शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भाग्यले बाँचेका आमाहरु !

एउटा नाति, दुई नातिनी र बुहारी गुमाएर आफू बाँचेकी सरस्वती भन्छिन्— यो भुइँचालोले सबै लुटेर गयो
आइतबार, १९ कात्तिक २०८०, २१ : ४४
आइतबार, १९ कात्तिक २०८०

सुर्खेत । ‘कपाल जोगाउनुपर्छ भनेर सुतेका बेला ओछ्याएका–ओढेका कपडा कपालमा राख्दै दौडिएरमात्रै भाग्न सफल भयौँ, हामी त भाग्यले बच्यौँ बाबु,’ नलगाड नगरपालिका–१, चिउरीकी ७२ वर्षीय वृद्धा दिउँकला विकले शुक्रबार मध्यरातको भूकम्प आउँदाको अवस्था सुनाइन् ।

त्यस रात भाग्यले बाँचेको बताउँछिन् उनी । भूकम्प आउने बेला पूरै गाउँ मस्त निद्रामा थियो । दिउँकलाको परिवारका पनि सबै निदाइसकेका थिए ।

दुई नाति, तीन नातिनी, छोरा बुहारीसहित ८ जना परिवारकी धनी दिउँकलालाई भूकम्पको यो रुप थाहा थिएन । उनलाई यत्ति थाहा थियो, बेला–बखत घर हल्लने गरी आउने भुइँचालो हो । उनी भन्छिन्, ‘भुइँचालो आउँथ्यो तर, यसरी मान्छे मार्नेगरी पनि भुइँचालो आउने छ भनेर मलाई कहिल्यै थाह भएन । हाम्रो त सबै उजाड बनाइदियो ।’

उनका अनुसार घरमाथिबाट माटो शरीरमा पर्न सुरु गरेपछि मात्रै भुइँचालो आयो कि क्या हो भन्ने लागेको हो । तर, आफू बिउँझिनेबेलासम्म घरको पछाडिबाट भत्किन सुरु भइसकेको दिउँकला बताउँछिन् ।

दिउँकलाको दुई तले घर थियो । ढुंगा, माटोबाट बनेको उक्त घरमा चार वटा कोठा थिए । पछाडिबाट भत्किन सुरु भए पनि दिउँकलाले कोलाहल गरिन् र सबैलाई उठाइन् । त्यसपछि स–परिवार ढोकाबाट बाहिर निस्कन सफल भए ।

‘म त माथिल्लो तलामा थिएँ, माथिबाट माटो र पछाडिबाट घर चर्किएर भत्किन सुरु भइसके छ, सबैभन्दा पहिला कपाल जोगाउनुपर्छ भनेर कपालमा कपडाहरु राखेँ,’ उनी भन्छिन्, ‘त्यसपछि मूल ढोकातर्फ आएँ र भाग्न सफल भएँ ।’

उनी त्यतिबेलाको अवस्थालाई सोच्न पनि सक्दिनन् । भुइँचालो आएको यसअघि पनि थाह पाएको तर यस्तो खालको भुइँचालो आएको आफूलाई कहिल्यै थाहा नभएको दिउँकला बताउँछिन् ।

घर पूरै भत्किएर अन्नपानी, लत्ता–कपडा सबै छापिएको उनको भनाइ छ । यद्यपि केहीदिन अघि घट्टबाट पिसेर ल्याएको पिठो भने घर बाहिर नै राखिएकाले शनिबार र आइतबारसम्म त्यसैले छाक टार्ने काम भएको उनले बताइन् ।

भाग्यले नै बाँचेकी अर्को वृद्धा महिला हुन्, रुकुम पश्चिमको आठबिसकोट नरपालिका–१४, छेपारेकी ६१ वर्षीय सरस्वती जैशी । भत्किएको घरमा पुरिएर पनि बाँच्न सफल भएकी हुन् उनी ।

त्यो पल उनी सम्झन पनि सक्दिनन् । बुहारी, एउटा नाति (२ वर्ष), दुई नातिनी (८–६ वर्ष) गुमाएकी उनका छोरा भने रोजागारीका लागि भारतमै छन् ।

त्यस रात दोस्रो तलाको कोठामा सुतिरहेकी थिइन् उनी । एक्कासी आएको भुइँचालोले घर पूर्ण रुपमा ध्वस्त भयो । अरु सबैको निसास्सिएर मृत्यु भयो तर, उनी टाउकोमाथि काठ तेर्सो परेकाले जोगिन सफल भइन् । त्यहाँमाथि पूरै काठले पुरिएको थियो । उनीभित्र चिच्याएको गाउँका केही युवाले सुने । त्यसपछि उद्धार गरेर भाग्यले बाँचिएको उनी बताउँछिन् ।

‘बरु म बुढी मरे पनि हुने थियो, मेरा लालाबाला बाँचेको भए हुने,’ उनी भन्छिन्, ‘यो भुइँचालोले सबै लुटेर गयो ।’

उनलाई उद्धार गरेका युवा प्रदिप विक भन्छन्, ‘उहाँको आवाज आएपछि मैले खन्न लगाएँ, जेसीबी ल्याएँ र १ बजेतिर उहाँलाई निकालेका हौँ ।’

अरुको निसास्सिएर मृत्यु भइसकेको उनले बताए । बिहान नौ बजेतिर रातोपाटी प्रतिनिधि त्यहाँ पुग्दा उनी भत्किएको घरभित्रको केही सामग्रीहरु पाइन्छ कि भनेर खोतल्दै थिइन् ।

उनलाई खासै चोट पटक पनि लागेको छैन । घटनापछि उनको छोरा भारतबाट घर आउँदैछन् ।

जैशीकै घरभन्दा केही पछाडिकी गीता पुन (५९) पनि आफू भाग्यले नै बाँचेको बताउँछिन् । ६ वर्ष अगाडि उनले टिन लगाएको, माटो र ढुंगाबाट बनाएको घर साढे ६ लाखमा किनेकी थिइन् । उक्त घर अहिले भूकम्पले ध्वस्त पारेपछि उनलाई कम्ता पीडा छैन । तर, घरभन्दा पनि आफू बाँच्न सफल भएकोमा खुसी व्यक्त गर्छिन् उनी ।

नाङ्लोमा चामल केलाउँदै गरेको अवस्थामा भेटिएकी उनले ध्वस्त भएको घरभित्रबाट चामल निकालेकी रहिछन् । ढोका नजिक भएकाले चामल निकालिएको र बाँकी सबै अन्नपानी, लत्ता कपडा निकाल्न सकिने अवस्था नरहेको उनले बताइन् ।

उनीसँगै उनका छोरा पनि थिए भने छोरी नेपालगञ्ज गएकी रहिछन् । श्रीमान् भने ८ महिना अगाडि बितेको उनले सुनाइन् ।

गीताका अनुसार त्यही दिन गाउँभन्दा अलि पर एउटा मेला लागेको थियो । ‘मेलाबाट आएर बाबु त्यो कोटामा सुतेको थियो, म यो कोठामा सुतेकी थिएँ,’ भत्किएको घर देखाउँदै उनले भनिन्, ‘हामी मेलाबाट आई सुत्नै लाग्दा भुइँचालो आयो ।’

छोराले ग्यारेजमा काम गरेर कमाएको पैसाले जोडेको जायजेथा सबै भुइँचालोले उजाड बनाएपछि उनी निकै दुःखी छिन् । शनिबार उनीहरुले नजिकैको खेतमा रात बिताए । अर्को घरको पाल थियो, त्यही टाँगेर बसिरहेको उनले बताइन् ।

यद्यपि भेरीको चिसो सिरेटोका कारण जाडो बढेकाले तत्काल ओढ्ने–ओछ्याउने र लगाउने कपडा आवश्यक रहेको उनको भनाइ छ । अहिलेसम्म त्यहाँ कुनै राहतको सामग्री पुग्न सकिरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप