युवा पुस्तामा किन बढ्दैछ हृदयघात ?
काठमाडौँ । पछिल्लो समय युवायुवतीहरूमा हृदयघात हुने क्रम बढेको छ । यसैका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । सामाजिक सञ्जालहरूमा हृदयघातका कारण आफन्त साथीभाइको मृत्यु भन्दै श्रद्धाञ्जलीका पोस्टहरू बढेको महसुस तपाईँ हामीले महसुस गरिनै रहेका छौं ।
कोरोना भाइरसको संक्रमणले हाम्रो शरीरमा ल्याएको उथलपुथल लगायत अन्य कारणले युवा पुस्तामा हृदयघात बढेकोतर्फ एकथरीले औँल्याइरहेका छन् ।
नाच्दानाच्दै वा व्यायाम गरिरहेका बेलामा समेत मृत्यु भइरहेका खबर आइरहेका छन् । नवरात्रीका बेलामा भारतको गर्बा कार्यक्रममा हृदयघातका कारण ३० जनाको मृत्यु भएको घटना ताजै छ । सो घटनामा मर्नेमध्ये धेरैको उमेर १३ देखि २५ वर्ष बिचको थियो । व्यायामका क्रममा कार्डियाक एरेष्टकै कारण युवा सेलिब्रेटीहरुको मृत्यु भइरहेको खबर पनि बेला बेलामा आइरहेका छन् ।
बानी नै नभएकाहरूले एकैचोटी गाह्रो व्यायाम गर्ने, थेग्न सक्नेभन्दा बढी परिश्रम गर्नेहरूलाई हृदयघातको सम्भावना उच्च हुन्छ । रक्त धमनीहरूमा माइल्ड ब्लकेज भयो र रगत जम्ने वा ब्लड क्लटिङ बढाउने खालका औषधिको सेवनले पनि हृदयघात हुनसक्ने चिकित्सकहरू बताउँछन् । फ्यामिली हिष्टी, जन्मजात बिरामी वा सानो उमेरमा देखिएका केही समस्याहरूले पनि युवा अवस्थामा हर्ट अट्याक हुन सक्छ ।
युवा पुस्तामा मुटुको समस्या बढ्नुको कारण के होला ?
अहिलेको जीवनशैली निकै तनावयुक्त छ । धेरैले आफ्नो लागि समय छुट्याउँदैनन्, छुट्याउनै भ्याउँदैनन् । आफ्नो लागि समय थोरैसँग मात्रै छ । भागदौड र भ्याइनभ्याइबीच पछिल्लो समय युवाहरुमा अनेकौँ शारीरिक र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ ।
मधुमेह, मोटोपना र हाइपर टेन्सन आदि पनि थपिँदा समस्या जटिल बनेको छ । अस्वस्थ जीवनशैलीका कारण कलिलो वा सानो उमेरमै मुटुको रोग देखिन थालेको छ । तुलनात्मक रूपमा स्वस्थ जीवनशैली भएका अनि फिट मानिएकाहरूको पनि हृदयघातका कारण मृत्यु भएका केही घटनाहरू छन् ।
केही दशक अघिको तुलनामा अहिले युवा पुस्तामा मुटुको समस्या चिन्ताको विषय बनेको छ । व्यायामको अभाव, पोषणयुक्त खानपानको अभाव, कम फाइबरयुक्त खानाको सेवन र उच्च कार्बोहाइड्रेट खपत, प्रशोधित खानेकुरा, धूम्रपान र मद्यपान, अबेर सुत्ने बानी र अपुरो निद्रा अनि वातावरणीय प्रदूषण सबैले यो समस्यालाई बढाइदिएको छ ।
मधुमेह र हाइपटेन्सनको पहिचान नहुँदा महसुसै नभइकन मुटुको रोग लागिसकेको स्थिति छ । धेरैको मामिलामा समय घर्किसक्दा मात्रै रोग पत्ता लागिरहेको छ । कुनै लक्षण नै नदेखिनेहरूमा पनि मुटुको समस्या भेटिएको छ । विशेषगरी परिवारका अन्य कुनै सदस्यमा मुटु रोग वा यसका जोखिम तत्त्वहरू भएको व्यक्तिमा यसको सम्भावना उच्च छ ।
मुटुमा जोखिम उत्पन्न गराउने चिज के हो ?
मुटु रोगका जोखिम तत्त्वहरू अनेकौँ छन् । मधुमेह, उच्च रक्तचाप, खैनीजन्य सामाग्रीको प्रयोग, उच्च कोलेस्ट्रोल, निष्किृय जीवनशैली आदिले मुटुलाई जोखिममा पार्ने स्वास्थ्य विज्ञहरूको भनाई छ । अत्यधिक तौल वा मोटोपना, खानपानमा ध्यान नदिनु अनि तनाव पनि यसका कारण हुन् ।
छातीमा दुखाई बढ्यो, अप्ठ्यारो महसुस भयो, सास फेर्न कठिनाइ भयो भने मुटु रोगको सङ्केत हुनसक्छ । घाँटी, बङ्गारा, गला र माथिल्लो पेट वा डाढमा अप्ठ्यारो महसुस भइरह्यो, शारीरिक वा मानसिक तनावका बेलामा हातमा पीडा भयो वा झम्म भयो भने मुटुसँग सम्बन्धित समस्याको सङ्केत हुनसक्छ । यस्तो बेलामा तत्काल स्वास्थ्य परीक्षणका लागि चिकित्सककहाँ पुग्नुपर्छ ।
कोभिडले नै बढाएको हो त मुटुरोग ?
विश्वभर भएका कयौँ अध्ययनहरूले कोभिड र मुटुको स्वास्थ्यमा बढेको समस्याबिच सम्बन्ध देखाउने कोसिस गरेका छन् । यसले अनेकौँ समस्या निम्त्याइरहेको ती अध्ययनहरूले औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत