नेपालमा अस्ट्रिच उत्पादनको सम्भाव्यता
अस्ट्रिच अफ्रिकामा पाइने स्ट्रुथियो क्यामेलस प्रजातिको सबैभन्दा ठुलो चरा हो । यसलाई नेपालीमा सुतुरमुर्ग पनि भनिन्छ । यो लगभग ८ फिट उचाइ र १५० किलोसम्म तौलको हुन्छ । चरा प्रजातिमा पर्ने यो पन्छी उड्न नसक्ने भए यो ६५ किमी प्रतिघण्टा दौडन सक्छ । अस्ट्रिच उत्पादनका लागि चट्टानी पहाडी क्षेत्र, खुला स्थान वा बलौटे मरुभूमि मैदानलाई उपयुक्त मानिन्छ । यो सर्वभक्षी पन्छी भएकाले लामा र शक्तिशाली खुट्टा हुन्छन् । यसले पन्छीमध्येमा सबैभन्दा ठुलो अण्डा दिन्छ ।
अस्ट्रिच मध्य र दक्षिणी अफ्रिकाका घाँसे मैदान वा सुक्खा हावापानी भएका बलौटे क्षेत्रमा प्रशस्त पाइन्छन् । अस्ट्रिचका भालेहरू पोथीभन्दा ठुला हुन्छन् । यसको लामो घाँटी, सानो टाउको, ठुला खैरो आँखा, छोटो तथा चौडा चुच्चो हुन्छ । दुईवटा फराकिलो औँला र पञ्जाको सहायताले हिँड्छन् ।
हुर्किएका अस्ट्रिचका काला, सेता पखेटा हुन्छन् । पोथी र अपरिपक्व अस्ट्रिच खैरो खैरो रङका हुन्छन् । टाउकोको प्वाँखले घाँटी छोप्छ । आँखा वरिपरि ठुला कालो प्वाँख हुन्छन् । खुट्टाका माथिल्लो भागमा प्वाँख हुँदैनन् । अस्ट्रिचका ठुला ठुला आँखा र तेजिलो दृष्टि हुन्छ । आँखामा रहेको विशेष झिल्लीले धुलो र बालुवाबाट बचाउँछ ।
अस्ट्रिचले सिकारीविरुद्ध रक्षाका लागि शक्तिशाली किकहरू हान्छन् । अस्ट्रिचले कहिलेकाहीँ घाँटी भुइँमा फैलाएर बस्छ । यो आसनले सुतुरमुर्गले बालुवामा टाउको लुकाउने मिथकलाई जन्म दिएको हुन सक्छ । घाँटी र टाउको पखेटामुनि राखेर सुत्छन् । तिनीहरू जङ्गलमा २० देखि ३० वर्षसम्म बाँच्न सक्छन् ।
अस्ट्रिचले फलफूल, बीउ, पातहरू र अङ्कुर जस्ता बोटबिरुवाहरू खान्छन् । यसले कहिलेकाहीँ कीरा, छेपारा पनि खान्छन् । आफ्नो गिजार्डमा खाना पिउन मद्दत गर्न ढुङ्गा निल्छन् । सुक्खा क्षेत्रमा हुने हुनाले पिउने पानी नभए पनि वनस्पतिबाट ओसिलो प्राप्त गर्दै लामो समयसम्म बाँच्न सक्छन् ।
पोथीहरूले बालुवामा अण्डा पार्छन् । अण्डाहरूको तौल लगभग १.४ केजीका हुन्छन् । भालेले राति अण्डाको रक्षा गर्छन् भने पोथीले दिउँसो इन्क्युब गर्छन् । इन्क्युबेसन अवधि लगभग ४० दिन हो । चल्लाले सुरक्षाका लागि वयस्कहरूलाई पछ्याउँछन् ।
पूर्वी अफ्रिकाका संरक्षित पार्कहरूमा अस्ट्रिचहरू अझै पनि सामान्य अवस्थामा छन् । १९ औँ शताब्दीको अन्तिमदेखि सुतुरमुर्ग पाल्न थालिएको हो । खाद्य प्रयोजनका लागि दक्षिण अफ्रिका, अल्जेरिया, अस्ट्रेलिया, फ्रान्स र संयुक्त राज्यमा व्यापक रूपमा पाल्न थालिएको थियो । अस्ट्रिचका प्वाँख (प्लम)हरू लुगाकपडा र ह्याट बनाउन प्रयोग गरिन्थ्यो । अस्ट्रिच प्लमको माग घट्दै गएपछि खेती घटेको छ । अस्ट्रिचको छाला विलासी छालाको रूपमा परिचय पाएको छ । अहिले अस्ट्रिच मासुका लागि पाल्ने गरिन्छ । दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै अस्ट्रिच फार्महरू छन् ।
अहिले प्वाँख, छाला, मासु, अण्डा र बोसोका लागि अस्ट्रिच पालन गरिन्छ । सोमालियातिर यसको मासु सेवनले एड्स र मधुमेह निको हुने विश्वास गरिन्छ ।
अस्ट्रिचको मासु अत्यन्तै पौष्टिक हुन्छ । यसमा कम मात्रामा बोसो, कोलेस्ट्रोल र क्यालोरी हुन्छ । गाई वा कुखुराको मासुको तुलनामा अस्ट्रिचको मासु स्वस्थकर हुन्छ । त्यसैले धेरैले अस्ट्रिचको मासु रोज्छन् । अस्ट्रिचको छाला मूल्यवान् हुन्छ । छाला नरम तर दह्रो हुन्छ । यसको विशिष्ट ढाँचाका प्वाँखका लागि प्रसिद्ध छ । आम्दानीका ठुलो हिस्सा छाला बिक्रीबाटै आउँछ ।
अस्ट्रिचको प्वाँखलाई इजिप्टमा न्यायको प्रतीकका रूपमा प्रयोग लिइन्छ । अस्ट्रिच अण्डाका खोलबाट विभिन्न कलाकृति बनाइन्छन् । यी खोलामा विभिन्न वस्तुका आकृतिहरू कुँदिन्छन् ।
खानका लागि अन्य अण्डाभन्दा स्वस्थकर हुन्छन् । यसमा कुखुराको अण्डामा भन्दा बढी फाइबर हुन्छ । पकाउँदा अण्डा अलि मीठो हुन्छ । यसमा ओमेघा ४ प्रशस्त मात्रामा पाइन्छ । यसले मस्तिष्कघात हुनबाट जोगाउन मद्दत गर्छ । यसमा प्रोटिनको मात्रा पनि प्रशस्त हुने र स्वाद पनि मक्खन जस्तो हुन्छ ।
नेपालमा अस्ट्रिच पालन गाईपालनभन्दा बढी लाभदायक छ । यसको प्रजनन दर उच्च छ । प्रति वर्ष यसले ४० भन्दा बढी चल्ला कोरल्छ । यसको गर्भावस्था करिब ४२ दिनको हुन्छ । राम्रोसँग हेरचाह गरेमा अस्ट्रिचहरू ३० वर्षभन्दा बढी बाँच्छन् ।
कार्की वरिष्ठ भेटेरिनरी हेल्थ म्यानेजमेन्ट कन्सल्टेन्ट हुन् ।