मलेसियालाई हराउन नेपालले १ सय ६६ रन बनाउनु पर्ने
काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियाबाट जितका लागि एक सय ६६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको हो ।
मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ रनको योगदान गरे । अर्का ओपनर जुबैदी जुल्किफले पनि २४ रन बनाए । मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो । नेपाली टोलीका बलर अविनाश बोहराले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएका थिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक-एक विकेट हात पारे ।
मलेसियाको पहिलो विकेट नेपाली टोलीका बलर अविनाश बोहराले लिएका थिए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुल्किफीलाई कुशल मल्लद्वारा क्याच गराएका थिए । जुबैदीले १६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । उनी आउट हुँदा मलेसियाले ५.५ ओभरमा ५८ रन बनाएको थियो ।
मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका थिए । रनआउट भई पेभेलियन फर्किनुअघि उनले चार बलको सामना गरी तीन रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको थियो ।
करण केसीले बल विकेटकिपर आसिफ शेखलाई दिएका थिए । त्यसपछि आसिफले मलेसियाका कप्तानलाई रनआउट गराएका थिए । पालीको गतिलो सुरुआत गरेको मलेसियाले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो ।
मलेसियाको तेस्रो विकेट नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले मलेसियाका चौथो नम्बरका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको थियो ।
मलेसियाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले मलेसियाका पाँचौँ नम्बरका ब्याट्सम्यान सरविन मुनिन्डीलाई १३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । रोहित आफैले उनको क्याच लिएका थिए । सरविनले १२ बलमा दुई चौका पनि हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४ ओभरमा एक सय १९ रन बनाएको थियो ।
मलेसियाको पाँचौँ विकेट गुल्सन झाले लिएका थिए । उनले क्रिजमा जमिसकेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई पेभेलियन फर्काएका थिए । गुल्सनले सैयद अजिजलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए ।
सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेलेका थिए । उनले ६८ रन बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४.४ ओभरमा एक सय २५ रन बनाएको थियो ।
मलेसियाले छैठौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका थिए । मलेसियाको सातौँ विकेट भने अविनाश बोहराले लिएका थिए । उनले मलेसियाका ब्याट्सम्यान मुहम्मद अमिरलाई आठ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए ।
उनी आउट हुँदा मलेसियाले १७.२ ओभरमा एक सय ४१ रन बनाएको थियो । अविनाशले लिएको यो दोस्रो विकेट थियो । मलेसियाको आठौँ विकेट अविनाश बोहराले लिएका थिए । उनले मलेसियाका स्याजरुल इद्रुसलाई सात रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका थिए ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’