प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुन्न : त्रिवि उपकुलपति बाँस्कोटा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् । बुधवार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताएका हुन् ।
उनले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्ताव समेत गरे । उपकुलपति बाँस्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरूको संघ, सङ्गठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने बताए ।
उनले भने– ‘विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था हटाई विश्वविद्यालयमा स्थापित भइसकेको ट्रस्टको प्रावधानको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गरिनुपर्दछ ।’
उपकुलपति बाँस्कोटाले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्ने बताए । हाल उच्च शिक्षाका लागि सरकारले १० प्रतिशतको हाराहारीमा बजेट विनियोजन गरेको छ । त्यसमा उल्लेख्य वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखी विश्वविद्यालयमा रूपान्तरण गर्न आवश्यक रहेको समेत उपकुलपति बाँस्कोटाको भनाई थियो ।
‘उच्च शिक्षामा राज्यले विनियोजन गर्दै आएको १० प्रतिशतको हाराहारीको बजेटलाई उल्लेख्य वृद्धि गरी सार्क मुलुकहरू सरह कम्तीमा २० देखि २५ प्रतिशतको हाराहारीमा पुर्याउनुपर्छ’ बाँस्कोटाले भने, ‘त्यसैगरी अनुसन्धान तथा विकास बजेटमा पनि सोही अनुपातमा वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखी विश्वविद्यालयमा रूपान्तरण गरिनुपर्छ ।’
उपकुलपति बाँस्कोटाले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक संगठनको आवरणमा बन्द गर्ने काम सदाको लागि अन्त्य गर्नुपर्ने, जनसङ्ख्याको आधारमा विश्वविद्यालयको सङ्ख्या निर्धारण गर्न ढिलाइ गर्न नहुने, भएका विश्वविद्यालय आर्थिक सङ्कटमा गुज्रिरहेकाले थप विश्वविद्यालय खोल्दै जाने काम गर्न नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई