शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

जाजरकोटका सात गम्भीर घाइतेलाई भेरी अस्पताल ल्याइयो

शनिबार, १८ कात्तिक २०८०, ११ : ५५
शनिबार, १८ कात्तिक २०८०

बाँके । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । सो अस्पतालमा जाजरकोटबाट सातजना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । 

जाजरकोटको खलङ्गाकाबाट बिहान ३ बजे एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो । घाइते बिरामीहरुको शनिबार बिहान ३ बजेदेखि नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी दिए । 

उनका अनुसार भूकम्पमा परी घाइते सातजनाको भेरीमा उपचार भइरहेको छ भने दश जनालाई हेलिकप्टरबाट राँझा ल्याइँदै छ ।  

घाइते बिरामीहरुको उपचारका लागि निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए । बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँचवटा शय्यासमेत तयारी अवस्थामा राखिएको उनले बताए । 

प्रजिअ पोखरेलेका अनुसार हेलिकप्टरबाट ल्याइने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उनले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए। 

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप