शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी प्रवक्तालाई प्रश्न : सत्तामा बसेर सडक संघर्ष किन ?

विशेष रूपान्तरण अभियानअन्तर्गतकै कार्यक्रम भएको जिकिर
मङ्गलबार, १४ कात्तिक २०८०, १७ : ४७
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । सत्तारुढ माओवादी केन्द्रले प्रतिगमनविरुद्ध सडकमा जनपरिचालन र खबरदारी सभा गर्ने निर्णय गरेपछि यसबारे टीकाटिप्पणी सुरु भएको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिगामी शक्तिबाट संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै जनतामा खबरदारी गर्न मंसिर २२ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन र सभा गर्ने निर्णय सहितको परिपत्र जारी गरेको थियो । 

तर उक्त निर्णयको विषयमा आलोचना सुरु भएपछि माओवादी बचाउमा उत्रिएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनको कार्यक्रम कुनै विरोध प्रदर्शनको कार्यक्रम नभइ पूर्व घोषित तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गतकै जनपरिचालनमुलक कार्यक्रम भएको जिकिर गरेका हुन् । 

तर गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सार्वजनिक रूपमै आक्रमक अभिव्यक्ति दिँदै आएका छन् । पछिल्लो पटक असोज २९ गते सुदूरपश्चिमको धनगढीमा भएको समाजवादी मोर्चाको सभामा लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिएका थिए । यद्यपि साउनको तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तर्क्रिया, विचार गोष्ठी, सभा गर्ने  निर्णय गरेको थियो । 

यसरी देशको  अभिभावक नै सडक प्रदर्शनमा उभिनु कति औचित्यपूर्ण छ भन्ने विषयमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जवाफ फर्काएका छन् । 

‘व्यवस्थाको रक्षा र विकास नियमित प्रक्रिया हो । अलिकति अराजक गतिविधिहरू पनि देखा परेको छ । ती गतिविधिबारे जनतालाई थाहा दिनु जरुरी छ । सबै कुराको निक्र्यौल गर्ने जनताद्वारा नै हो । त्यसकारण त्यस अर्थमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो’, प्रवक्ता  सापकोटाले बताए । 

सापकोटाले जनपरिचालन अग्रगमन, परिवर्तन, लोकतान्त्रिक गणतन्त्रलाई रक्षा, सुदृढीकरण पक्षमा रहेको दाबी गरे ।  

‘हाम्रो जनपरिचालन अग्रगमनको पक्षमा, परिवर्तनको पक्षमा, लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने, सुदृढीकरण गर्ने पक्षमा छ । यसलाई सुदृढ गर्न नचाहनेहरूलाई सह्य हुँदैन’, उनले भने, ‘उनीहरूले आलोचना गर्छन्, त्यसको कुनै अर्थ छैन । त्यसकारण जनतामा जानु राजनीति पार्टीको जिम्मेदारी हो । हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । त्यो साँचो हो । तर यो पार्टीले राखेको कार्यक्रम हो ।’ 

यो जनपरिचालन वृहत् र नियमित परिचालन भएको उनले जिकिर गर्दै भने– ‘यो परिचालन वृहत् जनपरिचालन हो, जुन अहिले पनि भइरहेको छ । यो पहिले नै घोषित कार्यक्रम हो । तेस्रो चरणमा जनप्रदर्शन गर्ने निर्णय साउनको तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकले गरेको थियो । केन्द्रीय  समिति बैठकको निर्णय अनुसार नै जनपरिचालन गर्न खोजेको हो ।’

साथै उनले समाजवादी मोर्चाको तर्फबाट पनि छिट्टै जनप्रदर्शनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।   ‘नेपाल भ्रमणमा रहेका युएनका महासचिव फर्किएपछि मोर्चाको बैठक बस्छ । अहिले मिति तोकिएको छैन । कार्यक्रमका स्वरूप जनपरिचालन, अन्तर्क्रिया, गोष्ठी, सभाहरू हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्छ । सुदृढीकरण गर्नुछ । त्यसको रक्षा र सुदृढीकरण गर्ने शक्तिको स्रोत भनेको जनता हो । जनपरिचालन गर्ने, जनविश्वास लिने, भ्रष्टाचारविरूद्ध अभियानका कुरा छन् । यी समग्र विषयमा जनपरिचालन गर्ने उद्देश्यका साथ प्रदर्शन र सभा गर्ने निर्णय हुनेछ’, उनले भने ।  

अभियानको बिचमा दसैँ, तिहार, छठ जस्ता चाडपर्व परेकाले एक महिना म्याद थप गर्ने निर्णय भएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप