तीव्र गतिमा सेवा विस्तार गर्दै हेटौंडा अस्पताल
हेटौंडा । मकवानपुरको एकमात्र सरकारी हेटौंडा अस्पतालले आफ्नो सेवा विस्तार गरिरहेको छ । केही दिन अघि मनोरोग वार्ड सञ्चालनको उद्घाटन गरेको अस्पतालले एमआरआई सेवा र मानव अंग प्रत्यारोपण सेवासमेत सुरु गर्ने तयारी गरेको छ ।
बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त प्रादेशिक अस्पतालले अत्याधुनिक एमआरआई मेसिन जडानको काम गरिरहेको छ । प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाले उपलब्ध गराएको १.५ टस्ला एमआरआई अस्पतालले जडान गरी सञ्चालनमा ल्याएको हो ।
नयाँ भवनसहित उक्त एमआरआई सञ्चालनमा ल्याउन केन्द्रले १६ करोड रुपैयाँ खर्च गरेको छ । केन्द्रले युनाइटेड इमेजिङ्गको एमआरआई टेन्डर खुलाएर सप्लायर्समार्फत् अस्पताललाई उपलब्ध गराएको हो ।
हाल उक्त एमआरआई सञ्चालनको लागि हिलियम राख्ने काम भइरहेको छ भने आगामी केही सातामा सो काम सम्पन्न भई संगै सञ्चालनमा आउने हेटौंडा अस्पतालका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले जानकारी दिए ।
एमआरआई सेवाको पनि सुरुवात भएसँगै हेटौंडामा नै जटिल रोगको उपचारमा सहज हुने उनले बताए । उनका अनुसार उक्त एमआरआई मेसिन सञ्चालनमा आएसँगै दैनिक ४० जना बिरामीहरुलाई सहजै सेवा उपलब्ध गराउन सकिनेछ ।
सो एमआरआइ मेसिन सञ्चालनका लागि ३ जना रेडियोलोजिष्ट र ४ जना रेडियोग्राफर अस्पतालमा रहेको उनले बताए । उक्त जनशक्तिमार्फत् चौबीसै घण्टा सेवा दिन सक्ने अवस्थामा अस्पताल रहेको उनको भनाई छ ।
केही समय अघिमात्र अस्पतालमा सिटी स्क्यान सेवासमेत सुरु गरिएको मेसु डा. सापकोटाले बताए । अस्पतालले १२८ स्लाइसको सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएको र हाल चौबीसै घण्टा सेवा प्रवाहको काम भइरहेको उनको भनाई छ ।
मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनको तयारी
हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको ५ करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो ।
अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा काम अघि बढाएको हो । केन्द्र र अस्पतालबिच सम्झौताअनुसार हाल मिर्गौला प्रत्यारोपणका लागि निर्मलीकरण र अपरेसन थिएटर स्थापनाको काम भइरहेको हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले यस वर्ष ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने उक्त रकम ठेक्कामार्फत् ५ करोड रुपैयाँमा काम गरेको थियो । टेन्डर मार्फत् अस्पतालमा २ वटा मोडुलर ओटी निर्माण गरिएको र आगामी मंसिरमा सो ओटीको काम सम्पन्न हुने उनले बताए ।
चालु आर्थिक वर्षमा प्रत्यारोपण सेवा सञ्चालन गर्ने उद्देश्यअनुसार काम गरिएको भएपनि प्रदेश सरकारबाट पर्याप्त मात्रामा बजेट प्राप्त हुन नसकेको उनको भनाई छ ।
चालु आर्थिक वर्षमा विभिन्न कामहरु गर्न थप ४ करोड रुपैयाँ आवश्यक हुने भएपनि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ मात्र प्राप्त भएको उनले बताए । यद्यपि, प्रत्यारोपण सेवा सुरु गर्नेतर्फ अस्पताल अग्रसर रहेको र बजेटका लागि पहल भइरहेको उनले बताए ।
२५ शय्याको मनोचिकित्सा वार्ड
अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइएको छ । गत कात्तिक ७ गते प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालको उक्त वार्ड उद्घाटन गरेका हुन् ।
अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. सापकोटाका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालन ल्याइएको हो । गत असारबाट अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत् सेवा प्रवाह गर्दै आएको र हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवा दिने अस्पतालले तयारी गरेको हो ।
अस्पतालमा स्थापना गरिएको उक्त वार्डको केही प्राविधिक र व्यवस्थापकीय कामहरु पुरा गर्न बाँकी छ । सम्पूर्ण काम छिट्टै नै सम्पन्न गरी सो वार्डलाई मंसिरबाट पूर्ण क्षमतामा सेवा प्रवाह गर्ने उनले बताए । सो वार्ड सञ्चालनका लागि थप एकजना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुल्ला गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा