आफ्नो स्वास्थ्यको परीक्षण आफैँ कसरी गर्ने ?
परीक्षण भन्नेबित्तिकै हामीलाई ठूलै अनुसन्धानको काम हो भन्ने लाग्न सक्छ । पहिलो परीक्षण हामी इन्द्रीयमार्फत आफैँ गरिरहेका हुन्छौँ — देख्छौँ, सुन्छौँ, चाख्छौँ, सुघ्छौँ र छाम्छौँ पनि । यिनै तरिकाद्वारा भएको परीक्षणको सहायताले हामी सबैको जिन्दगी अगाडि बढिरहेको हुन्छ । जिन्दगी चलाउनु र जीवन बाँच्नुमा धेरै अन्तर छ । यसलाई हामीले गहिरोसँग बुझ्नुपर्छ ।
शरीरमा केही गडबडी देखिएपछि हामी डाक्टरकहाँ जान्छौँ । समस्या चाहे एलोप्याथिक होस् वा आयुर्वेदिक । मानौँ, हामी आयुर्वेदिक कहाँ पुग्यौँ । डाक्टरले अक्सर सोध्ने चार प्रश्न हुन्छन् । जाँचको सुरुवात हुन्छ, लामो र गहिरो श्वास लिनुस् भन्नेबाट । अनि प्रश्न आउँछ– निद्रा कत्तिको लाग्छ ? खान रुचि हुन्छ या हुँदैन ? बिहान एउटै समयमा शौच क्रिया हुन्छ या हुँदैन र भएमा खलास हुन्छ कि हुँदैन ?
यसबाट हामी सोझै बुझ्न सक्छौँ, सञ्चो व्यक्तिले मात्र लामो र गहिरो श्वास लिन सक्छ । मस्त निद्रामा जान शरीर हल्का र तनावरहित हुनुपर्छ । आफ्ना नियमित आहारको मात्रा लिने र पचाउने तागत स्वस्थ व्यक्तिमा मात्र हुन्छ ।
समयमा शौच कार्य हुने वा नहुने प्रश्न जुन छ, शरीर स्वस्थ हुन मन पनि स्वस्थ हुनुपर्छ । छाती खराब भएकाले श्वास लिन मुस्किल, ननिदाउनेले खाएको पचाउन मुस्किल, खाना नपच्दा पखाला कि कब्जियत हुने भइहाल्यो । यति चार कुरा थाहा पाउन के डाक्टरको सेवा चाहिएला ? रोगका फ्याक्ट्री मुख्य रूपमा पेट, छाती र टाउको हुन् भन्ने हामी सबैलाई थाहा छ । यति परीक्षण त हरेक २४ घन्टामा आफैँ गर्न सक्छौँ ।
घाउ आउँदा वा चोटपटक लाग्दा, शरीरको भित्री भागमा गम्भीर रोग उब्जेका बेला विशेषज्ञको सेवा लिन नजाने भनेको होइन । माथिका चार प्रश्नको उत्तर सबै ठिकठाक हुँदाहँुदै स्वास्थ्यमा गडबडी आएमा जानुपर्ने हुन्छ तर हाम्रो स्वास्थ्य सामान्य कुराले बिगारिरहेको हुन्छ । अर्थात् हामीलाई सहज वा असहज बनाइरहेको हुन्छ ।
एउटै भान्छाको खाना खाने परिवारमा कोही स्वस्थ छन्, कोही छैनन् । जुनसुकै अन्न वा फलमा केही न केही गुण हुन्छ नै । त्यसमा भएको गुण हाम्रो शरीरसँग मिलेमा हितकारी, नमिलेमा अहितकारी हुने भयो । यस्तो परीक्षण गर्न के डाक्टर तथा वैद्यकहाँ गएर साध्य होला ? आफैँले थाहा पाउनुपर्छ ।
हाम्रो ध्यान यस्तो परीक्षण गर्नुभन्दा अर्काको पछि लाग्ने वा विश्वास गर्नेतर्फ लागिरहन्छ । जस्तोः कसैलाई प्रोस्टेट भएकामा सिप्लिकानको बोक्रा खाँदा ठिक भयो रे, कसैलाई शिलाजितले भयो रे, कसैलाई केले । यस्तोमा हामीले त्यस व्यक्तिको शरीरको प्रकृति कस्तो थियो भन्ने विचार गर्दैनौँ । आयुर्वेद शास्त्रका अनुसार मानिसको शरीर कफ, पित्त र वात गरी तीन प्रकृतिको हुन्छ । केही विचार नगरी अन्धाधुन्द रूपमा अरूले खाएको औषधि सेवन गर्दा शरीरमा असामान्य अवस्था पैदा हुन सक्छ ।
एउटै भान्छाको खाना खाने परिवारमा कोही स्वस्थ छन्, कोही छैनन् । जुनसुकै अन्न वा फलमा केही न केही गुण हुन्छ नै । त्यसमा भएको गुण हाम्रो शरीरसँग मिलेमा हितकारी, नमिलेमा अहितकारी हुने भयो । यस्तो परीक्षण गर्न के डाक्टर तथा वैद्यकहाँ गएर साध्य होला ? आफैँले थाहा पाउनुपर्छ । त्यसमथि पनि खानाको कारणले मात्रै स्वास्थ्य राम्रो हुने वा नहुने भन्ने होइन । शारीरिक दैनिक परिश्रम, व्यायाम, प्राणायाम र ध्यानले पनि फरक पार्छ । बसोवास गरिरहेको स्थानको हावापानी, मौसम, व्यक्तिको उमेर तथा सोच–विचारले पनि शरीरको अवस्थालाई फरक पारिरहेको हुन्छ ।
भनिन्छ, हाम्रो शरीरमा अनगिन्ती कोष छन् । तिनका काम अनुसार पाँच प्रकारका नाम दिइएका छन् । त्यस्तै गरेर वायुहरूको पनि पाँच प्रकारका नाम र काम बताइएको छ । हाम्रो खाना, व्यायाम, सोच, व्यवहारले यी कोष र वायुहरूलाई पोषण वा कुपोषण दिइरहेका हुन्छन् । उही खाना कुनै समय पोषण बन्छ भने कुनै समय कुपोषण । त्यस्तै एउटै प्रकारको खानाले पनि सबैलाई, सबै समय, एकै प्रकारको असर पर्छ भन्ने छैन ।
वायु र कोषको विषयमा पछि छुट्टै चर्चा गरौँला । यस लेखको तात्पर्य आफ्नो परीक्षण आफैँ गरौँ भन्ने हो । माथि गरिएको छोटो चर्चा शारीरिक स्वास्थ्यसँग सम्बन्धित रह्यो ।
हाम्रो स्वास्थ्य अवस्थालाई सोझै बाहिर देखाउने काम शरीरमार्फत हुन्छ । त्यही भएर हामीले स्वास्थ्यका सम्बन्ध शरीरसँग जोडेर मात्रै बुझ्छौँ । वास्तवमा यो बाहिर देखिएको शरीरमा मन, भावना, चेतना अन्तर्निहित छन् । कुनै बेला हामीलाई केही कुराले रिस उठ्छ । कहिलेकाहीँ उही कुराले पनि केही प्रभाव पार्दैन । त्यस्तै, हामीमा अहङ्कार हुनहुन्न भन्ने सबैलाई थाहा छ तर कहिलेकाहीँ आइहाल्छ । अहङ्कार बढाउने केही कारण हुन्छन् । वास्तवमा भएको कुरा लुकाउन खोज्नु र नभएको कुरा देखाउन खोज्नु अहङ्ककारको काम हो । जो व्यक्ति आफूू कमजोर हुन्छ उसलाई अरूले भनेका कुराले छुन्छ अर्थात् तरङ्गित पार्छ भनिन्छ । जस्तो ः अग्लोलाई डल्ले भनेर, गोरोलाई काले भनेर सम्बोधन गर्दा उसलाई रिस उठ्दैन । डल्लेलाई डल्ले र कालोलाई काले भनेपछि उसको रिसको पारो माथि उठ्छ । खासमा हामी आफ्नो अवस्था यही हो भनेर स्वीकार गर्न सकिरहेका हुँदैनौँ । त्यसैले कि रिसाउँछाँै कि चित्त दुखाउँछौँ । रिसाउनु वा चित्त दुख्नु यी दुवै भिन्न रूपमा देखिएका अहङ्कार नै हुन् ।
वास्तवमा रिस उठ्नु र चित्त दुख्नु एउटै कुरा हो । रिस पनि आफूलाई अमुक व्यक्तिले त्यस्तो किन भनेको भनेर उठ्छ । गरिब देखेर, होँचो, कालो वा अनपढ देखेर यस्तो भन्यो भनी चित्त दुखाएको पनि देखिन्छ । यस्तै उन्नति देखेर भन्यो, सम्पत्ति देखेर भन्यो, राम्रो वा राम्री देखेर भन्यो पनि भन्छौँ । खासमा भन्नेले किन भन्यो थाहा छैन । हामी आफैँ अर्थ किन लगाउँछौँ त भन्दा हामीमा आफ्नो अवस्था र स्थितिको स्वीकार भाव छैन । अर्थात् आत्मबलका कमजोर छौँ ।
त्यसैले अर्काको परीक्षण होइन । आफ्नै परीक्षण र विश्लेषण गरौँ । मूूल्याङ्कन पनि आफ्नै गरौँ, अर्काको होइन । आफ्नो मनलाई दुःखी वा सुखी बनाउन अर्काको भर नपरौँ । आफ्नो मनको रिमोट अर्काको हातमा नदिऊँ । जो अर्को मान्छे छ, ऊ आफ्ना मनोदशा अनुसार बोल्ला, भन्ला वा गर्ला । अर्काको मनोदशा अनुसार बहेर आफूू पीडित किन बन्ने !
बाहिरको संसार हेर्ने आँखा बन्द गरेर भित्रको संसार हेरौँ । म केमा कमजोर छु, बलियो कसरी बन्ने ? नियालौँ आफ्नो अवस्था । अर्काको साथ र सहयोग लिन पनि पहिला आफैँ बलियो बन्नुपर्छ । यो कुरा कहिल्यै नबिर्सौं । कसैले कसैलाई बलियो बनाइदिएर हुँदैन । बलियो बन्ने बिउ आफैँसँग छ । त्यसैलाई जगाएर आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सपारौँ । चेतनागत स्वास्थ्य आफैँ सप्रन्छ । हामी खाफूलाई र समाजलाई यस्तै व्यक्ति चाहिएको छ ।
(पण्डित जीवन विज्ञानकी प्रशिक्षक हुन् ।)