मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले बागमतीमा तरंग
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रदेशको नामकरण र राजधानीका विषयमा दिएको अभिव्यक्तिले तरंग पैदा गरेको छ । मुख्यमन्त्री जम्कट्टेलले गत असोज ३ गते प्रदेश राजधानी अपायक परेको भन्दै परिवर्त गर्नुपर्ने बताएका थिए भने नामकरण पनि सच्याउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
उनको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । सरकारको नेतृत्व गरिरहेकै व्यक्तिले संघीयतामाथि नै प्रभाव पर्ने गरी गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै मुख्यमन्त्री जम्कट्टेलको आलोचना भइरहेको छ ।
मुख्यमन्त्री जम्कट्टेलले वैदेशिक भ्रमणमा जानुअघि गत असोज ३ गते भक्तपुरको मध्यपुर थिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका थिए । प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेकोले धेरै जनता खुसी नभएको उनको दावी थियो ।
तत्कालीन समयमा प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि सम्भव हुन नसकेको मुख्यमन्त्री जमकट्टेलले बताएका थिए ।
उनले प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्ने बताएका थिए भने प्रदेश राजधानी हेटौंडा प्रदेशको एउटा कुनामा रहेकाले चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक नपर्ने भएकाले सबैलाई पायक पर्ने गरी प्रदेश राजधानी धुलिखेल राखिनुपर्ने बताएका थिए ।
मुख्यमन्त्री जम्कट्टेलको उक्त अभिव्यक्तिप्रति एमाले बागमती प्रदेश संसदीय दलले आपत्ति व्यक्त गरेको छ । एमाले बागमती प्रदेश संसदीय दलको मंगलबार र बुधबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले दिएको सार्वभौम संसदले गरेको निर्णयका विरुद्ध रहेको भन्दै उक्त अभिव्यक्तिले सामाजिक सद्भावमा खलल् पु¥याउने काम गरेको निष्कर्ष निकालेको थियो ।
मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्ति प्रदेशमा राजनीतिक अस्थिरताको सुरुवात हुने संकेत दिएको भन्दै त्यसतर्फ जनतालाई सचेत हुन एमाले नेताहरुले अनुरोध गरेका छन् ।
पहिचानलाई बुझ्नै सकेन्नः मुख्यमन्त्री जम्कट्टेल
उता, मुख्यमन्त्री जम्कट्टेलले संघीयताको विरोध गर्ने सामन्तीहरुले जातीय र पहिचान बिचको भिन्नता छुट्याउन नसकेको आरोप लगाउँछन् । उनले रातोपाटीसंगको कुराकानीमा संविधानमा उल्लेख भएको पहिचानसहितको संघीयताको विषयलाई विरोधीहरुले बुझ्न नसकेको बताए ।
‘जातीय द्वन्द्वको विषय ल्याउनु घटिया कुरा हो । त्यो जतिको अराजनीतिक घटिया कुरा केही पनि छैन ।’ उनले भने, ‘यी सामन्ती, संघीयता विरोधीहरुहरुसंग बसेर म दसौं घण्टा बहस गर्न तयार छु । पहिचान र जातीय दंगाका विषयमा अलि राम्रोसंग पढ्नु प¥यो । नपढी सामन्तीहरु राजा रजौटाका भतुवाले विरोध गरेर बोलेका कुरालाई त खारेज गर्छु म ।’
पहिचानको विषय उठाउँदा बागमतीमा कोशीको अवस्था सिर्जना हुन्छ भनेर अनुमान गर्नु राजनीतिक चेत विपरीत रहेको उनको भनाई छ । राजधानी र नामकरणको विषय सरकारको नभई आफ्नो व्यक्तिगत धारणा भएको उनले प्रष्ट पारे ।
राम्रा विषयमा उठाउँदा विरोध आउनु सामान्य भएको उनले बताए । डोरमणि ‘बा’ले (एमाले) विरोध गर्नु नौलो कुरा नभएको र सत्य कुरा त हेटौंडा राजधानी अपायक रहेको उनले बताए ।
‘इतिहास हेर्दा पूर्व नेपालको सभ्यता भनेको लिम्बू र किराँतको रहेको छ । त्यहीबाट धेरै कुरा विस्तार भएर आएको हो । नेपालको मध्यभागको सभ्यता भनेको तामाङ र नेवारको हो । त्यो लिच्छविकाल देखिको हो । मधेसको मुख्य सभ्यता भोजपुरी रहेछ । पहिचान सबैको हो । जात एउटाको हो । त्यसैले नेताहरुले यो विषय किन बुझ्न नसकेको ? संघीयतामा आएर पनि किन यस्तो कुरा गर्दै आएका छन् ।’ मुख्यमन्त्री जम्कट्टेलले अगाडि भने ।
संघीयतामा पहिचानको ५ आधारमध्ये एउटा भूगोललाई मानेको भएपनि त्यो मुख्य नभएको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ । पहिचानका आधारका विषयमा केही नबुझेकै कारण कोशी, बागमती नै चाहिने भनेर विरोधीहरुले अडान कसेको उनले बताए ।
‘प्रदेशको नाम लिम्बूवान किराँत कोशी राख्दा के फरक पर्छ ? नेवा ताम्सालिङ बागमती राख्दा के हुन्छ ? यसले त झन राष्ट्रियता मजबुत बनाउँछ । समाजलाई एकतावद्ध बनाउँछ । सबै जातजाति, भाषा, धर्मका नागरिकले अपनत्व ग्रहण गर्थे । बागमती चाहिनेलाई बागमती भयो । जसले आफ्नो पहिचान खोजेका छन्, उनीहरुलाई नेवा ताम्सालिङ भयो ।’ उनले भने ।
नेपालको अन्तराष्ट्रिय पहिचान भनेको बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक, बहुभूगोल रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र