मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

दुई दिने ‘फलेवास काव्ययात्रा’ सम्पन्न

सोमबार, २० कात्तिक २०८०, १४ : ३२
सोमबार, २० कात्तिक २०८०

पर्वत । साहित्य सिर्जनाका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । 

प्रतिष्ठानका नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारी  थिए । 
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसासका पदाधिकारीहरू सर्वज्ञ वाग्ले, रेणुका सोलु, सरिता अर्याल, महेश्वर पन्त, सन्ध्या पहाडी, नवीनकुमार श्रेष्ठ, प्रतिष्ठानका संरक्षक गोविन्द पन्त (कालीभक्त पन्तका साहिला छोरा) को विशेष उपस्थिति थियो । 

सो कार्यक्रममा साहित्यकार महेश्वर पन्तको कविता सङ्ग्रह ‘उडेको पैताला’ को लोकार्पण समेत गरिएको थियो । उक्त कृतिको विमोचन प्रमुख अतिथि गङ्गाधर तिवारीले गरेका थिए भने समीक्षात्मक मन्तव्य सुरेन्द्र अस्तफलले गरेका थिए । कार्यक्रमको उद्देश्य र महत्त्वमाथि साहित्यकार महेश्वर पन्तले प्रकाश पार्दै अतिथिहरूलाई स्वागत गरेका थिए । 

कार्यक्रममा राजेन्द्र केसी, गङ्गाधर तिवारी, सर्वज्ञ वाग्ले, रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, सन्ध्या पहाडी, सञ्चारकर्मी आरके अदीप्त गिरीलगायतले शुभकामना दिएका थिए । 

अनेसास नेपाल च्याप्टरकी निवर्तमान उपाध्यक्ष साहित्यकार गीता कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको दोस्रो सत्रमा विभिन्न कविहरुले आआफ्नो रचना वाचन गरेका थिए । 
सो कार्यक्रममा दुर्गाबहादुर शाह ‘बाबा’, इन्दिरा ढकाल, मदनकुमार थापा, विक्रमभक्त जोशी, गणेश श्रमण, रमेश दाहाल, उदय अधिकारी, लेखराम सापकोटा, पदम अर्याल, सूर्यप्रकाश कँडेल, देवेन्द्र केसी ‘देबु’,

सरस्वती गौतम, आरजु विष्ट सल्यानी, आरके अदीप्त गिरी, असफल गौतम, दुर्गा अधिकारी, मनिला वन्त, गीतकार प्रकाश सुवेदीलगायतको उपस्थिति थियो । 
त्यसै गरी कार्यक्रममा लोकगायक विमलराज क्षेत्री, सङ्गीतकार नरहरि प्रेमी, गायिका ऋतु कँडेलको साङ्गीतिक प्रस्तुतिसमेत गरेका थिए । 

शुभकामना दिने क्रममा नगरप्रमुख गङ्गाधर तिवारीले सर्जक तथा साहित्यकारहरूलाई स्थानीय तहमा ल्याएर कार्यक्रम गर्दा सो ठाउँको बारेमा प्रभावकारी प्रचार प्रसार हुने हुँदा यस्ता कार्यक्रम बेलाबखत ७५३ वटै स्थानीय तहले आफ्नै पहलमा पनि गर्नुपर्ने कुरामा जोड दिँदै आफ्नो कार्यकालमा निरन्तरता दिनेसमेत प्रतिबद्धता जाहेर गरेका थिए । 

कार्यक्रम पर्वतको फलेवासमा रहेको ‘कालीभक्त पन्त स्मृति प्रतिष्ठान’ को संयोजनमा प्रतिष्ठानकै हलमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मुक्तककार निशा केसीले गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप