भेरी नदी किनारका अधिकांश बस्तीका कच्ची घरमा बढी क्षति
खलंगा (जाजरकोट) । भेरी नगरपालिका–१, रिम्ना बजार क्षेत्र समथर छ । भेरी नदीसँगै जोडिएको यो बस्तीका अधिकांश पुराना र कच्ची घरहरूमा भूकम्पले क्षति पुर्याएको छ । यहाँका ९० प्रतिशत घर पूर्ण रूपमा ध्वस्त छन् भने आंशिक रूपमा क्षति पुगेका घर घर पनि बस्न लायक छैनन् ।
शुक्रबारको भूकम्पबाट रिम्नाका ८ जनाको मृत्यु भयो भने केही घाइते भए । मृत्यु भएका र घाइते भएका अधिकांशको घर ढुंगा र काठले बनेका मात्रै छन् । यद्यपि त्यही बजारमा रहेका पक्की घरमा कुनै क्षति भएन । रिम्ना बजारमा घर भएका माओवादीका नेता गगन खड्काले बस्तीका करिब दुई सय घरमा क्षति पुगेको सुनाए ।
‘यहाँका सबै कच्ची घरमा क्षति भएको छ,’ उनले भने, ‘जनताको बेहाल अवस्था छ, पीडितमा रोदन छ । तर, प्रायः ठुला नेताहरू यहाँ गाडीका लावालस्करका साथ आउने र जानेमात्र गरिरहेका छन्, यो कुरा फिटिक्कै मन परिरहेको छैन ।’
भेरी नदीसँगै जोडिएको रावत गाउँमा पनि अधिकांश परम्परागत कच्ची घर ध्वस्त भएका छन् । अगुवा मधुकर नेपालीका अनुसार पुराना शैलीका कुनै पनि घर बस्न लायक छैनन् ।
‘करिब दुई सय घरमध्ये ९० प्रतिशतभन्दा बढी परम्परागत शैलीका घर छन्, त्यसमध्ये सबै घरमा क्षति पुगेको छ,’ उनले भने, ‘अहिले सबै नागरिक खुला आकाशमुनि बसिरहेका छन्, कोही प्लास्टिकको टनेलमा छन् भने कोही सडक किनारमा पराल ओछ्याएर बसिरहेका छन् ।’ रावत गाउँका ६ जनाको मृत्यु भएको छ ।
यी केही उदाहरण मात्र हुन्, नदी आसपासका जाजरकोट र रुकुम पश्चिम अन्तर्गत पर्ने अधिकांश बस्तीका कच्ची घरमा कोही भत्किएका छन् भने कोही चर्किएको अवस्थामा छन् । यहाँ रुकुमतर्फ बाँके जिउला, भल्मा, घेत्मा, चिसापानी लगायतका बस्ती पर्छन् भने जाजरकोटतर्फ कालिमाटीसम्म बगरा, पाली, कलपट, चिउरी, डाँडा गाउँ, दल्ली लगायतका बस्ती छन् । यी सबै बस्ती भूकम्पबाट प्रभावित छन् ।
भेरी नदी वारी र पारी अग्ला गगनचुम्बी पहाड । नदी किनारमा भेरी करिडोर । करिडोरको ठाउँ–ठाउँमा स–साना बस्ती छन् भने सडकभन्दा माथि पहाडको खोँचहरुमा पनि बस्ती छरिएका छन् । यिनै बस्तीमा मृतकको सङ्ख्या बढी पाइयो ।
रिम्नाको पुल तरेर पारी छ– रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, को छेपारे । छेपारेको बिचमा भेरी करिडोर छ, करिडोरका दुई किनारामा भएका सबै कच्चीघर पूर्ण रूपमा ध्वस्त छन् । ४० घरधुरी रहेको बस्तीका कुनै पनि घर बस्न लायक नभएको स्थानीय प्रदीप विक बताउँछन् । यो बस्तीका ११ जनाको मृत्यु भएको छ ।
यहाँ एउटै परिवारका चार जनाको मृत्यु भएको छ । सरस्वती जैशीकी बुहारी, एक नाति र दुई नातिनीको मृत्यु भयो भने घरमा च्यापिएकै अवस्थामा सरस्वतीको उद्धार हुँदा बाँच्न सफल भइन् । यो बस्तीको बिचमा रहेको भेरी करिडोरको कार्यालयमा कार्यरत दुई जनाको पनि मृत्यु भयो । यहाँका गम्भीर तीन जना घाइते अस्पतालमा उपचाररत छन् । सडकभन्दा केही माथि पहाडको खोँचमामा रहेका कुनै पनि घर बाँकी छैनन्, सबै ध्वस्त छन् ।
छेपारेभन्दा माथि नलगाड नगरपालिका–१ का बस्ती कोही नदीको आसपास छन् भने कोही माथि पहाडको खोँचमा छन् । ती बस्तीको जमिनसमेत चर्किएको छ । उसो त नदी आसपासको भेरी करिडोर र नदी वारीपारी थुप्रै ठाउँमा भूकम्पले पहिरो नै गएको छ ।
हेर्दा निकै सुन्दर लाग्ने यी बस्ती भूकम्पका कारण उजाड छन् । नलगाड–१, चिउरीको १८६ घरधुरी रहेको दलित बस्तीका १३ जनाले ज्यान गुमाउँदा केही गम्भीर घाइते भए । विशेषगरि यो बस्ती सबैभन्दा बढी प्रभावित बस्ती हो । यहाँ आइतबारसम्म सरकारी निकायदेखि गैरसरकारी निकाय र सबैको उपस्थिति रह्यो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारी पनि त्यहाँ पुगेका थिए । उनले पनि नदी आसपासका क्षेत्रमा बढी क्षति भएको विषयमा अध्ययन गरिनुपर्ने बताए ।
धेरैले मुख्य कारण कमजोर भौतिक संरचना भएकै कारण बढी क्षति भएको बताएका छन् । पछिल्लो विवरण अनुसार जाजरकोटमा ९०५ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई हजार ७४५ घरमा आंशिक क्षति भएको छ । घरधुरीको सङ्ख्या भने आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दियो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्त लम्सालले प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार एक सय घरमा आंशिक क्षति भएको बताए । दुई हजार घर पूर्ण रूपमा क्षति भएको उनको भनाइ छ ।
के चाहन्छन् भूकम्पबाट प्रभावितहरू ?
भूकम्पबाट प्रभावितहरू तत्कालका लागि बासको व्यवस्था चाहन्छन् । त्यो भनेको खाद्यान्न, अन्नपात र लत्ता कपडा । भूकम्पले घरमा क्षति पुर्याएपछि अधिकांशको बास खुला आकाश मुनि छ भने सम्पूर्ण जायजेथा घरमा चापिएको छ । आंशिक क्षति भएकाहरूले आफ्नै सामग्रीहरू प्रयोग गरिरहे पनि पूर्ण रूपमा घर भत्किएकाहरूले सामान निकाल्नसमेत सकेका छैनन् ।
अधिकांश प्रभावितले खाद्यान्न, लत्ता कपडा र ओढ्ने–ओछ्याउनेको अभाव रहेको बताए । अहिले प्रभावित क्षेत्रका नागरिकहरू राहतको पखाइमा छन् । तर, जिल्ला प्रशासनबाट एकद्वार प्रणालीबाट वितरण गर्ने भनेपछि नागरिकहरूले राहत पाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय
-
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने