‘राम्रा रचनाको अध्ययनले सर्जकलाई इन्धनको काम गर्छ’
निबन्धका क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्तित्व हुन् श्रीओम श्रेष्ठ ‘रोदन’ । हरेक साहित्यिक कार्यक्रममा पुग्ने रोदन अग्रज साहित्यकारकारहरूको चर्चा गर्छन्, साहित्य क्षेत्रमा भर्खरै प्रवेश गरेकाहरूलाई केही नयाँ सुझाव दिन्छन्, निरन्तरताका लागि पनि आग्रह गर्छन् । अनि साहित्यका क्षेत्रमा प्रवेश गर्दै गर्दाका आफ्ना अनुभवसमेत सुनाउँछन् ।
त्रैमासिक पत्रिका ‘प्राञ्जल’ मा २०३६ सालमा कविता प्रकाशित हुँदा उनी निकै उत्साहित भएका थिए । त्यो उत्साह उनमा निरन्तर छ । पहिलो सिर्जना कविता भयो, २ वटा कवित सङ्ग्रह नै प्रकाशित गरे । तर पनि उनले निबन्धमा नै बढी कलम चलाए । खासगरी कृष्णचन्द्रसिंह प्राधन र शङ्कर लामिछानेलाई आदर्श मान्ने रोदनका निबन्ध र नियात्राका ७ वटा कृति प्रकाशित छन् । त्यस्तैगरी कविता, लघुकथा, अन्तर्वार्ता गरेर उनका १३ वटा कृति प्रकाशित भइसकेका छन् । ‘अभिबन्द्य’ उनको पछिल्लो चर्चित निबन्ध कृति हो । प्रस्तुत छ नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’सँग शिखर मोहनले गरेको साहित्यिक वार्ता–
–हिजोआज के गर्दै हुनुहुन्छ ?
भूमिका लेखन, पाण्डुलिपि सम्पादन, विभिन्न साहित्यिक कार्यक्रममा गएर बोलिदिने गर्छु । त्यसका लागि पढ्नुपर्यो । आफ्नो पनि लेख्नै पर्यो । आफू अध्यक्ष भएको संस्था नेपाल स्रष्टा समाजका बैठक, विभिन्न कार्यक्रमहरूमा नै व्यस्त छु ।
साहित्यिक कार्यक्रममा असोज महिनामा साहित्यिक कार्यक्रमका लागि चितवन, नेपाल गञ्ज, कोहलपुर, जनकपुर गयौँ । केही दिनपछि लक्ष्मण गौतम र म साहित्यिक कार्यक्रमकै लागि उपत्यका बाहिर जाँदै छौँ । यस्तै यस्तैमा व्यस्तता छ ।
–यहाँको जन्म, शिक्षा र पारिवारिक पृष्ठभूमिबारे बताइदिनुस् न ?
मेरो जन्म ललितपुरको झम्सीखेलमै २०१९ सालको लक्ष्मीपूजाको साँझ भएको थियो । घरभरी दियो र बत्तिले झिलिमिली भएको बेला म जन्मिएको भन्नुहुन्थ्यो आमा । सानेपामा रहेको टीका विद्याश्रम भन्ने सामुदायिक स्कुलबाट शिक्षा आरम्भ भएको थियो । त्यहीँबाट एसएलसी पनि उत्तीर्ण गरेँ । पाटन क्याम्पसबाट स्नातक गरेँ । त्रिपद्म क्याम्पस पुल्चोकबाट बीएड गरेँ, भर्खरै सुरु भएको त्यस क्याम्पसमा धेरैजसो विद्यालयका हेडमास्टरहरू थिए । एमएड दोस्रो वर्षको परीक्षामा सहभागी भइन, अनि एमए त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अध्ययन गर्दागर्दै छोडेँ ।
परिवारमा त म, श्रीमती एउटा छोरा एउटी छोरी हौँ । बुवा नेसलनल ट्रेडिङमा काम गर्नुहुन्थ्यो । पछि जिल्ला सहकारी विभागमा, त्यहाँबाट अवकास लिएपछि होटेल शेर्पामा र पछि एउटा सहकारी संस्थामा गरी ८३ वर्षको उमेरसम्म जागिर नै गर्नुभयो ।
–पारिवारिक पृष्ठभूमि राम्रो रहेछ, खासै दुःख गर्नु परेन हैन ?
काठमाडौँको नेवार परिवारको छोरो भएका नाताले मैले गरेको दुःख सुनाएँ भने कसैले विश्वास गर्दैन । जिल्लाबाट आएका साथीहरूले सुनाउनु हुन्छ, त्योभन्दा कम दुःख गरेको होइन । मैले १३ वर्षको उमेरदेखि पसल सञ्चालन गरेको थिएँ । त्योबेला मेरो घर वरपर कहीँ पनि पसल थिएनन् । नजिकै एउटा शान्त भवन अस्पताल छेउमा एउटा पसल थियो । मैले कोल्ड स्टोर चलाएको थिएँ । पढ्थेँ, ट्युसन पढाउँथेँ । कराते पनि सिक्न जान्थेँ । क्याम्पसमा सिर्जनात्मक समूह पनि बनाएको थिएँ ।
स्नातक अध्ययन गर्दै गर्दा २०४२ सालतिर चुनाव पनि निकै रमाइलो साथ भएको थियो । त्यो समयमा पाटन क्याम्पसमा नयाँ बिल्डिङ बनेको थियो । मङ्गलराज जोशी सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो । नयाँ बिल्डिङतिर एकदमै फोहोर र हिलो थियो । मैले आफ्नो नेतृत्वमा फूलबारी समूह निर्माण गरेँ । त्यसअघि नै म नाटकहरू सञ्चालन गरिरहन्थेँ । मेरै निर्देशनमा राष्ट्रिय नाचघरमा नाटक देखाएर केही पैसा सङ्कलन गरेँ । त्यो पैसाले वनस्पति विभागबाट बिरुवा ल्याएर वृक्षरोपण गरेँ । त्यो हिलो ठाउँमा माटो थपेर बस्ने बेन्ची बनाएर एउटा राम्रो बगैँचा निर्माण गरेँ । त्यसको नेतृत्व गरेकाले धेरै लोकप्रिय भएँ ।
त्यतिबेला चुनावमा अखिलले, नेविसङ्घले, फेडरेसनले सबै समूहले मलाई सहयोग गर्छौं भनेका थिए । तर राजनीतिक रूपमा म कतै आबद्ध थिइनँ । बाहिर राजनीति बन्देज भए पनि स्ववियु चुनाव खुला थियो । तर मैले कतै आबद्धता देखाएको थिइनँ ।
प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सवमा भाग लिइरहेको थिएँ, रिहलसल गरिरहेको थिएँ । त्यो दिन (शुक्रबार) नोमिनेसनको हुँदै थियो । क्याम्पस जान पाइनँ । आइताबार क्यम्पस आउँदा म त नेविसङ्घको अध्यक्षको उम्मेदवार भइसकेको रहेछु । मलाई थाहै छैन । भित्ता भित्तामा पम्प्लेट पोस्टरमा मेरो नाम थियो ।
अनि मैले विद्रोह गरेँ । मलाई जानकारी नै नदिईकन, मलाई थाहै नदिईकन म कसरी उम्मेदवार भएँ भनेँ । नेविसङ्घको सभापतिले त्यसबेला घरमै आएर धेरै सम्झाउने प्रयास गरे । बहिर नबोलिदिनु भने । तर पनि मलाई चित्त बुझेन । मेरो स्वीकृति र हस्ताक्षरबिना कसरी उम्मेदवारी दर्ता गर्नुभयो भने । सहयोग गर्छु त भनेको थिएँ तर उम्मेदवारी दर्ता गर्छु भनेको त होइन भनेर एउटा फोरममा बोलेँ । अनि पछि अखिलको पो भएँ । त्यतिबेला मेरो विचारधारा कतैको पनि थिएन । अनि अखिलको स्वयं सेवक, नेविसङ्घको उम्मेदवारको कार्ड लगाएर भोट हाल्न त गएँ तर आफैँलाई पनि भोट हालिनँ । किनभने मलाई इच्छा नै थिएन ।
–प्रारम्भिक समयमा तपाईंले देखेको नेपाली साहित्यको परिवेश कस्तो थियो ?
नयाँ मान्छेलाई सिक्नका लागि र नयाँ मान्छेले पत्रपत्रिकामा स्थान पाउनका लागि सानो सानो युद्ध जितेजस्तो हुन्थ्यो, धेरै दुःख थियो । म २०४० सालदेखि ‘नयाँ मार्ग’ भन्ने हरेक मङ्गलबार निस्कने साप्ताहिक पत्रिकामा स्तम्भ लेख्थेँ । त्यसको सम्पादक लक्ष्मणबहादुर विष्टले मलाई फोरम दिनुभएको थियो । त्यतिबेला अलि स्थापित पत्रिका भनेका गरिमा र मधुपर्क त थिए अनि रचना, अभिव्यक्ति मात्र थिए । ती पत्रिकामा रचना आउनु भनेको एउटा पदक जितेको जस्तो हुन्थ्यो ।
दोस्रो कुरा आफूभन्दा अग्रजसँग सम्पर्क गर्न सकिँदैन थियो, माध्यम थिएन । नयाँ मान्छेलाई सभा समारोहमा काहीँ बोलाउँदैन थिए । अनि आफूले जे जान्यो त्यही लेख्यो, त्यो अवस्था थियो ।
तर नयाँ हुँदा पनि मञ्जुलले मलाई धेरै प्रेरणा दिनु भयो । लेख्नलाई प्रेरित गरिरहनु भयो, लेख्नुस् भाइ तपाईं सक्नुहुन्छ भनिरहनुहुन्थ्यो । चेतन कार्की र मञ्जुल दाइको बसाइ सँगसँगै थियो । पुल्चोकमै बसाइ भएकाले उहाँसँग भेट हुन्थ्यो । उहाँले बोलाइरहनु हुन्थ्यो प्रायः उहाँको कोठामा गइरहन्थेँ । कविता, नियात्रा लेख्दा दौडेर देखाउन जान्थेँ । तपाईं नाटक गर्न घुमिरहनुहुन्छ, नियात्रा लेख्ने गर्नुस् भाइ भन्नुहुन्थ्यो । लेखेर उहाँलाई देखाउँथे । यो भएन, यो राम्रो छ भन्नु हुन्थ्यो । प्रारम्भमा कसैले अलि अलि माया गर्दा पनि धेरै फरक पर्छ स्रष्टाहरूलाई भन्ने शिक्षा मैले सिकेँ ।
त्यतिबेला २० को दशकका स्थापित र ३० का दशकका जो अहिले पनि चर्चित नै हुनुहुन्छ उहाँहरूका सिर्जना बढी पढ्न पाइन्थ्यो । परशु प्रधान, उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, विश्वविमोहन श्रेष्ठ, दिनेश अधिकारी, विष्णुविभु घिमिरे यी स्थापितहरू हुनुहुन्थ्यो । नयाँहरूलाई चिन्न पाउँदा पनि धेरै खुसी लाग्थ्यो आज प्रतिष्ठितलाई चिन्न पाएँ भनेर । त्यही कारण पनि नेपाल बैङ्कमा काम गरिरहेको मान्छे आर्थिक रूपले धेरै राम्रो थियो । मेरो रुचि भाषासाहित्यमै भएका कारणले बैङ्कको जागिर छोडेर २०४८ सालमा मधुपर्कमा गएको थिएँ । नेपाल बैङ्कमा खुला प्रतिस्पर्धामा नै गएको थिएँ त्यहाँबाट मधुपर्कमा सातौँ तहमा पनि खुला प्रतिस्पर्धाबाट गएको थिएँ । मधुपर्कमा प्रवेश गरेपछि बडा रमाइलो भयो ।
–सिर्जना क्षेत्रमा लाग्न केले प्रेरणा गराउँदो रहेछ ?
उमेर भन्छु म त । एउटा उमेरमा कविता नलेख्ने अथवा अनुभूति प्रकट नगर्ने मानिस कमै हुन्छन् होला । मिले नमिले पनि, छापे नछापे पनि कविता लेख्ने मान्छे धेरै हुन्छन् । त्यो उमेरले नै लेखायो मलाई । लेखेको कुरालाई मैले दबाइनँ । रुचि पनि राख्थेँ । अग्रज साहित्यकारहरूलाई भेट्न घरघर जान्थेँ । उनीहरूले साहित्यिक कार्यक्रमका बारेमा सुनाउँथे, त्यहाँ जान्थेँ । त्यस्तै विभिन्न साहित्यिक तथा साप्ताहिक पत्रिकामा रचनाहरू पोस्ट गर्दै पठाइदिन्थेँ, छापिन्थ्यो ।
–पहिलो सिर्जना चाहिँ के थियो ?
पहिलो सिर्जना कविता थियो । ‘प्राञ्जल’ भन्ने त्रैमासिक पत्रिकामा २०३६ सालमा प्रकाशित भएको थियो । तर त्यस कविताको शीर्षक भने अहिले बिर्सिएँ । २०४५ सालमा पहिलो कविता कृति प्रकाशित गरेको थिएँ । क्याम्पसको समय थियो एउटा उद्वेगले २५०० रुपियाँ खर्च गरेर ‘ललिता’ कविता सङ्ग्रह प्रकाशित गराएको थिएँ । कवि नारायण आचार्यले त्यसका लागि खुब सहयोग गर्नु भयो ।
त्यही हौसला र फुर्तिले २०४७ सालमा ७ जना कविका ७–७ वटा कविता राखेर एउटा कविता सङ्ग्रह निकाल्ने निर्णय गर्यौँ । त्यसमा ७ जना अग्रज स्रष्टाको भूमिका लेखाऔँ भनेर लाग्यौँ । त्यसको सम्पादन मैले नै गरेकाले भूमिका लेखाउन धेरै धाएँ । मोहन कोइराला, रमेश विकलले, केदारमान व्यथितले, सिद्धिचरण श्रेष्ठले, मञ्जुलले सबैले लेखिदिनु भयो । त्यस क्रममा सिद्धिचरणकोमा त मैले छ महिना जति धाएँ । हरेक दिन बिहान अलि चाँडै नेपाल बैङ्कमा हाजिर गरेर सिद्धिचरणको ओम बहालमा जान्थेँ । उहाँ बार्दलीमा घाममा बस्नुहुन्थ्यो, उहाँलाई आएका थुप्रै कृतिहरू हुन्थे, अनि ती पुस्तकका केही कुरा सुनाइदिनुपथ्र्यो । कथा, निबन्ध, नाटक, कविता सुनाउँथेँ । सुनाउँदा सुनाउँदै उहाँ झकाएर निदाउनु हुन्थ्यो । त्यहाँ म गएको चाहिँ भूमिका लेखाउनलाई ।
सिर्जनाका १३ कृति तयार भएका छन् । सम्पादन गरेका चाहिँ १७ वटा पुस्तक प्रकाशित भएका छन् । सिर्जनामा मूलतः निबन्ध र कविता नै हुन् । निबन्ध र नियात्रा गरेर ७ वटा, २ वटा कविताकासहित लघुकथा, अन्तर्वार्ता गरेर १३ वटा कृति प्रकाशित भइसकेका छन् ।
–निबन्धका क्षेत्रमा बढी परिचित हुनुहुन्छ, कस्ता निबन्धले तपाईंलाई प्रभावित पार्छ ?
विषयगत नभईकन एकदमै आत्मपरक, अनुभूतिजन्य, जसमा औपचारिक भाषा नहोस्, जीवनको संवेदनाको गहिरो तहसम्म पुग्ने गरेर लेखिएका निबन्धले मलाई बढी मन पार्छन् । यस्ता निबन्धले चाहिँ ट्याक्क छुन्छ ।
–निबन्धमा कतिवटा धार छन्, अहिले कुन धारमा अगाडि बढेको छ ?
यस विधामा आत्मपरक, वस्तुपरक, नियात्रा, अन्तर्वार्ता, निसमालोचना, भूमिकालाई पनि अहिले निबन्ध भन्न थालिएको छ । तर मूल निबन्ध भनेको, निबन्धको जुन प्राण हुन्छ त्यो भनेको आत्मपरक निबन्ध नै हो । तर आत्मपरक निबन्ध सुरुदेखि नै अभाव अभाव छ । मैले गत वर्ष पहिलो आत्मापरक निबन्धको सङ्ग्रह ‘समकालीन नेपाली निबन्ध’ सम्पादन गरेँ । मैले यसलाई एकदमै गर्वका साथ पहिलो आत्मपरक निबन्ध हो भनेँ । व्यक्तिगत निबन्ध त्यसअघि पनि थिए तर सम्पादन गरेको चाहिँ पहिलो सङ्ग्रह हो । आजभन्दा ३०, ४० वर्षअघिका निबन्धहरूमा पनि त्यही अभाव थियो । आत्मपरक निबन्ध लेख्ने मानिस छैनन्, कम छन्, बढ्न सकेनन्, त्यसप्रतिको आकर्षण बढ्न सकेन भनिन्थ्यो ।
यात्रा निबन्ध त एकदमै व्यापक थियो । अहिले पनि एकदमै बढी थियो । जसले पनि लेख्ने भए । त्यसका पाठक पनि बढे । यात्राका तुलनामा आत्मपरक बढी गहन, अलि बढी अनुभूतिजन्य भएका कारणले पनि अलि गाह्रो छ । यसलाई सिर्जनात्मक क्षमता पनि अलि बढी चाहिन्छ । कथा, उपन्यास, नियात्राका आआफ्नै आधार हुन्छन् । तिनै माथि टेकेर लेखियो । तर निबन्धको त्यस्तो आधार केही पनि हुँदैन । आफ्नै अनुभव, अनुभूति र सन्दर्भलाई विषय बनाएर निबन्ध लेखिने भएकाले सहज भएको हो ।
–निबन्ध लेख्न केके तत्त्व अनिवार्य हुन्छ ?
पहिलो कुरा त समाजले देखिरहेको, भोगिरहेको विषयलाई सर्जकले अझ फरक ढङ्गले देख्न र लेख्न सक्ने क्षमता हुनुपर्छ । किनभने यो समाज, यी मान्छेभन्दा फरक त विषय नै हुन सक्दैन । तर जुन एङ्गलले जुन दृष्टिले जेलाई देखिरहेको हुन्छ, त्योभन्दा फरक ढङ्गले परिकल्पना गर्न सक्नुपर्छ निबन्ध लेख्दा । अनुभूति सँगसँगै त्यसमा सत्यता पनि हुनुपर्छ ।
–निबन्ध लेखनमा प्रभाव पार्ने अग्रज कसैलाई देख्नु हुन्छ कि, कोही छैनन् ?
एकदमै धेरैबाट प्रभावित छु । तर शङ्कर लामिछानेको शिल्प र शैलीले एकदमै प्रभाव पारेको छ । किनभने उनका निबन्ध जति पटक पढे पनि हरेक पटक नयाँ अनुभूति हुन्छ । त्यस्तै मैले कृष्णचन्द्रसिंह प्रधान र उहाँका सिर्जनाहरूलाई अत्यधिक सम्मान गर्छु ।
मलाई मञ्जुल दाइले पहिल्यै पनि भन्नुहुन्थ्यो, ‘तपाईं निबन्ध लेख्न थाल्नु भयो भाइ, कृष्णचन्द्रसिंह प्रधानका सबै निबन्ध ल्याएर सिरानी लगाउनुस् ।’ शङ्कर लामिछानेको शिल्प र शैलीको कुरा भयो तर मचाहिँ असाध्यै प्रभावित भएको कृष्णचन्द्रसिंह प्रधानबाट हो ।
भैरव अर्यालका चाहिँ हास्यव्यङ्ग्य निबन्ध हुन् । उहाँका निबन्ध पनि एकदमै शक्तिशाली छन् । आफ्नै शैलीमा नभनीकन हास्यमा व्यङ्ग्य घुसाउन सक्ने क्षमता उनमा छ । थोरै उमेरमा त्यति धेरै रचना दिनसक्ने कमै छन् ।
–अहिलेसम्म कुन कुन साहित्यिक संस्थामा संलग्न हुनुभयो ?
धेरै संस्थामा संलग्न भएँ । २०३५ सालमा मैले पद्मा सांस्कृति ग्रुप गठन गरेको थिएँ । अहिले सुब्बा दाजु भनेर सिरियलहरूमा खेल्ने पूर्ण थापा, म र मनोज दुवाडीले नेतृत्व गथ्र्यौं । यसले धेरै साहित्यिक, सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्यो ।
२०४० सालमा युनाप (युवा नाट्य परिवार) भन्ने नाट्य संस्था स्थापना गरेँ । २०५२ सालमा ललितपुर कला संस्कृति प्रतिष्ठान स्थापना गरेँ । त्यसले सम्मान, अभिनन्दन लगायत धेरै कार्यक्रमहरू गर्यो । त्यसले प्रत्येक वर्ष गाईजात्राका अवसरमा ७ दिनदेखि १० दिनसम्म हास्यव्यङ्ग्य कार्यक्रम गथ्र्यो ।
२०५३ सालमै रमेश श्रेष्ठ, म र भिष्म उप्रेतीले सारंश नेपाल भन्ने संस्था स्थापना गर्यौँ । पछि प्रकाश सायमी, विप्रभजीहरू पनि आउनु भयो ।
२०६४ मा लघुकथा समाज नेपालको स्थापना गरेँ । लघुकथा विधा भताभुङ्ग स्थितिमा थियो । यसको सिद्धान्तबारे कतै चर्चा नभएको, इतिहास पनि थाहा नभएको स्थिति थियो । २०५३ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले झापाको धुलाबारीमा कथा र लघुकथाबारे एउटा कार्यक्रम गरेको थियो । रमेश विकल त्यसको संयोजक हुनुहुन्थ्यो । उहाँले बढीमा तीन सय शब्द लघुकथा बाचनाका लागि भन्नु भएको थियो । तर नेपाल बाहिरका नेपाली साहित्यकारहरू आसाम, दार्जिलिङ, कालिङपोङ, गुहाटी, मेघालयबाट आएकाहरूले लघुकथा भनेको सर्ट स्टोरी हो, सर्ट स्टोरी कसरी तीन सय शब्दको हुन्छ भनेर १५००, २००० शब्दको कथा वाचन गर्नुभयो ।
त्यसले मलाई लघुकथा विधा सम्बन्धमा केही गर्नुपर्छ भन्ने लाग्यो । म त्यतिबेला रेयुकाई नेपालमा सम्बद्ध थिएँ र अनि २०५४ सालमा राष्ट्रव्यापी लघुकथा प्रतियोगिताको आयोजना गरेँ । हुलाकबाट सिर्जनाहरू प्राप्त हुन्थे । ६७६ वटा लघुकथा सो प्रतियोगिताका लागि आएका थिए । पुरस्कार वितारण भयो तर त्यति धेरै चर्चा भएन ।
२०५५ सालमा फेरि राष्ट्रिय लघुकथा प्रतियोगिता गर्नु अघि अलि बढी चर्चा होस् भनेर अधिराजकुमारी श्रुतिलाई निमन्त्रणा गरेँ । उहाँ आइदिनुभएपछि यसले धेरै चर्चा पायो । सारा अखबारमा, टेलिभिजनमा, रेडियोमा लघुकथाको एकदमै चर्चा भयो । त्यसपछि निरन्तर लागिरहेँ । यस क्षेत्रमा उल्लेखनीय काम भएको छ ।
–अहिले नेपाल स्रष्टा समाजको अध्यक्ष हुनुहुन्छ, आफ्नो कार्यकालमा उल्लेखनी केके काम भए ?
२०७९ असोज ८ गते अध्यक्ष निर्वाचित भएको थिएँ । पुस १६ गते नेपाल स्रष्टा समाजको स्थापना दिवस पर्दोरहेछ । मैले १६औँ स्थापना दिवस भनेर ३ दिनको कार्यक्रम गरेँ । त्यस क्रममा संस्थापक अध्यक्षलाई सम्मान गरियो, दक्षिण एसियामा नेपाली साहित्यको स्थिति के छ भनेर अभि सुवेदी, महेश पौडेल, भिष्म उप्रेतीलगायतलाई कार्यपत्र प्रस्तुत गर्न लगाएँ । दुई महिनाभित्रै १६ भाषामा बहुभाषिक कवि गोष्ठी गराएँ । ‘स्रष्टा दर्पण’ पत्रिका प्रकाशन गरेँ । एक वर्षको अवधिमा विभिन्न जिल्लामा गएर १३ वटा कार्यक्रम गराएँ । अब दार्जिलिङ, मिरिक र सिक्किमको साहित्यिक यात्रामा जाँदै छौँ । स्रष्टा समाजलाई फेरि चर्चामा ल्याउने काम भएको छ ।
–सामाजिक सञ्जालमा चर्चित साहित्यकार र तिनका सिर्जना कतिका गुणस्तरीय छन् ?
सामाजिक सञ्जालमा मात्र चर्चित, स्थापित र वरिष्ठ देखिने साहित्य सबै भ्रम हो । यो चट्याङ पर्दा देखिने झिल्को जस्तो मात्रै हो । यस्ता स्रष्टा केही वर्षभित्र हराएर जान्छन् । टिक्ने भनेको १० प्रतिशत पनि हुँदैनन् । साहित्यमा चहलपहल, हल्ला, विज्ञापनको कुनै अर्थ छैन । सुरुमा अर्थ होला परिचयका लागि । तर विज्ञापन र हल्ला गरेर चर्चित हुन्छु भन्नु नेपाली साहित्यमा सबभन्दा ठूलो भ्रम हो ।
लेखक हुनलाई त सबैभन्दा पहिले सङ्कल्पित र प्रतिबद्ध हुनु पर्छ । त्यो पनि कृत्रिम होइन, हार्दिक रूपले प्रतिबद्ध हुनुपर्छ । साहित्य सिर्जना भनेको झिल्काझिल्की र विज्ञापन, चर्चा परिचर्चाको स्थान होइन, यो साधनाको क्षेत्र हो । त्यसैले निरन्तर लागिरहनुपर्छ । एक दुई वर्षमै सम्मान पत्र खोजिहाल्नु हुँदैन । किताब निकालिहल्नु हुँदैन, सङ्ख्या बढाइहाल्नु हुँदैन भन्ने धैर्य राख्ने क्षमता हुनुपर्छ । साहित्यमा आइसकेपछि लेख्दै अरूको पढ्दै परिमार्जन गर्दै गएपछि स्थापित हुने न हो । अभ्यासले नै हो ।
साहित्यमा आउने मान्छेले अध्ययन त गर्नैपर्छ । पछिल्लो समय मेरा यतिवटा पुस्तक भए भन्छन् तर अरूका पुस्तक खासै पढेको छैन भन्छन् । जतिवटा पुस्तक प्रकाशित भए पनि अरूका कृति पढिएन भने आफ्नो त गुफाभित्र आफैँ मात्र देखिए जस्तो मात्र हुन्छ । ऐनामा आफूलाई देखेजस्तो मात्र हुन्छ । अरूको नपढेपछि न शैलीको विकास हुन्छ, न त्यसको स्वरूप र विषयवस्तुमा विकास हुन्छ । त्यसैले लेखकका लागि अरूका राम्रा राम्रा रचना पढ्नु गुड्ने गाडीका लागि इन्धनको जस्तो काम गर्छ ।