शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

राज्यले जे गर्नुपर्ने थियो, त्यो गरिरहेको छ : प्रधानमन्त्री

देशभरबाट देखिएको सहयोगको भावनाको प्रशंसा
शनिबार, १८ कात्तिक २०८०, २२ : ३६
शनिबार, १८ कात्तिक २०८०

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट पीडित बनेकाहरूको राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरेको बताएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आज म आफै गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूको निरीक्षण गरेँ । हताहत र घाइतेको सङ्ख्या ठुलो रहेको छ भने हजारौँ घरमा क्षति पुगेको छ । म जाँदा डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरू सँगै लिएर गएको थिएँ । केही घाइतेहरूलाई आफैँले हेलिकप्टरबाट उद्धार गरेर ल्याएँ । राज्यले जे गर्नुपर्थ्यो, त्यो गरिएको छ ।’

उनले उद्धार राहतका लागि तीनवटा हेलिकप्टर अझै खटिरहेको जानकारी दिए । त्यस्तै स्वास्थ्यकर्मीहरू पनि सबै प्रभावित क्षेत्रमा खटिएको बताए । उनले हालसम्म उद्धारका कार्य सफलतापूर्वक सम्पन्न भएको जिकिर पनि गरे । उनले भने, ‘मैले भोलि मन्त्रिपरिषद् बैठक बोलाएको छु । बैठकबाट थप राहतका बारेमा निर्णय हुन्छ ।’ 

उनले देशभरबाट सहानुभूति र सहयोगको स्पीरिट देखिएकोमा खुसी व्यक्त गरे । साथै छिमेकी राष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको जिकिर गरे । ‘म भूकम्प प्रभावित क्षेत्रमा हुँदा विदेशबाट र मित्रराष्ट्रबाट पनि फोन आएको थियो । उहाँहरूले सहयोगका लागि तयार छौँ भन्नुभएको छ,’ प्रधानमन्त्री दाहालले भने ।

नेपालको पश्चिम क्षेत्रमा अझै ठुला भूकम्प जाने सम्भावनाबारे भूगर्भविद्हरूले इङ्गित गरेको कुरा स्मरण गर्दै यसबारे सचेत रहनुपर्ने जिकिर गरे । उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीर्ष स्वास्थ्य लाभको कामना गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप