शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपाले किन गर्दैछ मधेसमा संयुक्त बैठक ?

के–के छन् छलफलका एजेन्डा ?
शुक्रबार, १७ कात्तिक २०८०, २३ : ०१
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक मधेस प्रदेशमा बस्ने तय भएको छ । यही कात्तिक २२ र २३ गते मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्न लागेको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई बताए । उनका अनुसार बैठक मधेस प्रदेशको कुन ठाउँमा राख्ने भन्ने टुंगो लागिसकेको छैन ।

बुर्लाकोटीले भने, ‘बारा, महोत्तरी र सिराहालाई विकल्पका रूपमा अगाडि सारेका छौँ । यी तीन जिल्ला मध्ये एउटामा बैठक बस्छ ।’

पछाडि परेका नागरिकमा आशा जगाउने रास्वपाको रणनीति अनुसार मधेसमा बैठक राख्न लागिएको उनको भनाइ छ । ‘राजनीतिक दलले देशभरिको प्रतिनिधित्व गर्ने हो । पछाडि परेको समुदाय, प्रदेश, जिल्लाहरू केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेका छौँ । त्यहाँको भौगोलिक, सामाजिक कुराहरू हामीले सिक्ने मौका पाउँछौँ,’ उनी भन्छन्, ‘त्यो जिल्ला र क्षेत्रका नागरिकमा पार्टीले हाम्रो कुरा सुन्छ, हाम्रो दुःख देख्छ भनेर आशा पलाउँछ ।’

 केन्द्रमा राखिने बैठक परम्परालाई तोडेर रास्वपाले मधेसमा बैठक राखेको उनको भनाइ छ । मधेस केन्द्रित जसपा, लोसपा र जनमतका केन्द्रीय समिति बैठक बैठकमाडौँमै बसिरहका बेला नयाँ राजनीतिक पार्टी रास्वपाले मधेस रोजेको हो ।

रास्वपाले २०७९ मंसिरको आम निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा मधेसमा अपेक्षित मत पाएको थिएन । बारा– २ को उपनिर्वाचनमा रास्वपाका रमेश खरेलको जमानत जफत भएको थियो । मधेसमा आफूलाई विस्तार गर्न रास्वपाले संयुक्त बैठक राख्न लागेको देखिन्छ ।

बुर्लाकोटीका अनुसार बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजमाथि विचार विमर्श हुने छ । यसअघि रास्वपाका केन्द्रीय नेता, सांसदहरू जनताको आवाज सुन्न र दस्ताबेजमा ती भावना समेट्न गाउँ गएका थिए । त्यसपछि प्रबुद्ध व्यक्तित्वसँग नीति मन्थन गरेको  थियो । बैठकमा पार्टीको प्रथम महाधिवेशनको मिति पनि प्रस्ताव गरिने बुर्लाकोटीले बताए । ‘महाधिवेशन कहिलेबाट गर्ने, कसरी गर्ने, त्यसको विधि प्रक्रिया के हुने भन्नेबारे छलफल हुन्छ,’ उनले भने।

उनका अनुसार आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने तयारी छ । आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुन वा वैशाखमा प्रथम महाधिवेशन गर्ने गरी प्रस्ताव आउने बुझिएको छ ।

बुर्लाकोटीले भने, ‘मंसिरबाट महाधिवेशनको चरणमा प्रवेश गर्छौँ । सुरुमा हाम्रो वडा अधिवेशन हुन्छ । त्यसपछि पालिका अधिवेशन हुन्छ ।’ पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका बुर्लाकोटीका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ ।

पालिकाभित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनको भनाइ छ । बुर्लाकोटीका अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुनेछ । यसरी ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।

जस अनुसार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधि छानिने छन् । यस्तै पार्टीको प्रवासी संगठनबाट पनि प्रतिनिधि चयन हुने उनको भनाइ छ ।

रास्वपामा वडा तहदेखि क्रमशः स्थानीय तह, संघ/प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ । करिब १ हजार वडामा संगठन विस्तार भइसकेको रास्वपाको दाबी छ ।  वडा र पालिका दुवैको आकार ११ सदस्यीय छ ।

७ सय ५३ मध्ये करिब २ सय ९० पालिकामा समिति बनाइएको बुर्लाकोटी बताउँछन् । जसमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्षसहित सदस्य रहने व्यवस्था छ । पार्टी सदस्यहरूको भेलाबाट वडा र पालिका कमिटी गठन गर्ने गरिएको छ । ७७ मध्ये ७५ जिल्लामा जिल्ला समिति बनेका छन् । डोल्पा  र रुकुम पश्चिममा जिल्ला संयोजक र सहसंयोजक तोक्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप