बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कृषि

गहुँ बाली लगाउने किसानलाई टिप्स : तराई र पहाडमा कुन–कुन जातको बिउ राम्रो ?

साढे तीन दशकमा १९ जातको गहुँ सिफारिस
आइतबार, १९ कात्तिक २०८०, १६ : ३८
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । नेपालको प्रमुख खाद्य बालीमध्ये एक हो गहुँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले २०४२ सालदेखि २०७७ को बिचमा १९ वटा गहुँ बाली सिफारिस गरेको छ । तराई, भित्री मधेस, समुन्द्र सतहदेखि २ हजार २ सय ९० मिटर उचाइसम्ममा गहुँ खेती गरिन्छ । 

हिउँदे बालीको रूपमा गरिने गहुँ खेती कार्तिक तेस्रो सातासम्म (नोभेम्बर १ देखि डिसेम्बरसम्म) छरेमा उत्पादन राम्रो हुने गहुँ प्रजनक खेमराज पन्त बताउँछन् । 

उनका अनुसार तराई क्षेत्रमा मंसिर पहिलो सातादेखि मंसिर तेस्रो साता (नोभेम्बर २० देखि डिसेम्बर ५) तथा पहाडमा भने कार्तिक तेस्रो सातादेखि मंसिर पहिलो साता (१ नोभेम्बरदेखि २० नोभेम्बर) सम्म गहुँ छरिसक्नुपर्छ ।

तराईदेखि पाँच सय मिटर उचाइमा यी पाँच गहुँका बिउ

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तराईदेखि पाँच सय मिटर उचाइसम्मका लागि पाँच वटा गहुँ बाली सिफारिस गरेको छ । जसमा नेपाल २९७, गौतम, आदित्य, एनएल ९७१ र विजय जातको गहुँ रहेको छ । 

नेपाल २९७ गहुँ रोपेको १ सय १७ दिनमा पाक्ने र प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन हुन्छ । गौतम गहुँ करिब साढे ३ मेट्रिक टन प्रतिहेक्टर उत्पादन दिन्छ । यो गहुँ रोपेको १ सय १९ दिनमा तयार हुन्छ । 

यस्तै, आदित्य, एनएल ९७१, विजय गहुँबाट साढे ४ मेट्रिक टन बढी उत्पादन हुन्छ । आदित्य बाली १ सय १८ दिनमा, एनएल ९७१ गहुँ १ सय २२ दिनमा, विजय १ सय ११ देखि १ सय २३ दिनमा तयार हुने नार्कले जनाएको छ । 

तराई, भित्री मधेसदेखि आठ सय मिटर उचाइसम्म कुन गहुँ रोप्ने ? 

तराई र भित्री मधेसदेखि आठ सय मिटर उचाइका लागि नार्कले जिङ्क–१, जिङ्क–२, बोर्लोग–२०२० र बिएल ४३४१ गरी चार वटा गहुँको जात सिफारिस गरेको छ ।

१ सय २१ दिनमा तयार हुने जिङ्क गहुँ–१ को प्रतिहेक्टर ५ मेट्रिक टन उत्पादन हुन्छ । जिङ्क गहुँ–२ ले प्रतिहेक्टर ५ दशमलव ७५ मेट्रिक टन उत्पादन हुन्छ । यो गहुँ छरेको १ सय १९ दिनमा पाक्छ ।  

यस्तै, बोर्लोग–२०२० गहुँ १ सय २० दिनमा तयार हुन्छ, यसको उत्पादन प्रतिहेक्टर ५ मेट्रिक टन हुन्छ । यस्तै, बिएल ४३४१ गहुँ पाक्ने समय उल्लेख गरिएको छैन । यसको उत्पादन प्रतिहेक्टर ५ मेट्रिक टन हुन्छ । 

१७०० देखि २२९० मिटर उचाइका लागि कुन कुन गहुँ ?

नार्कले १७०० देखि २२९० मिटर उचाइ सम्मका उच्च पहाडी क्षेत्रका लागि मुडुले १, तिला र हिमगंगा गरी २०७७ सालमा गहुँको तीन जात सिफारिस गरेको छ । 

मुडुले १ गहुँ १ सय ८१ दिनमा तयार हुन्छ । यो ३ दशमलव शून्य ७ मेट्रिक टन उत्पादन हुन्छ । तिला गहुँ छरेको १ सय ९१ दिनमा पाक्ने नार्कले जनाएको छ ।  यसको उत्पादन ३ दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टर हुन्छ । 

त्यस्तै, हिमगंगा गहुँ छरेको १ सय ८१ दिनमा तयार हुन्छ ।  यसको उत्पादन प्रतिहेक्टर ४ दशमलव ५१ मेट्रिक टन हुन्छ । 

१००० देखि २२९० मिटर उचाइमा कुन जात छर्ने ? 

१००० देखि २२९० मिटर उचाइ सम्मका मध्य तथा उच्च पहाडी क्षेत्रका लागि कौटिला, सुर्मा र भेरीगंगा जात गहुँ २०७७ सालमा नार्कले सिफारिस गरेको छ । 

कौटिला गहुँ छरेको १ सय ५२ दिनमा पाक्छ भने यसको उत्पादन ३ दशमलब ६९ मेट्रिक टन प्रतिहेक्टर छ ।

सुर्मा गहुँ छरेको १ सय ८० दिनमा तयार हुन्छ । यो गहुँको उत्पादन क्षमता प्रतिहेक्टर ३ दशमलव ९८ मेट्रिक टन छ । 

त्यस्तै, भेरीगंगा गहुँ छरेको १ सय ६४ दिनमा पाक्छ । यो गहुँ ४ दशमलव ५६ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ  ।

१००० देखि १७०० मिटर उचाइमा कुन जात उपयुक्त ?

खुमलशक्ति गहुँ एक हजारदेखि १७ सय मिटर उचाइमा छर्न सकिने नार्कले सिफारिस गरेको छ । यो गहुँ १ सय ६५ दिनमा तयार हुन्छ । यो प्रतिहेक्टर ५ दशमलव ९ मेट्रिक टन उत्पादन हुने नार्कले जनाएको छ । 

सिञ्चित तथा अर्धसिञ्चित क्षेत्रमा बाणगंगा र स्वर्गद्वारी

सिञ्चित तथा अर्धसिञ्चित क्षेत्रमा बाणगंगा र स्वर्गद्वारी गहुँ बाली सिफारिस गरिएको छ । बाणगंगा जात २०७३ सालमा सिफारिस गरिएको हो । यो गहुँ तराई, टार, होचो उपत्यका सात सय मिटरसम्मको उचाइमा सिफारिस गरिएको हो । यो गहुँ छरेको १ सय १० दिनमा तयार हुन्छ । यसको उत्पादन ३ दशमलव ३ मेट्रिक टन प्रतिहेक्टर हुन्छ । 

स्वर्गद्वारी गहुँ पनि २०७३ मा नै सिफारिस गरिएको हो । यो गहुँ १ सय ६३ दिनमा तयार हुन्छ । यो प्रतिहेक्टर ३ दशमलव ३ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ । यो मध्य तथा उच्च पहाड (७०० देखि १४०० मिटरसम्म) सिञ्चित तथा अर्ध सिञ्चित क्षेत्र क्षेत्रमा सिफारिस गरिएको हो । 

मध्य पहाड र उच्च पहाडका लागि डब्लु के– १२०४ गहुँ नार्कबाट २०६४ सालमा सिफारिस गरिएको छ । यो गहुँ प्रतिहेक्टर ३ दशमलव ४ मेट्रिक टन उत्पादन हुन्छ । यो गहुँ १ सय ७९ दिनमा तयार हुन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप