मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

पर्वतमा सयपत्री फूलको व्यावसायिक खेती

मङ्गलबार, १४ कात्तिक २०८०, १९ : ४४
मङ्गलबार, १४ कात्तिक २०८०

पर्वत । पर्वतमा पहिलोपटक सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । घर वरिपरि तथा करेसाबारीमा प्राकृतिक कारणले उम्रिएका फूलका बोटबाट उत्पादित फूलले दसैँ, तिहार तथा विभिन्न मेला महोत्सवमा माला तथा फूलको प्रयोग गर्दै आए पनि जिल्लामै पहिलो पटक दक्षिण पर्वतको विहादी गाउँपालिका–६, शालिग्रामस्थित हनुमानडाँडाका एक युवाले व्यावसायिकरुपमा फूल खेती सुरु गरेका हुन् । स्थानीय मेघनाथ भट्टराईले चालु आर्थिक वर्षदेखि परीक्षणको रुपमा गरिएको फूलखेती सफल भएको छ ।

भट्टराईले पशुपक्षी तथा कृषि फार्ममार्फत व्यक्तिगत लगानीमा झण्डै दुई रोपनी जमिनमा सयपत्री फूल लगाएका छन् । अहिले परीक्षणको रुपमा लगाइएको फूलले बजार राम्रो पाएमा व्यवसाय विस्तार गर्दै जाने योजनासमेत बनाए । विभिन्न प्रकृतिका सयपत्री फूल बिक्रीबाट यसवर्ष न्यूनतम रु दुई लाखभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ । तिहारको बेला फूल बिक्रीका लागि स्थानीय सेतीवेणी बजार, हुवास, स्याङ्जा, वालिङलगायत बजारमा पठाउने तयारी गरेकोसमेत भट्टराईले बताए ।

जिल्लाभर फूलको खेतीगर्ने र बिक्रीवितरण गरी आम्दानी गर्ने प्रचलन नभएपपछि उनले विभिन्न सञ्चारमाध्यममा देखेको भरमा उक्त खेती गर्न सुरु गरेका हुन् । सुरुवातमा रु ५० हजार लगानी गरेर फूलको खेती गरिएको भट्टराईले बताए । गत साउनमा लगाइएका सयपत्रीका बिरुवा अहिले फुलेर लटरम्म भएका छन् । नेपालीको दोस्रो ठूलो पर्व तिहारसमेत नजिकिँदै गएका बेला बारीभरी पहँेलपुर बनेको फूलले सहजै बजार पाउने भट्टराईको विश्वास छ । कोदो र मकै खेती हुने बारीमा यस वर्षदेखि फूलखेती गरिएको हो । “मकै लगाए बाँदरले सखाप पारिदिन्छ, त्यो भन्दा फूलखेती गरेमा धेरै आम्दानी गर्न सकिएला भन्ने ठानेर कोदो र मकैको सट्टा फूलखेती गरेको हुँ,” उनले भने । 

यसअघि पर्वतका सातवटै पालिकामा यसरी व्यावसायिकरुपमा फूल लगाएको नपाइएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताए । उनले अन्य समयभन्दा तिहारको बेला बाहिरबाट लाखौँको फूल र माला आयात हुने गरेको बताउँदै जिल्लामै उत्पादन भएमा फूल आयात गरिरहनुनपर्ने समेत बताए । बाहै्रमास सयपत्री उत्पादन गर्न सकेमा कुनैपनि सभा समारोहमा बाहिरबाट फूल आयात गर्न नपर्ने र व्यावसायीले  समेत मनग्गे आम्दानी गर्न सकिने अध्यक्ष अधिकारीले जानकारी दिए । विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मोहन बस्यालले जिल्लामै व्यावसायिक रुपमा सयपत्रीको फूलको खेती गर्ने भट्टराई पहिलो किसान भएको जिकिर गरे । 

वडामा उद्यमशील बन्छु भन्ने हरेक नागरिकलाई आफूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उहाँले मौसमी तथा बेमौसमी सयपत्री फूलको व्यावसायिक खेती टिकाउन सके विदेशबाट आयातित फूल र प्लास्टिकका माला विस्थापित हुने र वातावरणीय प्रदूषण हट्ने जानकारी दिए । तिहारमा जतिसक्दो प्राकृतिक फूलबाट बनेका माला लगाएर स्थानीय फूल उद्यमीलाई  प्रवर्द्धन गर्नसमेत आग्रह गर्दै वडाध्यक्ष बस्यालले यस अघि एक रोपनी क्षेत्रफलमा अदुवा, बेसार र खुर्सानी लगाउने किसानलाई प्रति व्यक्ति रु २० हजार अनुदान उपलब्ध गराएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप