कैद मिनाहा पाउनेहरु फेरि अर्को अपराधमा धमाधम पक्राउ, प्रणालीमाथि नै प्रश्न
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिहा भएका थिए रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्र ।
संविधान दिवस (असोज ३ ) का अवसरमा राष्ट्रपतिमार्फत कैद छुट दिन मन्त्रिपरिषद्ले लोकेन्द्रको चालचलन ‘असल’ भएको भन्दै सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि उनी छुटेका हुन् । तर, जेलबाट छुटेको एक महिनामै लोकेन्द्र जघन्य अपराध गरेको आरोपमा पक्राउ परेका छन् ।
लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले रातोपाटीलाई बताए । लोकन्द्रले मुसीकोट–७, साँख घर भएकी २७ वर्षीय भावना विकको हत्या गरेको आरोप छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।
मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ मा बस्ने रामचन्द्र थापा चार पटकसम्म फरक–फरक मुद्दामा जेल परे । उनी जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भए । तर, कैद मिनाहा पाएको ५ महिनामा फेरि अर्को अपराध गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए । रामचन्द्र थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाउनेहरु धमाधम पक्राउ पर्न थालेका छन् । जेलमा बस्दा असल चालचलन देखिएको भन्दै जेलरको सिफारिसमा फाइल अघि बढेपछि मन्त्रिपरिषद् हुँदै सो फाइल राष्ट्रपतिसम्म पुग्छ । तर, सरकारले ‘असल’ देखेकाहरु फेरि किन अपराध कर्ममा लाग्दैछन् भन्नेबारे गम्भीर प्रश्न उठेको छ ।
पछिल्ला घटनाले कैद मिनाहा दिने सिस्टममाथि नै प्रश्न उठेको बताउँछन् वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ । रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘सिस्टम (प्रणाली) माथि नै प्रश्न उठेको छ, गलत सिफारिस रोक्नुपर्छ ।’
संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ को दफा ३७ र फौजदारी कसुर (कैदकट्टा) नियमावली २०७६ को नियम–३ अनुसार असल व्यवहार भएकाहरुलाई कैद छुट दिने कानुनी व्यवस्था छ । तर, असल चालचलनको नाममा चालचलन सुध्रिएको परीक्षण नगरेर आर्थिक र राजनीतिक चलखेल गरी कैद मिनाहा दिन थालिएको बताउँछन् वरिष्ठ अधिवक्ता श्रेष्ठ । उनले भने, ‘मिनाहा पाउने कैदीको व्यवहार जेलमा सुध्रियो वा सुध्रिएन भनेर हेर्ने काम भएन ।’
स्वविवेकमा मनलाग्दी
जेलमा बस्दा कैदीको चालचलन असल भए नभएको परीक्षण गर्ने अधिकारी जेलर हुन् । ‘कैद कट्टा’ सिफारिस गर्ने अधिकार पनि जेलरलाई नै हुन्छ । सो अधिकार ‘स्वविवेकीय’ हुन्छ । तर, राज्य संयन्त्रमा भएका अधिकारीहरुले पाउने त्यस्तो स्वविवेकीय अधिकार दुरुपयोग हुने गरेको बताउँछन् वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल ।
वरिष्ठ अधिवक्ता खरेल भन्छन्, ‘स्वविवेकमा मनपरी गर्न दिनुभएन । सिफारिस गर्नेलाई उसको सिफारिस त्रुटिपूर्ण देखिए जिम्मेवार बनाउनुपर्छ तर, त्यो अभ्यास भएको छैन ।’
स्वविवेकीय अधिकारको प्रयोग राम्रोसँग नहुँदा कैदीहरु जेलबाट छुट्नासाथ पुनः नयाँ अपराधमा रमाउन थालेका छन् ।
बहुविवाहको कसुरमा सजाय पाएका सहित १७ कसुरमा संलग्नहरुको कैद कट्टा गर्न नमिल्ने कानुनी व्यवस्था छ । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी पाएका रुकुम पश्चिमका लोकेन्द्र बहुविवाह मुद्दामै जेल परेका थिए । उनलाई कानुनको दुरुपयोग गरेर कैद मिनाहा गरेको पाइएको छ ।
२७ वर्षीया प्रेमिका भावना विकले विवाह गर्न दबाब दिएपछि लोकेन्द्रले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।प्रहरीसँग लोकेन्द्रले भनेका छन्, ‘बहुविवाहको मुद्दा खेपेर निस्केको थिएँ, फेरि विवाह गर्दा पुनः त्यही मुद्दा खेप्नुपर्ने देखेपछि हत्या गरेको हुँ ।’
हार्डकोर अपराधीलाई छाड्न माफीसम्बन्धी कानुनको दुरुपयोग भएको बताउँछन् वरिष्ठ अधिवक्ता खरेल । रातोपाटीसँग खरेलले भने, ‘राजनीति र अपराधीकरणको नेक्ससलाई यस्ता घटनाले पुष्टि गरेको छ ।’
कैद कट्टा नहुने कसुर
राज्यविरुद्धको अपराध सहित १७ कसुर बाहेकका कसुरमा कैद कट्टा गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, कैद कट्टा गर्न असल चालचलन भएर कैदीले ५० प्रतिशत कैद भुक्तान गरेको हुनुपर्छ । राज्य विरुद्धका कसुरमा सजाय पाएको, युद्ध अपराध सम्बन्धी कसुरमा सजाय पाएको, विध्वंसात्मक अपराध सम्बन्धी कसुरमा सजाय पाएको, बालिकाबालिका विरुद्धको यौन शोषण वा हिंसा सम्बन्धी कसुरमा सजाय पाएको, बहुविवाहको कसुरमा सजाय पाएको, कैदबाट भागे भगाएको कसुरमा सजाय पाएको र अदालतको फैसला बमोजिमको दण्ड जरिवाना र बिगो तिर्न बुझाउन बाँकी रहेको कसुरमा कैद मिनाहा हुँदैन ।
त्यस्तै, जन्म कैदको सजाय पाएको, जबरजस्ती करणी सम्बन्धी कसुरमा सजाय पाएको, भ्रष्टाचार सम्बन्धी कसुरमा सजाय पाएको, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा सजाय पाएको, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा सजाय पाएको, लागु औषधको ओसारपसार तथा कारोबार सम्बन्धी कसुरमा सजाय पाएको, संगठित अपराध सम्बन्धी कसुरमा सजाय पाएको, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा सजाय पाएको, मानवता विरुद्धको अपराध सम्बन्धी कसुरमा सजाय पाएको र यातना वा क्रुर, निर्मम अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसुरमा सजाय पाएका कैदीको कैद मिनाहा गर्न मिल्दैन ।
पाँचौँ पटक पक्राउ
राष्ट्रपतिले माफी दिएका रामचन्द्र थापा अहिले पाँचौँ पटक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ मा बस्ने थापा विरुद्ध यसअघि २०७५ मंसिर १३ मा जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरेर कारागार कार्यालय चितवनबाट थुनामुक्त भएका हुन् ।
कर्तिक ८ मा साँझ उनले टेलिफोन गरेर अपहरण र हत्या गर्ने धम्की दिएपछि फेरि पक्राउ परेका छन् । रामचन्द्र थापा विरुद्ध यसअघि चितवनबाट ३ वटा र जिल्ला प्रहरी परिसर ललितपुरबाट एउटा मुद्दा चलेको थियो । थापा विरुद्ध २०६६ मा चोरी र अवैध हतियार देखाएर डाँका गरेको मुद्दा दर्ता भएको थियो । २०७३ मा जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्ध लागुऔषध मुद्दा र २०७५ मा जिल्ला प्रहरी कार्यालय चितवनले डाँका मुद्दा चलाएको थियो । अहिले उनी पाँचौँ पटक पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली