अस्ताउनै लागेको अन्नपूर्ण सर्किटलाई गुटरेसको सञ्जीवनी बुटी
पोखरा । सन् १९५० मा फ्रान्सेली नागरिक माउरिस हार्जोगको टोलीले पहिलो पटक अन्नपूर्ण आरोहण नगरिदिएको भए न अन्नपूर्ण सर्किट बन्थ्यो, न त पोखराको पहिचान यति बिघ्न बढ्थ्यो । एक हिसाबले भन्ने हो भने हार्जोगको त्यो हिमाल आरोहण पोखरा र समग्र गण्डकीका लागि पर्यटनको गेट–वे हो ।
हार्जोगले ‘दि अन्नपूर्ण’ नामक किताब लेखेपछि उनको पाइला खोज्दै पर्यटकहरु अन्नपूर्ण बेसक्याम्पसम्म आइपुगेका हुन् । हार्जोग फर्किएपछि पोखरामा हिप्पीहरुको आगमन बढ्यो । बिस्तारै पाहुनाका लागि घरहरु बन्न थाले । बास बस्दा र खाना खाँदा पाहुनाले पैसा तिर्न थाले ।
अन्ततः पोखरा विश्वको पाहुना घर बन्यो, उनीहरुको चहलपहल पर्यटन भयो । नौला अनुहारहरु बाक्लिन थालेपछि पोखराको फेवा किनार लेकसाइड बन्यो । पोखराको पर्यटन इतिहास खासै लामो नभए पनि विकासको रफ्तार छोटो छैन । खासगरी पोखरा र आसपासका पहाडहरु पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थाले । त्यहाँ पुग्ने बाटो ट्रेकिङ रुट बन्यो । हिमालका फेदीसम्म जाँदा बाटोमा भेटिने गाउँजति पाहुना घर र चिया पसल बने । वास्तवमै सन् १९६५ देखि २०१५ सम्मको अवधि ट्रेकिङ टुरिजमका लागि उल्लेख्य अवधि बन्यो । २०७२ को भूकम्पपछि पर्यटनको रफ्तारमा झ्याप्पै ब्रेक लाग्यो ।
त्यसपछिका वर्षहरु सम्झन लायक छैनन् । यहाँको पर्यटन सुस्ताउनुमा भूकम्पमात्रै कारण होइन, नेपालको विकास मोडल पनि हो । जुन समय धेरै पर्यटकहरु आए, त्यही समयमा नेपालका गाउँगाउँमा सडकको ट्रयाक खुल्यो । मान्छे हिँड्ने ट्रेकिङ रुटबाट गाडी गुड्न थालेपछि फिरन्तेहरुको उत्साह मर्न थालेको जानकारहरु बताउँछन् ।
सन् १८९९ मा जापानी भिक्षु कावागुचीले तिब्बत जाने क्रममा पोखरा भ्रमण गरेका थिए । सोही भ्रमणलाई लिएर पोखराको पहिलो औपचारिक पाहुना उनैलाई मान्ने गरिन्छ । कावागुचीले लेखेको पुस्तक ‘थ्री इयर्स इन टिबेट’ मा पोखराबारे प्रशंसा गरेका छन् । पर्यटनको यो युग आउनुमा एउटा घटनामात्रै काफी छैन । धेरैले योगदान गरेका छन् । हार्जोगको अन्नपूर्ण आरोहणसँगै नेपालको हिमाल आरोहण र आधार शिविरसम्म पुग्ने पदयात्राको सुरुवात भयो । कावागुचीको भ्रमणले धार्मिक पर्यटकहरु आउन थाले ।
एउटा तथ्याङ्क अनुसार सन् १९५७ मा पोखरामा पदयात्रा गर्न एकैपटक १ सय ६२ पर्यटक आएका थिए ।
पोखराको यतिबिघ्न प्रचार हुनुमा पोखरा घुमेर फर्केकाहरुको समर्थन हो । सन् १९९६ मा जर्मन उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघले गरेको अध्ययनले पोखराको पर्यटनको बजारीकरणमा सबैभन्दा बढी सहयोग घुमेर फर्केकाहरुको छ । पोखरा आउने पर्यटकमध्ये ६५ प्रतिशत आफूभन्दा अघि घुमेर फर्किएकाहरूले गरेको वर्णनका आधारमा पोखरा आउने गरेका छन् । सन् २०१७ मा पोखराको पर्यटनबारे गरिएको एउटा शोधपत्रमा मौखिक रुपमा गरिएको वर्णनका आधारमा ५२ प्रतिशत पर्यटक आउने गरेको देखाएको छ ।
सुरुमा मुखैमुखबाट प्रचार भएको पोखरेली पर्यटन प्रवर्द्धन र बजारीकरण भने सन् १९९० पछिमात्रै भएको थियो । एक समय चकाचक चलेको पोखरा र आसपासको पर्यटन बजार विस्तारै सुस्ताउने अवस्थामा पुगेको थियो । भूकम्प, नाकाबन्दी, कोरोना संक्रमण र विश्वमा बेलाबखत हुने द्वन्द्व र युद्धको प्रत्यक्ष प्रभाव पोखराले भोगेको छ । अहिले आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेको पोखरेली पर्यटनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमणले मलम लाग्ने विश्वास गरिएको छ ।
खास भन्ने हो भने, हार्जोगले शिलान्यास गरेको अन्नपूर्ण क्षेत्रको विकासमा गुटरेसले उत्कृष्ट ईंटा थपिदिएका छन् । समग्र पोखराका पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले गुटरेसको भ्रमण पोखरा र गण्डकीको लागि बरदान साबित हुने बताए ।
‘जसरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेपछि हजारौँ धार्मिक पर्यटकको आगमन बढेको छ । यो भ्रमणले पनि अन्नपूर्ण बेसक्याम्प र पोखराको लागि बयान गर्नै नसक्ने गरी सहयोग मिलेको छ,’ उनले भने, ‘हिमाल चढ्ने सुरुवात अन्नपूर्णबाटै भएको थियो । विभिन्न कारणहरुले अन्नपूर्ण सर्किट अलि अस्ताउला भन्ने लागेको थियो । यो भ्रमणले उत्साह थपेको छ । अन्नपूर्ण सर्किट ट्रेक गर्ने पर्यटक धानिनसक्ने हुन्छन् ।’
उनले गुटरेसको भ्रमणलाई गर्वको रुपमा लिएको बताए । ‘यो भ्रमण हाम्रा लागि महत्त्वपूर्ण छ । समग्र पोखरेली र गण्डकी प्रदेशका पर्यटन व्यवसायीले गर्वको रुपमा लिएका छौँ । यसले पोखराको पर्यटन प्रवर्द्धन र विकासमा कोशेढुंगा सावित हुनेछ,’ श्रेष्ठ भन्छन्, ‘हिमाल मन पराउने र प्रकृतिसँग रमाउन चाहनेहरुलाई पोखराले निम्तो दिएको छ । पोखरा र अन्नपूर्ण बेसक्याम्पलाई संसारले चिन्ने अवसर मिलेको छ । यो अवसरलाई क्यासमा परिवर्तन गर्न सक्नुपर्छ । संसारभरि प्रचार गर्नुपर्छ ।’
पोखरा महानगरका मेयर धनराज आचार्य गुटरेसको भ्रमणले विश्वको ध्यान पोखरा र अन्नपूर्ण बेस क्याम्पमा केन्द्रित भएको बताउँछन् । ‘यो भ्रमणले पोखरा पर्यटनको राजधानी हो भन्ने पुष्टि गरेको छ । अन्तर्राष्ट्रियस्तरमै पोखरा र अन्नपूर्ण बेस क्याम्पको प्रचार प्रसार भएको छ,’ उनले भने, ‘सबैले यहाँका बारेमा सुनेका छन्, हेरेका छन् । यो त हाम्रा लागि महत्त्वपूर्ण अवसर हो ।’
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङ गुटरेसलाई स्वागत गर्दा पर्यटनमा ऊर्जा मिलेको बताउँछन् । ‘हाम्रो समयमा यति ठुलो पाहुनालाई पहिलो पटक स्वागत गर्न पायौँ । माउरिस हार्जोगबारे सुन्थ्यौँ, पढ्थ्यौँ । उहाँकै देनले हजारौँको रोजीरोटी चल्यो,’ उनले भने, ‘बिस्तारै यहाँको पर्यटन सुस्ताउन लागेको थियो । यो भ्रमणले फेरि उत्साह भरियो ।’
भीआइपीको भ्रमणस्थल गण्डकी
पोखरा र गण्डकी प्रदेश अन्तर्राष्ट्रिय भीआइपीको आकर्षण बनिरहेको छ । सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयाले पोखरा भ्रमण गरिन् । सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्ण पनि पोखरा आए । २०७२ सालमा सार्क मन्त्रिस्तरीय बैठक पोखरामा बस्यो । भूकम्पपछि बेलायती राजकुमार ह्यारीले पोखरा हुँदै गण्डकीको भ्रमण गरे । २०७३ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जीदेखि २०७६ मा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसम्मले यहाँको भ्रमण गरे ।
२०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरे । उनीहरुको भ्रमणले संख्याको अर्थ राख्दैन, दशककै पर्यटनमा प्रभाव पार्छ । त्यसबाहेक थुप्रै अन्तर्राष्ट्रिय कलाकार र सेलीब्रेटीहरु पोखरा र आसपासका क्षेत्रमा आएका छन् । सबै भ्रमणहरु यहाँका लागि अचुक बरदान सावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने