आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
बसाइँसराइ

रित्तिँदै माथिल्लो मुस्ताङ : छोराछोरी युरोप अमेरिका, बाबुआमा काठमाडौँ–पोखरा

आइतबार, १९ कात्तिक २०८०, १० : ०६
आइतबार, १९ कात्तिक २०८०

पोखरा । प्रदेशसभाका पूर्वसदस्य इन्द्रधारा विष्टको परिवारमा अघिल्लो वर्ष विदेशमा ५ जना बच्चा जन्मिए । त्यो वर्ष लोमन्थाङमा २ जना मात्रै बच्चा गाउँमा जन्मिए । अझै अनौठो के छ भने गएको वर्ष १७ जना वृद्धवृद्धाको मृत्यु लोमन्थाङमा भयो ।

यसबाट एउटा डरलाग्दो तथ्याङ्क निस्किन्छ गाउँको अवस्थाबारे । ‘पाउँदा २ जना, मृत्यु १७ जना । यही तथ्याङ्कले हाम्रो उपल्लो मुस्ताङको हालत छर्लङ्ग हुन्छ । यस्तो हेर्दा अब रित्तिन त समय नलाग्ने भयो,’ विष्टले भने ।

पर्यटकको प्रमुख रोजाइमा पर्ने लोमन्थाङ गाउँ पर्खालभित्रको सहर भनेर विश्वले चिन्छ । अझ माटोको सहर भनेर यसको बढी प्रचार हुन्छ । लोमन्थाङ गाउँलाई तत्कालीन समयमा ठूलो पर्खालले घेरिएको थियो । उक्त पर्खाल अहिले पनि छ । तर पर्खालभित्र रहेका १ सय ४४ घरमध्ये १०–१२ वटा घरमात्रै खुला छन् । बाँकी सबै घरमा ताला झुण्ड्याइएको छ ।

केही घर पर्खालबाहिर सरेका छन् । ३५ घरजति पर्खाल बाहिर सरे पनि बाँकीले गाउँ छोडिसकेका छन् । अरु गाउँको हालत पनि करिब उस्तै हो ।

अमेरिकाको न्यूयोर्कमा उपल्लो मुस्ताङीले स्थापना गरेको लोन्याम्सी भन्ने समाज छ । त्यसमा ८ सयभन्दा बढी उत्तरी मुस्ताङका व्यक्ति आवद्ध छन्, त्यो पनि २ गाउँपालिकाको मात्रै । बालबच्चा र भर्खरै पुगेकाहरुले नाम टिपाएका छैनन् ।

uper mustang (1)

अमेरिकामा मात्रै १५ सयभन्दा बढी पुगिसकेको अनुमान छ । त्यसको तथ्याङ्कचाहिँ ट्वाक्कै छैन । बाँकी ५ सयभन्दा बढी युरोपका देशमा छन् भने उति नै संख्यामा अरु देशमा पनि छन् । गत जनगणना अनुसार त्यहाँका दुई पालिकाको जनसंख्या ३ हजार हाराहारीमात्रै छ ।

कामका लागि परदेशिएकाहरुले बृद्ध भएका बाबुआमालाई काठमाडौँ तथा पोखरा झारेका छन् । यसपाली जिल्ला प्रशासन कार्यालयले बाँडेको चीन छिर्ने पास लिनेहरु पनि दुई पालिकाबाट १ हजार हाराहारीमात्रै छन् । यसबाट पनि उपल्लो मुस्ताङका नागरिकहरु नेपालमा नरहेको पुष्टि हुन्छ ।

‘कोरोना संक्रमणपछि नाका बन्द भयो । हिजो नाकाबाट व्यापार गर्नेहरुले काम पाएनन्, उनीहरु पनि विदेश नै गए । यस्तै अवस्था रहे माथिल्ःलो मुस्ताङ रित्तिन धेरै समय लाग्दैन,’ लोमन्थाङका अध्यक्ष टसी न्हुर्वु गुरुङ भन्छन् । सम्हाल्नै नसक्ने गरी विदेशिने क्रम बढेको उनले सुनाए । 

सांसद नम्डु गुरुङसँग विदेश जानका लागि दिनमै २–४ जनाले ऋण माग्छन् । ‘मसँग दिनमै २–४ जनाले विदेश जान पैसा माग्छन् । चुनावमा उठेपछि तपाईंलाई भोट हालेको हो, छोरा विदेश जान लागेको छ, पैसा हालिदेउ भन्छन्,’ उनले भने, ‘म त निराश भइसकेको छु । गाउँमा पनि विदेशको भिसा लाग्यो भने तुरुन्तै ऋण दिन्छन्, गाउँमै फार्म खोलेर पेसा गर्छु भन्यो भने ऋण दिँदैनन् ।’

लोमन्थाङमा सुरुमा खोलिएका पर्यटक लक्षित महँगा होटल पनि बन्द हुन थालेका छन् । ‘सबैभन्दा पहिले खुलेका ३–४ वटा होटलमा अहिले ताला लागेको छ । व्यापार नभएर होइन, गाउँमा मान्छे नभएर । नयाँ व्यवसाय सुरु गर्नेहरु लोमन्थाङमा कोही छैन,’ स्थानीय होटल व्यवसायी कुंगा गुरुङले भने, ‘गाउँ रित्तेको देखेर म छक्क परेको छु । अन्तिममा म एक्लै पो हुन्छु कि भन्ने डर लाग्छ ।’

लोमन्थाङ मुस्ताङभित्रको प्रमुख पर्यटकीय आकर्षण हो । यहाँको भूगोल मात्रै होइन, कला–संस्कृति पनि हेर्न लायक छ । लोमन्थाङमा अडिनेहरुले अमेरिका गएकाले भन्दा बढी कमाउँछन् । तर आसपासका गाउँमा खासै चहलपहल छैन ।

uper mustang (2)

यहाँका नागरिकहरु विदेशिने क्रम सन् १९८९ बाट सुरु भएको अगुवाहरुले बताए । सन् १९८९ तिर नाम्ग्येलका एकजना व्यक्ति जापान गएका थिए । १९९२ मा लोमान्थाङका अर्का व्यक्ति जापानमै गए । त्यसपछि धमाधम विदेशिने क्रम बढ्यो । त्यहाँ कमाएको पैसाले पोखरा, काठमाडौँमा घरजग्गा किन्न थाले । जापानमा कडाइ हुन थालेपछि उनीहरु अमेरिका मोडिए । अहिले अमेरिका र युरोपमा सयौँ पुगेका छन् ।

‘परिवारको एक जना गएपछि अरुलाई पनि तान्ने चलन बढ्यो । छोराछोरी गएपछि बृद्धबृद्धा पनि जान थाले । उनीहरु प्रायः उतैको नागरिक भइसके,’ लो घेकर दामोदर कुण्डका प्रमुख प्रशासकीय अधिकृत विशाल भण्डारी भन्छन्, ‘पहिलो पुस्ताकाले नेपाल सम्झे पनि उतै जन्मेकाहरु नेपाल फर्किने सम्भावना छैन ।’

अमेरिका जान उनीहरु १ करोडसम्म पनि तिर्न तयार हुन्छन् । २० लाख बुझाएपछि मात्रै प्रक्रिया सुरु हुन्छ । कतिपयले बिहे गरेर लैजान्छन् र उता गएपछि डिभोर्स गर्ने चलन पनि छ । ‘स्थानीय तहका कर्मचारीहरु गैरहेका छन् । उनीहरुको सरकारी कमाई त नराम्रो होइन नि,’ भण्डारीले अघि भने, ‘यहाँ विदेश जाने प्रचलन जस्तो भएको छ । युवाहरु गाउँमा लगभग छैनन् ।’

अन्यत्र सुविधा नपुगेर सहर झर्ने चलन भए पनि यहाँका भने सुविधा गाउँमा पुगेपछि सहर झरेका छन्, विदेशिएका छन् । ‘डाँडाडाँडामा बाटो पुगेको छ । खानेपानीको धारा पुगिसक्यो । तर गाउँमा मान्छे छैनन् । कसले प्रयोग गर्ने ?,’ पालिका अध्यक्ष राजु विष्टले भने, ‘हामी विकास गरेको गर्‍यै छौँ । तर कसका लागि त ?’

उनले युवापुस्तामा आफ्नोभन्दा छोराछोरीको भविष्य खोजेर विदेशिने क्रम बढी रहेको बताए । ‘छोराछोरीको भविष्य विदेशमा खोजिरहेका छन् । घरखेत धितो राख्छन् । जसरी हुन्छ विदेशै हानिन्छन्,’ उनले भने, ‘हरेक वर्ष ८–१० वटा घर खाली हुँदैछ । हाम्रोमा यति घर खाली हुनु भनेको निकै ठुलो हो । किनभने यहाँ धेरै घर छैनन् । विस्तारै गाउँ रित्तिन्छ, अनि काठमाडौँ र पोखरा रित्तिन्छ ।’

आफ्नो पालिकामा ३० प्रतिशतभन्दा बढी नागरिक विदेश गइसकेको उनले जानकारी दिए । ‘छिटो पैसा कसरी कमाउने भन्ने ध्यान भयो । एउटा मान्छे विदेश गएपछि अरु पनि त्यहीँ जानुपर्छ भनेर गए । अरबमा मेरो छोराछोरी छ भनेपछि गर्व गर्ने समाज बन्यो । अमेरिकामा परिवारको कोही सदस्य छ भने समुदायकै उच्च कोटीमा पुग्यो भन्ने ठानिन्छ,’ पूर्व सांसद विष्टले भने, ‘देशको परिस्थिति राम्रो नभएर पनि हो । तर कतिपयको त सोचले पनि हो । नेपालमै ६०–८० हजार कमाउने पनि लाख कमाउन विदेश जान्छ । यो चिन्ताको विषय हो ।’

uper mustang (3)

उपल्लो मुस्ताङका ७० प्रतिशत युवाले गाउँ छोडिसकेका सांसद गुरुङले बताए । ‘अहिले आन्तरिक पर्यटकले जसोतसो धानिरहेको छ । सरकारले निषेधित क्षेत्र घोषणा गरेर हामीमाथि झनै अन्याय गरेको छ । निषेधित क्षेत्रमा पर्यटकलाई शुल्क महँगो छ,’ उनले भने, ‘कृषि पनि एक बालीमात्रै हो । ६० प्रतिशतभन्दा बढी युवाले नेपाल छोडिसके । बेरोजगार भएर कति समय बस्ने ?’

यहाँका धेरै जनप्रतिनिधि नै विदेश जाने योजनामा छन् । राज्य तहबाटै विषेश क्षेत्र घोषणा गरेर नयाँ योजना नल्याउँदासम्म यहाँको बसाइसराइ रोक्न असम्भव रहेको उनले सुनाए ।

‘पर्यटकको नजर पर्ने ठाउँमा हाइवेका होटलहरु चल्छ । अरु त दिनभरि कुरेर बस्नेमात्रै हो । कि हामीले लगानी गरिदिन सक्नुपर्‍यो । ठाउँ पनि टाढा भयो । राज्यले चिनेको छैन, देखेको छैन,’ गुरुङ भन्छन्, ‘तल्लो क्षेत्रमा जसरी कृषि अनुदान जान्छ, त्यस्तो सुविधा माथिका मान्छेले पाएका छैनन् । जनता हामीसँग सहयोग माग्छन्, हामीले कति समय सहयोग गर्ने ?’

नेपालमै बस्नका लागि आग्रह गर्दा उल्टै गाली खानुपरेको उनको भनाइ छ । ‘केही घरमा घर कुर्ने छ, धेरैको घरमा ताला लागिसकेको छ । छोराछोरी विदेश गए,’ उनले भने, ‘हामीले नेपालमै काम गर, विदेश नजाउ भन्यो भने उल्टै गाली गर्छन् ।’ ५ वर्षपछिको उपल्लो मुस्ताङको चित्र डरलाग्दो देखिएको उनले बताए ।

कहिलेदेखि झरे पोखरा ?

५० वर्ष अघिसम्म माथिल्लो मुस्ताङका नागरिक कालिगण्डकी तरेर बेंसी झर्न सक्ने अवस्था थिएन । अधिकांश तिब्बत जान पनि सक्दैनथे । २०२५ देखिमात्रै लोमान्थाङवासीको कनेक्सन तल्ला सहरसँग जोडिएको हो । म्याग्दीको दानामा मुस्ताङको सदरमुकाम थियो । ठुलो झैझगडा पर्‍यो भने कारबाही गर्न दाना ल्याउनुपर्थ्यो । उपल्लो मुस्ताङमा कसैसँग रिस उठ्यो र गाली गर्नुपर्‍यो भने ‘हरियो खुर्सानी भएको ठाउँमा झार्छु’ भनेर थर्काउँथे । त्यो भनेको दानामा झार्छु भनेको हो । हरियो खुर्सानी दानामा पाइन्थ्यो ।

काठमाडौँ कोही जानुपर्‍यो भने पहिले नै हिसाबकिताब गरेर झर्ने चलन थियो, बाँचेर नफर्किने डरले । नेपालको उत्तरी भन्सार जैतेमा राखिएको थियो । उनीहरुले त्यहाँ भन्सार चाहिँदैन भनेर झगडा गरेका थिए । त्यही झगडाका क्रममा गोली लागेर एक जनाको मृत्यु भयो । तत्कालीन मुस्ताङी राजाका जेठो दाइ मुद्दा मिलाउन बागलुङमा झरे । त्यहाँबाट फर्केपछि मृत्यु भएको थियो । त्यहाँका जानकारहरु औलो लागेका कारण उनको मृत्यु भएको बताउँछन् ।

uper mustang (4)

सीमित व्यक्तिहरु तानसेन, बुटवलमा व्यवसाय गर्थे । नत्र चामल किन्न पनि सबैभन्दा टाढा भनेको तातोपानी पुग्थे । नुन र चामल साट्नेहरु टुकुचेसम्म झर्थे । २०३० पछिमात्रै जिम्मु व्यापारका लागि उनीहरु पहाडतिर लागेका हुन् । खम्पा विद्रोहपछि त्यहाँका महिलासँग विवाह गरेर भारत पुर्‍याइएका थिए । स्विटर बेच्नेहरु भारतसम्म पनि पुगे । त्यसअघि उत्तरसँगको सम्बन्धमात्रै थियो । उत्तर भनेको तिब्बतका सहरहरु । यहाँ सुरुमा बस्तु विनिमय चल्थ्यो । सामानसँग सामान साट्ने । सामान दिएर पैसा लिने अवस्थाचाहिँ सन् १९९२ देखि नै सुरु भएको हो । पर्यटकहरु उत्तरी मुस्ताङ जान थाले, विदेश गएकाहरुले पैसा पठाउन थाले । त्यसअघि ठिंगरमा एक जना र लोमन्थाङमा एक जनासँग मात्रै पैसा थियो भन्ने विश्वास छ ।

लोमन्थाङ र वरपरका गाउँहरुमा नेपाली रुपैयाँभन्दा पहिले भारतीय पैसा बढी चल्थ्यो । भारतीय सेनाहरु त्यहाँ पुगेकाले भारतीय पैसा चलेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप