साङ्गीतिक कार्यक्रमका अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कबाट सम्पर्कविहीन

काठमाडौंँ । साङ्गीतिक कार्यक्रममा अमेरिका पुगेका गायक हर्कुलस बस्नेत अमेरिकाको न्युयोर्कबाट सम्पर्कविहीन भएका छन् । साङ्गीतिक कार्यक्रमका लागि पहिलोपटक अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कको कार्यक्रममा सहभागी अगाडि नै फरार भएको अमेरिकाबाट सञ्चालित मिडिया मकैहाउस न्युज डटकमले जनाएको छ ।
मकैहाउसका अनुसार बस्नेत गत अक्टोबर ३१ मा बोस्टनको कार्यक्रम सकाएर न्युयोर्क पुगेका थिए । न्युयोर्कबाट नोभेम्बर १ मा साथी भेट्छु भनी गएर सम्पर्कविहीन भएका छन् । उनले नोभेम्बर ३ को कार्यक्रममा पनि सहभागी भएनन् । बस्नेतसँगै अमेरिका पुगेकी अस्मिता अधिकारीले भने कार्यक्रममा प्रस्तुति दिएकी छन् ।
न्युयोर्कको कार्यक्रम सहभागी पनि नरहेको, फोनमा जबाफ नदिने र टेक्स्ट म्यासेज हेर्ने तर प्रतिउत्तर नदिनुले उनी फरार भएको अनुमान गरिएको कार्यक्रम आयोजकमध्ये एक सरद युवराज सिंहले बताए । गायक बस्नेत फरार भएको विषयमा युएसए पोस्टले पनि समाचार बनाएको छ ।
गायिका अस्मिता अधिकारीका साथ बस्नेत पिथ्री (कलाकार) भिसामा अमेरिका पुगेका थिए । ‘दसैँ तिहार २०२३’ फेस्ट म्युजिकल युएसए यात्रा’ नाम रहेको कार्यक्रम दसैँ र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहर डल्लास, ओहायो, बोस्टन, न्युयोर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा तय गरिएको थियो ।
हर्कुलस डल्लास, एक्रोन ओहायो, बोस्टनको कार्यक्रमपछि फरार भएका हुन् । नोभेम्बर ५ मा क्यालिफोर्निया हुने कार्यक्रममा पनि बस्नेत सहभागी नहुने आयोजकको भनाई छ ।
यस विषयमा गायकसँग सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेका छैनन् । हर्कुलसको ‘के यो माया हो’, ‘माया संसार’, ‘हिजोभन्दा आज’ लगायत गीतहरू चर्चित छन् ।