश्चिमी भूभागमा भूकम्पको जोखिम रहेको बताउँदै आएका हुन् । ऐतिहासिक स्रोतका अनुसार, १५६२ साल (६ जुन १५०५)मा गएको भूकम्पका कारण हिमालय पर्वत क्षेत्र (तिब्बती पठारको दक्षिणी किनारा), यसको दक्षिणमा अवस्थित नेपाली भूभाग (सुदूरपश्चिम नेपाल, मुस्ताङको थाकखोला क्षेत्र) र भारतका धेरै सहरमा क्षति पुर्याएको थियो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (खानी विभाग)का भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार, हिमालय क्षेत्र (अफ्गानिस्तानदेखि बर्मासम्मको २४०० किलोमिटर पेरिफेरी)मा भूकम्पीय जोखिम सधैँ रहन्छ । पछिल्लो पाँच सय वर्षयता पश्चिम नेपालमा ठूलो महाभूकम्प गएको छैन । पश्चिम नेपाल भन्नाले गोर्खादेखि पश्चिमको भूभाग सम्झनुपर्छ । 

पश्चिमी भेग भूकम्पीय जोखिममै छ । घरको संरचना, आसपासको अवस्था ख्याल गरेर चनाखो हुनुपर्छ । ढुंगामाटाको घरको हकमा यसरी सुरक्षित हुनुस् भन्न सकिँदैन । अहिले परकम्प गइरहेको अवस्थामा भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई यति भन्न सकियो — 'चर्केको र जीर्ण घरमा नबसौँ । त्यसपछि आफ्नो घरको संरचना हेरी सतर्कता अपनायौँ ।’

उनका अनुसार, अहिलेसम्म विश्वमा गएका भूकम्पको तथ्यांक हेर्दा आठ म्याग्नेच्युड भन्दा सानोलाई महाभूकम्प भनिँदैन । २०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प (७.८)लाई महाभूकम्प नभनी शक्तिशाली भूकम्प भनिएको छ । अहिलेसम्म विश्वमा रेकर्ड भएका भूकम्पको तथ्यांक हेर्दा चिलीमा सन् १९६० मा गएको ९.५ म्याग्निच्युड स्केलको भूकम्पलाई नै सबैभन्दा ठूलो मानिन्छ ।

हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा, हामीले वैज्ञानिक मापन गर्न थालेदेखि रेकर्ड भएको सबैभन्दा ठूलो हो, ‘गोरखा भूकम्प’ । हामीकहाँ पहिलोपटक २०३५ कात्तिकमा ललितपुरको फुल्चोकी डाँडामा ‘साइस्मिक स्टेसन’ खडा गरी भूकम्प मापनको थालनी भएको हो । 

हाम्रो सन्दर्भमा, १९९० सालमा पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पलाई सबैभन्दा ठूलो मानिन्छ । अरु मुलुकले मापन गरी विश्लेषण गर्दा त्यतिबेला आठ म्याग्निच्युडभन्दा माथिको महाभूकम्प नै गएको देखाउँछ । त्यतिबेला ८ हजार ५१५ जनाले ज्यान गुमाएका थिए ।

१९९० को भूकम्पको केन्द्रबिन्दु सुरुमा भारतको बिहार राज्यलाई भनिएको थियो । पछिल्लो अनुसन्धानले यसको केन्द्रबिन्दु सर्वोच्च शिखर सगरमाथाबाट लगभग १० किलोमिटर दक्षिणको क्षेत्रमा रहेको देखाएको छ । 

नेपालको पूर्वी क्षेत्रमा भूकम्पको कुरा गर्दा, २०४५ सालको भदौ ५ गते उदयपुरलाई केन्द्रबिन्दु बनाएर ६.९ म्याग्निुच्युडको भूकम्प गएको थियो । यस भूकम्पमा परी नेपालको पूर्वी भाग र भारतको बिहारसम्म जनधनको क्षति भएको थियो । त्यतिबेला ७२१ जना नेपाली जनताले ज्यान गुमाए भने ६ हजार २१३ जना घाइते भएका थिए । यस्तै भारततर्फ २८२ जनाको मृत्यु भएको थियो भने तीन हजार ७६६ जना घाइते भएका थिए ।

भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार अहिले जाजरकोट लगायत क्षेत्रमा गएका भूकम्प मझौला खालका हुन् । यसले क्षति गर्नुका पछाडि विविध पक्ष छन् । जस्तो : भूकम्प रातको समयमा आउनु, कम गहिराइबाट आउनु, घर लगायत संरचना कमजोर हुनु, आदि । प्रत्येक वर्ष इन्डियन प्लेटले युरेसियन प्लेटलाई जुन घर्षण दिइरहेको छ, यसले गर्दा शक्ति सञ्चय भइरहेको छ । 

‘नेपालभरि भूकम्प मापनका लागि राखिएका जीपीएस स्टेसनले दिएका विवरणलाई विश्लेषण गरी शक्ति सञ्चय भएको अनुमान गरिन्छ । पश्चिम भेगमा ठूलै भूकम्प जान सक्छ भन्ने वैज्ञानिक अध्ययन अनुसन्धानले देखाइरहेको छ । हालै पश्चिम नेपालको जाजरकोट लगायत क्षेत्रमा भूकम्प गइरहेका छन्, यिनले के संकेत गर्छन् भने लामो समयदेखि ठूला भूकम्प नगएकाले हाम्रो पश्चिमी क्षेत्र वैज्ञानिक रूपमै भूकम्पको सम्भावित क्षेत्र हो,’ डा. भट्टराई भन्छन्, ‘तर कहिले, कति म्याग्नेच्युडको भूकम्प जान्छ भन्ने पूर्वानुमान गर्न हामी सक्दैनौँ ।’

भूकम्पले गर्ने क्षतिका धेरै कारक तत्व छन् । जस्तै : भूकम्प रात वा दिन कुन समयमा गयो ? त्यहाँका मानव निर्मित संरचना के कस्ता छन् ? जनसंख्या के कति छ ? त्यहाँको भौगोलिक अवस्थिति वा बनावट कस्तो छ ? आदि । 

भूकम्पविद् डा. भट्टराईका अनुसार, माटो वा बलौटेमाटोमा भन्दा पत्रे चट्टान रहेको क्षेत्रमा भूकम्पको कम्पन कम हुन्छ । भूकम्पले कस्तो भौगोलिक अवस्थिति भएको ठाउँमा कति क्षति गर्छ भनेर निष्कर्ष निकाल्न गहिरो अध्ययन अनुसन्धान गरिनुपर्छ । उनी भन्छन्, ‘हामीकहाँ भौगर्भिक नक्साङ्कन त भइरहेको छ तर भूकम्प जाँदा त्यहाँको जमिनमा कस्तो अवस्था हुन्छ भन्ने अध्ययन भएको छैन । यसका लागि प्रत्येक ठाउँ विशेषको अध्ययन गर्नुपर्ने हुन्छ, जसका उपकरण महँगा पनि छन् ।’

हामी भूकम्पीय जोखिमको क्षेत्रमा रहेकाले यस्ता किसिमका अनुसन्धानमा राज्यले लगानी र लगाव राख्नुपर्ने देखिन्छ । 

भूकम्पबाट कसरी जोगिने ? 

भूकम्पबाट जोगिने एक मात्र उपाय भूकम्प प्रतिरोधी संरचना नै हो । योसँगै पहिरो, हिमपहिरो खस्ने र बाढीको जोखिम रहने स्थानमा बसोबास गर्नुभएन । 

भूकम्पविद् भट्टराईका अनुसार, जाजरकोटलाई केन्द्रबिन्दु बनाएर १७ कात्तिकको राति गएको भूकम्पपछि आज (२० कात्तिक) बिहान १० सम्म २८३ वटा परकम्प गइसकेका छन् । भर्खरै (२० कात्तिक) साँझ ४ः३१ बजे जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युड भूकम्प गएको केहीबेरमै (४ः४०)मा जाजरकोटकै पैङ्कलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको परकम्म गएको छ ।

जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पपछि परकम्प आउने क्रम जारी छ । भूकम्प प्रभावित क्षेत्रका जनता यतिबेला त्रासमा छन् । यस्तो बेला भूकम्पबाट जोगिने उपाय के हुन सक्लान् ? 

भूकम्पविद् डा.भट्टराईका अनुसार, भूकम्प प्रभावित क्षेत्रका नागरिक आफ्नो घरको अवस्था हेरेर सतर्कता अपनाउन सकिन्छ । ‘चर्केको र जीर्ण घरमा बस्नु भएन । भूकम्पलाई लिएर यसरी सजगता अपनाउनुस् भन्न सजिलो छैन । कतै ढुंगामाटाका घर छन् कतै पक्की छन् । अहिले परकम्प गइरहेका ठाउँका मानिस यतिखेर विशेष रूपमा सुरक्षित र सजग हुनैपर्यो,’ उनी भन्छन्, ‘सर्वप्रथम नआत्तिईकन संयम र चनाखो रहनुपर्छ । आफ्नो घर कस्तो छ, सोही अनुसार सतर्कता अपनाउनुपर्छ ।’

२०७२ सालको भूकम्पअघि हामीकहाँ भूकम्पबाट बच्ने उपायमा भनिन्थ्यो — ढोका वा झ्यालमुनि, टेबल, मेच आदिमुनि पस्ने आदि । ‘यो ठीकै हो, हामीकहाँ यसो भनेर मात्रै हुँदैन । किनभने पहिले त घरै बलियो हुनुपर्छ, त्यसपछि टेबल–मेच आदि बलियो हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले घरको संरचना, आसपासको अवस्था ख्याल गरेर चनाखो हुनुपर्छ । ढुंगामाटाको घरको हकमा यसरी सुरक्षित हुनुस् भन्न सकिँदैन । अहिले परकम्प गइरहेको अवस्थामा भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई यति भन्न सकियो — चर्केको र जीर्ण घरमा नबसौँ । त्यसपछि आफ्नो घरको संरचना हेरी सतर्कता अपनायौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप