माछापुच्छ्रे गाउँपालिकाको पदयात्रीसँग शुल्क लिने निर्णयपछि व्यवसायी रुष्ट

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पालिकाभित्रका पदमार्गमा पदयात्रा गर्न जाने पर्यटकसँग प्रवेश शुल्क उठाउने निर्णय गरेको छ । पर्यटकीय क्षेत्रको व्यवस्थापनका लागि भन्दै पालिकाले आन्तरिक पर्यटकसँग एक सय र विदेशी पर्यटकसँग पाँच सय रुपैयाँ शुल्क लिने निर्णय गरेको हो ।
पदमार्गको पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान र फोहोर मैला व्यवस्थापनका लागि शुल्क लिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
तर पालिकाको निर्णयमा त्यहाँका व्यवसायीहरु चाहिँ रुष्ट बनेका छन् । उनीहरुले पर्यटकीय गन्तव्यलाई मास्न पालिकाले गलत निर्णय गरेको आरोप लगाए । अन्नपूर्ण सर्किट खुम्चिँदै गएपछि माछापुच्छ्रेका पदमार्गमा चहलपहल बढेको छ । मर्दी हिमाल ट्रेक पछिल्लो समय पदयात्री र पर्यटकको रोजाइमा परेको छ । यहाँ माछापुच्छ्रे मोडल ट्रेक र ग्रेट माछापुच्छ्रे ट्रेक गरी २ वटा पदमार्ग चर्चित छन् । पदमार्ग पर्यटनलाई प्रोत्साहन गर्नुपर्नेमा पालिकाले शुल्क लिने नाममा पर्यटक तर्साउने काम गरेको मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको गुनासो छ ।
पालिकाले निर्णय फिर्ता नलिए व्यवसायी विरोधमा उत्रिने उनको चेतावनी छ । ‘यस्तो पनि निर्णय हुन्छ ? आर्थिक मन्दीको बेलामा पदमार्ग र पर्यटकीय क्षेत्रमा सुविधा थप्नुपर्नेमा उल्टै शुल्क लिँदा पर्यटक कसरी बढ्छन् ?,’ उनले भने, ‘यो निर्णय सरासर गलत छ । पालिकाले फिर्ता लिनुपर्छ ।’ व्यवसायीसँग सुझाव नलिई एकलौटी रुपमा गरिएको निर्णय कुनै हालतमा नमान्ने उनको भनाई छ ।
पदयात्रा पर्यटनसँग सम्बन्धित संस्था ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान) ले पनि विज्ञप्ती निकालेर उक्त कदमको विरोध जनाएको छ । अध्यक्ष धर्मराज पन्थीले पालिकाको सूचनाले पर्यटन व्यवसायमा नकारात्मक सन्देश प्रवाह भएको बताए । ‘यो सूचना घातक छ । भर्खरै उदाउँदो पदमार्गमा पर्यटकसँग चर्को शुल्क लिने निर्णय पर्यटनमैत्री छँदै छैन,’ उनले भने, ‘कोरोनाले शिथिल बनेको पर्यटन क्षेत्रमा पर्यटकलाई झण्झट थप्ने जुन निर्णय भयो, यसले पर्यटकको मुड चेन्ज भएको छ । अन्य गन्तव्यतर्फ मोडिएका छन् ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले नै विदेशीसँग शुल्क लिने गरेको भन्दै दोहोरो शुल्क नलिन उनको आग्रह छ । एक्यापले सार्क देशका पर्यटकसँग एक हजार र तेस्रो देशका पर्यटकसँग तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क लिन्छ । पर्यटन विभागले पनि पर्यटन बोर्ड र टानसँग मिलेर पदयात्रा सूचना प्रणालीका लागि पर्यटकसँग शुल्क लिँदै आएको छ । सार्क राष्ट्रका पर्यटकसँग एक हजार र तेस्रो मुलुकका पर्यटकबाट दुई हजारका दरले शुल्क लिने गरेको छ । नेपालीसँग भने शुल्क उठाउने गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी
-
थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार
-
शिक्षक आन्दोलन किन ?
-
नवराज सुवेदी नेतृत्वमा हुने 'जनआन्दोलन'लाई राप्रपा नेपालको समर्थन तर कमल थापाको सट्टामा तारानाथले प्रतिनिधित्व गर्ने
-
राजावादीको जुलुसबारे कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ