पानामा टीआर फोर रोगले केरा किसान मारमा, कसरी सर्छ ?
काठमाडौँ । कैलालीको टीकापुरमा केराबालीमा अहिले पानामा रोगको नयाँ प्रजाति टीआर फोर रोगको प्रकोप देखिएको छ । गत साउनमा टीकापुरका ९ किसानको केरा खेतीमा पानामा रोगको जाँचका लागि नमुना संकलन गरी परीक्षण गरिएको थियो ।
टीकापुरमा लगाइएको व्यावसायिक केरा खेतीमा चार देखि ५० प्रतिशतसम्म टीआर फोरको प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । ५० प्रतिशत प्रकोप देखिएको केरा बालीका मालिक हुन् देवीराम कोइराला । उनले टीकापुर क्षेत्रमा १४ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् ।
उनको टीकापुर नगरपालिका वडा नम्बर ६ स्थित करिब ६ बिघा प्लटमा रोपिएको केरा बालीमा सो रोगको प्रकोप देखिएको छ । ‘साउनमै केराको पात पहेँलो भएर सुक्दै गएको थियो,’ उनले भने, ‘सुरुमा के भएको भन्ने थाहा नै भएन, पछि नार्कको विज्ञहरुले जाँच गर्दा पानामा रोगको संक्रमण भएको थाहा पाइयो ।’
कैलाली जिल्लाभरमा १५ सय हेक्टर क्षेत्रफलमा हुने केरा खेतीमध्ये ७ सय हेक्टर टीकापुर एरियामा मात्रै गरिन्छ । कोइरालाले जी नाइन प्रजातिको केरा लगाएका छन् । पानामा रोग बिरुवा, पानी र माटोबाट सजिलै सर्ने भएकाले ढुवानी गर्ने सवारी साधनबाट रोग सरेको हुन सक्ने कोइरालाको अनुमान छ । ‘केरा ढुवानीका लागि विभिन्न स्थानबाट सवारी साधन आउने गरेका थिए,’ उनले भने, ‘त्यहीँबाट सरेको हुनुपर्छ ।’
६ बिघाको केराबालीबाट करिब ७० लाख आम्दानी हुने उनको अनुमान थियो । तर बाली नै नष्ट भएपछि उनको सो रकम डुबेको छ । ‘असार–साउनमा रोपेको केराबाट हाल उत्पादन लिने समय हो,’ उनले भने, ‘अहिले बजारको भ्यालु हेर्ने हो भने ७० लाख रुपैयाँ नोक्सान भएको छ ।’
केरा बालीमा पानामा रोग देखिएको सुरुका दिनमा धेरैको चासो भए पनि पछिल्लो समय स्थानीय निकायले समेत चासो नदिएको उनले गुनासो गरे । ‘सुरुमा केन्द्रबाट केराको रोग परीक्षण गरियो,’ उनी भन्छन्, ‘अहिले कसैले चासो दिएको छैन, कृषि ज्ञान केन्द्रमा बारम्बार फोन गर्दा पनि कुनै सुनवाइ भएको छैन ।’
कैलालीको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र प्रसाद शर्माले कैलालीबाट निकासी हुने केराबाट अन्य स्थानमा सर्न नदिनका लागि जिल्लाको मुख्य नाकामा निगरानी गर्न छलफल भइरहेको बताए ।
टीआर फोर रोगको नियन्त्रणमा स्थानीय तह मौन
टीकापुर क्षेत्रमा देखिएको पानामा टीआर फोर रोग नियन्त्रणका लागि स्थानीय तह मौन छ । त्यस क्षेत्रमा थप अनुसन्धानका लागि प्रदेश र स्थानीय तहस्तरमा समिति गठन गरिए पनि काम भने हुन नसकेको कृषक कोइरालाको भनाइ छ । ‘समिति गठन भएको छ,’ उनी भन्छन्, ‘तर यो रोगलाई नियन्त्रणका लागि केही पहल भएको छैन ।’
टीकापुरका किसानको केरामा रोगको लक्षण देखिएपछि नार्कले गत साउन १० गते नौ जना किसानको खेतमा करिब ८ हजार केराको बोटलाई अवलोकन गरेको थियो । ४ वटा बगैँचामा यो रोगको लक्षण ४ देखि ५० प्रतिशतसम्म बिरुवामा लागेको पाइएको थियो । खासगरी भारतबाट आयातित जी नाइनका बिरुवामा रोगको प्रकोप बढी देखिएको थियो ।
सो समयमा यो रोग केराको नर्सरी व्यवसायमा संलग्न कृषकको खेतमा देखिएकाले धेरै ठाउँमा फैलिसकेको अनुमान गरिएको थियो । तर हालसम्म के–कति क्षेत्रफलमा फैलियो भन्ने पुनः अनुगमन र अवलोकन हुन सकेको छैन ।
‘बर्दिया, कञ्चनपुर र पहाडी जिल्लासँग जोडिएको कैलालीको मुख्य नाकाबाट केरा ढुवानी गर्दा निर्र्मलीकरण गर्ने विषादीको प्रयोग गरिएको छ,’ कैलालीको कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले भने, ‘स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरी कैलालीसँग जोडिएका नाकामा आउँदो साताबाट केरा र ढुवानी हुने साधन निर्मलीकरण गरिनेछ ।’
फैलदो टीआर फोर
कैलाली टीकापुरमा भेटिएको केरामा लाग्ने पानामा टीआर फोर रोग अन्य जिल्लामा पनि देखिन थालेको छ । कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई भैरहवाका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवाको केराबारीमा पनि सो रोग पुष्टि भएको छ । यो रोग गत असोज १८ गते पुष्टि भएको हो ।
के हो पानामा रोग ?
नार्कका अनुसार पानामा रोग केरा बालीमा लाग्ने प्रमुख रोग हो । यो रोग फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्वारा लाग्दछ । यो ढुसीको ४ वटा प्रजाति हुन्छन् । तीमध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्दछन् । नेपालमा मालभोग र अरु स्थानीय जातका केरामा यसले नोक्सानी पु¥याउँदै आएको छ । यी रेसहरु १, २ र ३ बाहेक रेस ४ लाई ट्रोपिकल रेस ४ (टीआर फोर) भनेर चिनिन्छ । जुन केराको लागि सबैभन्दा खतरनाक मानिन्छ । टीआर ४ नेपालमा पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा भेटिएको नार्कले जनाएको छ । यसको पुष्टि पीसीआरको साथै जिन सिक्वेस्सिङ विधिद्वारा गरिएको हो ।
अस्ट्रेलियामा पहिलो पटक टीआर फोर
टीआर ४ प्रजाति विश्वका अन्य मुलुकमा फैलिरहेको नार्कको भनाइ छ । यो रोग भारतको बिहार र उत्तर प्रदेशमा पाइएको छ । पनामा रोगको यो प्रजाति पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखा परेको थियो भने त्यतिबेला यसको थप फैलावट रोक्न खेतको सबै बिरुवा नष्ट गरिएको थियो । खेतमा तारबार गरी २०१२ सम्म प्रवेश निषेध गरिएको थियो । पहिलो पटक देखिएको यो रोग १८ वर्षपछि सन् २०१५ मा फेरि अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा देखा परेको थियो ।
रोगको लक्षण
पानामा रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुन्छ । त्यसपछि पातको किनारा पहेँलिन थाल्दछ र पात सुकेर डाँठ भाँचिन्छन् ।
थाम ठाडो चिरेर भित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ । जराहरु कालो हुन्छन् र सड्छन् जसले गर्दा पानामा ओइलाउने रोग लगाउने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्दछ ।
रोग कसरी सर्छ ?
पानामा रोग माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म संक्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सर्ने गर्दछ । त्यसको अलावा केरा बोक्न गाडीको टायर, मान्छेको जुत्ता चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा सर्ने सम्भावना त्यतिकै हुन्छ । त्यस्तै, संक्रमित माटो, पानी र औजारहरु रोगका प्रमुुख स्रोत हुन् ।
रोकथाम कसरी गर्ने ?
केरामा लाग्ने टीआर फोर नेपालमा हालसालै देखा परेको हो । यसको व्यवस्थापन तथा नियन्त्रणको लागि हालसम्म आधिकारिक बिउ र विधि उपलब्ध भएको छैन । यो रोग फैलिन नदिन सजगता अपनाउनु पर्ने राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. राम बहादुर खड्का बताउँछन् ।
–केरा बगानमा जैविक सुरक्षाका लागि बार वन्देज गरी अनधिकृत व्यक्ति तथा जनावरहरुको प्रवेश हुन नदिने ।
–बगानभित्र प्रवेश र निकासको लागि एउटा मात्र मार्ग निर्धारण गर्ने ।
–केरा बगानभित्र प्रयोग हुने जुत्ता, गमबुट र औजार उपकरणहरु बगानमै राख्ने ।
–अन्यत्र प्रयोग गर्नु पर्दा १ प्रतिशत सोडियम हाइपोक्लोराइट वा १० प्रतिशत ब्लिचले निसंक्रमण गरेर मात्र प्रयोग गर्ने ।
–रोग ग्रसित क्षेत्रका स्वस्थ केरा बगानमा रोग फैलने सम्भावना बढी भएको हुँदा बाहिर प्रयोग गरिएका जुत्ता, गमबुट र औजार उपकरणहरु बाहिरै राख्ने वा १ प्रतिशत सोडियम हाइपोक्लोराइट वा १० प्रतिशत ब्लिचले निसंक्रमण गरेर मात्र प्रयोग गर्ने ।
–केरा वोक्ने गाडीलाई बगैंचाभित्र प्रवेश गर्न नदिने ।
–बाली लिँदा केराको हाता वा काईयो मात्र काट्ने र त्यसरी काट्दा भुई वा माटोसँग सम्पर्क नहुने गरी प्लास्टिक ओछ्याएर मात्र काट्ने ।
–तयार गरिएको केरा मात्र बजारिकरणका लागि बगान बाहिर ल्याएर मात्र गाडीमा राख्ने ।
–अन्य केराजन्य अवशेष बगानबाट बाहिर नल्याउने ।
–केरा बगानबाट पानी बाहिर बगेर जान नदिने । जसका लागि सकेसम्म बाहिरको पानी बगानभित्र र भित्रको पानी बाहिर आउन नदिन बगैँचा वरिपरि कम्सेकम २ फिट गहिरो नाला खनेर नालामा पानी जम्मा हुने वातावरण बनाउने ।
–नयाँ बगैँचा स्थापना गर्दा स्वस्थ बिरुवाको श्रोत सुनिश्चित गरेर मात्र प्रयोग गर्ने ।
–बगानमा शंकास्पद बोट भेटिएमा नजिकको कृषि सम्बन्धी निकाय, वा राष्ट्रिय वाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटार वा नजिकको बाली संरक्षण प्रयोगशाला वा प्लान्ट क्वारेन्टाइन तथा बिषादी ब्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुरमा जानकारी गराउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट
-
निर्धक्क भएर व्यवसायमा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
सांसद शर्मा र जापानका हाउस अफ काउन्सिलर्सका सदस्यबिच भेटघाट
-
विवादमा ओली : के भन्छन् प्रतिपक्ष दलका नेता ?
-
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा
-
हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची