सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

के को लागि थियो त्यो वलिदान

आइतबार, १९ कात्तिक २०८०, १२ : ५०
आइतबार, १९ कात्तिक २०८०

पराईको पट्यारलाग्दो
निर्जन भूमिमा
मन हराएका मान्छेको भुमरीमा फसे
पुग–नपुग दर्जन निर्दोष नेपालीको जीवन 
छिन.भरमै बम, बारुदको शिकार बने
उनीहरु ढले 
उनीहरुको ढलाईसँगै
डाँडापारी पुगेको घाम–जुन जस्तो
बा–आमाको सपनाहरू ढले
सपना मात्रै होइन,धेरै थोक ढले 
निहत्था उनीहरुसँग
मन थियो, मस्तिष्क थियो 
माया थियो,मानवता थियो
तर,मान्छेले मान्छे नचिन्ने
मन,मुटु,मस्तिष्क हराएको
आतंककारीको विल्ला भिरेका हमास
जिउँदो मान्छेको रगत पोखाउँदै
खेल्दै मृत्युको खेल देखाउँदै थियो तमास 
चित्कार नसुन्ने तिनीहरुको कान
चेतना गुम भएर बेचैन भएको विवेक
अन्धाधुन्ध वर्षियो बम र गोली
सुन्न चाहेनन् कसैले निर्दोष कारुणिक बोली
जीवन गुमाए, बगाए रगत
तर, त्यो वलिदान के को निम्ति ?
–लर्निङ्ग अनि अर्निङ्ग
एक झोला सपनाहरू 
बोकेर गएका उनीहरु
सपनाहरू रोप्दै थिए
सपनाहरू बेर्ना बनेर उम्रन नपाउँदै
नरभंक्षी क्रुर अमानवको हतियारबाट
घाइते भएको शरीर 
अविरल बगेको रगतको ईरिगेसन 
खै कस्तो बेर्ना उम्रिने हो सपनाहरूको ?
सिमाना पारिको नर्सरीमा
थाहा नभएको अनिश्चित जीवन 
संभावना र आशा 
जुनी जिउने घनिष्ठ सारथी
त्यहीसारथीले 
एकै साथ पुग–नपुग 
फुल्न खोज्दै गरेको दर्जन जुनी छिने
बग्दै गरेको जीवन नदीमा
भयंकर मृत्युको बाँध लगाए
त्यहीँ बाँधमा डुबे,सास फेर्न बिर्से
पराई भूमिमा बिना कारण 
निर्दोष हुँदाहुँदै पनि
वलिदान के का निम्ति ?
विजया दशमी 
सुरको जित,असुरको हार
मंगल शुभदिनलाई
अशुभ बनाएर उनीहरुमध्ये केही फर्के
निर्दोष सुर हुँदाहुँदै 
असुर पापी हरुको हातबाट शव बनेर
काठको बाकसभित्र बन्द भएर
निर्जीव शरीर, अधुरो सपनाहरू
मरेर लास बनेर फर्केर आउँदा 
फुलमाला लिएर पुग्छ स्वागत गर्न 
देश चलाउने सरकार 
हवाई अड्डामा बिसाएको पार्थिव शरीरलाई
आशा देखाउँछ, सान्त्वना दिन्छ,
आखिर, यस्तो मृत्युको वलिदान के को लागि ?
न उनीहरु अस्तित्व जोगाउन लडिरहेका 
प्यालिस्टिनहरुको पक्षपाती थिए
न उनीहरु दोस्रो विश्वयुद्धमा 
हिटलरले ग्याँस चेम्बर जलाएर बाँचेको
लाखौं यहुदीहरुको समर्थक थिए
न उनीहरु आफ्नै देशको सिमा रक्षाको लागि 
जीवन आहुति दिएका थिए
बस् उनीहरु
लाजमर्दो लाजनीति गर्दै गरेको
शासकको लाज छोप्न
अरुको देशमा सफल जिन्दगी 
खोज्न गएका थिए ।
सफल जिन्दगी बनाउन जाँदै गर्दाको
अचानक परि आएको मृत्युको कोशेली
सबैका लागि सधैँ दुःखी रहने घाउ नहोला
तर,
उनीहरु आफ्नाहरुको लागि
जीवन बाँचुन्जेल कहिल्यै निको नहुने
दीर्घकालीन रोग बनेर बाँच्ने भयो ।
र पनि, एउटा होइन 
अनेक मनको एउटै प्रश्न 
आखिर उनीहरुको
वलिदान के को निम्ति ?
                   पाँचखाल,काभ्रेपलान्चोक 
         हालः लिमासोल, साइप्रस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप