शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
दसैँ समीक्षा

दसैँमा सुधार्नु र त्याग्नुपर्ने कुराहरू

मङ्गलबार, १४ कात्तिक २०८०, १३ : ४०
मङ्गलबार, १४ कात्तिक २०८०

सदा झैँ यो वर्ष पनि दसैँ नजिकिँदै गर्दा दसैँ बहिष्कार र दसैँको समर्थनमा तर्क वितर्क गरिए ।  दसैँको सान्दर्भिकता र दसैँको लामो बिदा र यसको औचित्य बारे प्रश्नहरू उठे । दसैँको समर्थन र विरोध दसैँ रूपमा धार्मिक र सांस्कृतिक चाड भए पनि यसको सार राजनीतिक मानिन्छ । दसैँ मूलतः हेजेमोनी अर्थात् वर्चस्वको पर्व हो भन्ने विचारमा तर्क आए र मान्छेहरूले कतै बहिष्कार कतै सेतो टीका र कतै कालो टीका लाएर दसैँलाई मनाए । दसैँको टीकामा रङको विविधता थपियो । रातो, सेतो र कालो ।  

यसको राजनीतिक र धार्मिक अर्थ खोज्दा दसैँको सन्दर्भपरक विरोध गर्न सकिन्छ । मिथकीय सन्दर्भमै जाने र विश्लेषण गर्ने हो भने गैरहिन्दु आदिवासी जनजाति र दलितका लागि दसैँ बहिष्कार योग्य धार्मिक पर्व हो, यो पक्ष एउटा फरक परिस्थतिको उपज थियो । यद्यपि त्यो धेरै पुरानो र काल्पनिक हो । त्यसलाई विज्ञानले प्रमाणित गरेको छैन । दसैँको धार्मिक र राजनीतिक अर्थ र उद्देश्य जे निकालिए पनि दसैँ सामाजिक महत्त्वको भइसकेको छ । यद्यपि दसैँबारे भ्रम सत्य र अफवाहका अनेकन खेती दसैँका समर्थक र विरोधीहरूले गरिरहन्छन् । दसैँलाई ऐतिहासिक र पौराणिक किंवदन्ती मान्ने र दसैँको किंवदन्तीमा आफूमाथि अन्याय भयो भन्नेहरूले यदाकदा अतिरन्जना गरेर आफ्नो पक्षमा विचार प्रवाह गरि रहन्छन् । 

दसैँलाई यसको इतिहाससँग वर्तमानमा तुलना गर्दा कम रूढिग्रस्त छ । हाल आएर अरू धर्म र संस्कृतिको अस्तित्व यसले निषेध र वञ्चितीकरण गरेको छैन । दसैँ लामो समय अभ्यासमा आएर सामाजिकीकरण भइसकेको धार्मिक पर्व र हिन्दुहरूको चाड भए पनि अब यसलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिन्न । यसले आम मान्छेको सामाजिक, आर्थिक र सांस्कृतिक जीवन पद्धतिमा स्थान ग्रहण गरिसकेको छ । दसैँ यसरी सामाजिक र राष्ट्रिय पर्व भइसक्यो कि दसैँ मनाउँदा मनाउँदै र दसैँ सकिने वित्तिकै अर्काे दसैँको मानसिक तयारी सुरु भइसक्छ । अर्काे दसैँमा घर आउने, नयाँ कामको सुरुवात दसैँ अघि या पछि गर्ने, विदेशबाट फर्कने, जागिरबाट घर आउने आदि दसैँलाई आधार मानेर तयार गरिने योजना र कार्यविधिहरू हुन् । तसर्थ दसैँ नेपालीहरूको सामाजिक पर्व पनि भइसकेको छ । 

दसैँको टीका र जमराको मौलिक स्वरूप

दसैँमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा रातो टीका लगाउने चलन छ । यहाँ टीकाको विशेष अर्थ र महत्त्वपूर्ण स्थान छ भनेर हिन्दुधर्मावलम्बीहरूको तर्क रहेको पाइन्छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी र पुरुषार्थ भावको विकासको लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सङ्केत गर्छ ।

 गाईको दही, चिनी, जिठोको रातो रङमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुवै आँखीभौँको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको सीमा निर्धारण गर्छ । जमरालाई धर्मशास्त्रले समृद्धिको प्रतीक मान्छ । संस्कृतमा यव भनिने जौको जमरा पौष्टिक खाद्य पदार्थ हो । जौ औषधीय गुण भएको मानिन्छ र यसको रस निकै स्वस्थवद्र्धक हुन्छ । दसैँमा लगाइने टीका र जमरा विश्वमा नै नयाँ र मौलिकपन हो । यसले कुनै त्यस्तो विशेष अमर्यादा, विरोध र विभेदको सङ्केत पनि गरेको पाइन्न । त्यसैले हिन्दुहरूको यो पक्षलाई नेपाली मौलिकता भनेर जोगाएर राख्न सकिन्छ ।

दसैँले नेपाली समाजमा सामाजिक स्वरूप ग्रहण गरिसकेको छ । त्यसैले भौतिकवादी कम्युनिस्टदेखि गैरहिन्दु धर्मावलम्बीसम्ममा यसको आकार र आयाम फैलिसकेको छ । यसको मूल कारण यो समयमा सरकारले औपचारिक रूपमा दिने लामो बिदा हो । त्यस्तै गरी रिल्याक्स फेस्टिभल मुड अर्थात् बिदा र रमाइलो खुसियालीको समयको रूपमा पनि लिन सकिन्छ । दसैँ परिष्कार र बहिष्कार, हार्दिकता र सहअस्तित्व, दसैँलाई प्रतिस्थापित गर्ने र सबैलाई मान्य हुने पर्व मनाउने धारणा पनि चर्चामा आउने गर्छ । दसैँको बारे तर्क वितर्क बहस यसको ऐतिहासिक पक्ष र आजको तुलना सबै गर्न सकिन्छ । तथापि यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको तथ्यलाई नजर अन्दाज गर्न सकिन्न 

िदसैँको विरोध, बहिष्कार, खारेजीभन्दा यसलाई धार्मिक रूपले भन्दा पनि सामाजिक, सांस्कृतिक, मनोरञ्जन, घुमघाम र अध्ययन अनुसन्धानको अवसरका रूपमा मनाउँदा सामाजिक सद्भाव एकअर्काे धर्मसंस्कारप्रतिको सम्मान सहअस्तित्वको आवधारणा अनुकूल ग्राह्य र सन्तुलित हुन सक्छ । 

सामाजिक स्वरूप ग्रहण गरिसकेको समाजमा भिजिसकेको लामोसमयदेखि संस्थागत भइसकेको पर्व अलग थलग गर्न खोज्नु र यस धर्मको बाहुल्य भएको मुलुकमा विरोध र बहिष्कारको नाराले अरूको आस्था र विश्वासमा गहिरो चोट पुग्न सक्छ । 

एउटा सत्य के हो भने दसैँलाई परिष्कृत गर्ने, कम खर्चिलो बनाउने, लामो बिदामा कटौती गर्ने जस्ता कुरा गर्नु देशको बृहत्तर हितको कुरा हो तर मिथकीय विगतको सन्दर्भ उछालेर आज सामान्य तवरले मनाइने दसैँ बारे सामान्य मान्छेसँग अराजनीति गर्न खोज्नु सामयिक युग चेतना नहुन सक्छ । 

जुनसुकै पक्ष झैँ चाड, पर्व, धर्म, दर्शन, राजनीति आदिको सकरात्मक पक्ष ग्रहण र आत्मसात गर्दै खराब पक्ष अस्वीकार गर्ने तरिका अपनाएर जानु पर्छ । पश्चिमी मुलुकको सभ्यता संस्कृति र संस्कारमा अभ्यस्त हुन कुनै असहज नहुने तर नेपालभित्रकै चाड पर्वमा वैरभाव राख्नुपर्ने आवश्यकता देखिन्न । विगतमा झैँ दसैँ मानेको नमानेको हेर्न पञ्जाछाप लाएर प्रमाण दिनु पर्ने अवस्था पनि छैन ।

समाजशास्त्री सुरेश ढकालका अनुसार ‘राजा पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गरेपश्चात लिम्बुलाई पनि दसैँ मान्न र बलि दिन विवश पारियो । दसैँ मानेको प्रमाण स्वरूप पशुको रगतको पञ्जाछाप भित्तामा लगाएर प्रमाण राख्ने र सरकारी हाकिम आएको बेला देखाउने चलन बसालियो ।’ यो हदको दमनलाई गैरहिन्दुलाई हिन्दुकरण अहिले देखिन्न दसैँ बहिष्कार नैगर्दा र गर्छु भन्दा पनि राज्यको कुनै कानुन आकर्षित हुँदैन । त्यसैले दसैँको सामाजिक पक्षलाई ध्यानमा राखेर यसलाई मनाउन, नमनाउन सकिन्छ । यस पटकको दसैँमा यस्तै दृश्य देखिएको छ । 

दसैँमा सेतो टीका

हिन्दु धर्मावलम्बीहरू रातो टीका लगाउँछन् । हिन्दु धर्मबाहेकका अन्य धर्मावलम्बी र समुदायको दसैँ मान्ने र मनाउने प्रचलन फरक छ । दसैँमा हिन्दुहरू रातो अबिर, टीका लगाएर यसको सांस्कृतिक अर्थ र विजयोत्सवको रूपमा ग्रहण गर्छन् । अन्य समुदाय राई, लिम्बु, मगर तामाङ्लगायत गैरहिन्दुले दसैँको टीका लाउने लगाइदिने परम्परा गर्दागर्दै पनि टीकालाई सेतो अक्षता मात्र बनाएर प्रयोग गरेको पाइन्छ । सेतो टीका भएका कारण कसैले यसलाई विरोध र आसौच बार्दाको क्षण भनेर पनि उल्लेख गरेको छन् भने कसैले गैरहिन्दु भएका कारण सम्मानका लागि टीका र रङमा मौलिक पन शुद्ध टीका प्रयोग गरिएको तर्क गरेका छन् ।

यसमा आआफ्नो व्याख्या छ । यद्यपि धार्मिक सहिष्णुता र अर्काे धर्मप्रतिको सम्मानको रूपम पनि यसलाई बुझ्न सकिन्छ । विगतमा लामो समयसम्म हिन्दुहरूले आफ्नो देवाली बुद्धपूर्णिमाको दिन गर्ने गरेका थिए । त्यहाँ बुद्धप्रति अनास्था झल्किएको थियो । प्राणी हत्या गरेको भनेर बौद्धिस्ट समुदायले  विरोध र असहमति प्रकट गरे । त्यसैले पूर्णिमामा हुने मारकाट अर्कै दिन गरेर बुद्ध धर्मावलम्बीको मतको सम्मान गरी धार्मिक सहिष्णुता कायम गरे । यो भूमिकाको कदर गर्दै दसैँ बहिष्कारको नारामा रिथिङ्क गर्न सम्बद्ध पक्षले ध्यान दिनु जरुरी देखिन्छ ।

दसैँमा लामो बिदा हुन्छ । यही बेला घरआँगन सफा सुग्घर गर्ने, रङ रोगन गर्ने, कमेरो माटो लगाउने र सरसफाइसम्बन्धी काम पनि गरिन्छ । त्यसैले यो बेला घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गर्न, आरामसँग बसेर मीठो मसिनो खान माछामासुका परिकार खान, राम्रो लाउन, पिङ खेल्न, अन्य मनोरञ्जन गर्न शुभकामना आदानप्रदान गर्न, विवाहित छोरीज्वाइँ ससुराली जान भान्जाभान्जी मामाघर जान यो समय उचित छ । त्यसैले दसैँको धार्मिक र सांस्कृतिक महत्त्व मात्रै छैन, यसको सामाजिक मूल्य र सामाजिकीकरणको अभ्यास पनि छ । दसैँ भाग स्वरूप आफ्ना दिवङ्गत पितृलाई मृत्यु भएको वर्ष दसैँ भाग चढाउने चलन पनि छ, जसलाई शेर्पा भाषामा कज्र्याङ भनिन्छ । त्यसैले दसैँको सामाजिक स्वरूप हिन्दु समुदायइतर पनि रहेको छ । त्यस्तै अन्य समुदायले आआफ्ना पितृलाई दसैँ विशेषमा सम्झने प्रचलन रहेको पाइन्छ । 

सामाजिकीकरणको यही पाटोलाई आत्मसात गर्दै दसैँ गैरहिन्दुहरूका लागि पनि समग्रमा तिरष्कार गर्ने पर्व होइन । दसैँलाई निरपेक्ष समर्थन नगरेर सापेक्षतामा मनाउन सकिन्छ । आन्तरिक पर्यटन र बाह्य पर्यटनका लागि पनि दसैँको बिदालाई सदुपयोग गर्ने प्रचलन बढेको छ । दसैँ मनाउन नमिल्ने र मनाउन नचाहने जुनसुकैले दसैँको धार्मिक र सांस्कृतिक पक्षलाई बहिष्कार गरे पनि यसको सामाजिक पक्ष, मनोञ्जनको पक्ष र देश देशावर घुम्ने समय व्यवस्थापन गर्ने समयको रूपमा यसको भरपुर उपयोग गर्न सक्छन् । यस्तै गरेको केही उदाहरण यस पटक पनि देखियो । दसैँको विरोधमा कालो निधारभरी पोतेर यसको विरोध गरेको पनि देखियो । यो विरोधको स्वरूपमा भए पनि दसैँलाई भिन्न किसिमले मनाउने र द्सैलाई प्रतीकात्मक विरोध गरी यसको सामाजिक पक्ष कायम राख्ने तरिका हो । 

हिजोआज देशभित्रै नयाँ नयाँ ठाउँमा सपरिवार घुम्न जाने साथी भाइको समूहमा घुम्न जाने र सक्नेले वैदेशिक यात्राका लागि पनि दसैँको समयलाई अनुकूल मान्ने गरेका छन् । दसैँ एउटा चाड हो । संस्कृति मानव निर्मित हुन्छ । इस्लामहरू पनि बकर इदलाई इस्लामको दसैँ भनेर परिभाषित गर्छन् । चाडपर्व खुसी साट्ने अवसर हो । खुसी साट्ने अवसरका रूपमा विकास हुँदै गरेको दसैँप्रति वितृष्णा, घृणा र विरोध जनाएर अर्काे धार्मिक समुदायप्रति अपहेलना गर्दा त्यो प्रत्युत्पादक हुने सम्भावना रहन्छ । हामी सहिष्णु र सदाचारी समाज निर्माणको महाअभियानमा छौँ । जुनसुकै धर्म, संस्कार, संस्कृतिको मूल उद्देश्य आपसी खुसी, शान्ति, सद्भाव, भाइचारा र सहअस्तित्वको खोजी हो । यी सबै कुरा खोज्ने मार्ग र तरिका फरक हो । गन्तव्य मानव हित र प्राणी हित हो । प्राणी हितसँग प्रकृति र पृथ्वी जोडिन्छ ।

दसैँमा त्याग्नुपर्ने कुराहरूः

चाडवाडहरू नेपालीका लागि खर्चिलो, भड्किलो, देखासिकी गर्ने र अनावश्यक बोझ दिने समयको रूपमा परिचित हुँदै आएको छ । जसलाई तीजको दर खाने संस्कृति झन्डै एक महिना अघिबाट सुरु हुनुलाई लिन सकिन्छ । त्यसैले अत्यधिक उत्पादनशील समयको बर्बादीमा हाम्रा चाडपर्वहरू छन् । चाडपर्व, धर्म र संस्कृतिलाई एक पाखे नजरले हेर्ने सरकारी दृष्टिकोण र सरकार फेरिँदा बदलिने नीतिले हिन्दु धर्मबाहेक अरू धर्म संस्कृतिप्रतिको बक्र दृष्टि र अनुदारता प्रकट हुने गरेको छ । 

धार्मिक बहुलता स्वीकार गरेर सो अनुसार सबै धर्म संस्कृति र चाडपर्व राष्ट्रिय रूपमा चिनिनु पर्छ । राष्ट्रिय पर्वमा दिइने बिदाको एउटा नयाँ मापदण्ड बन्नु पर्छ । ल्होसार जस्ता पर्वमा पनि बिदा दिने र कटौती गर्ने खेल हुने गरेको छ । धार्मिक अस्तित्व र विश्वास अनि आस्थालाई मेजोरिटी र माइनोरिटीमा तौलनु हुन्न । राज्यको विशेष धर्म पनि हुन्न । जुवातास, धूमपान, मध्यपान र फजुल खर्च, रूढिवाद, दक्षिणाको सो अफ, अन्धविश्वास जस्ता कुरा त्याज्य र वर्जित गरिनुपर्छ ।

दसैँको मौलिकता भनेको पारिवारिक मिलन र सुखद सामाजिक अन्तरघुलन हो । दसैँ मनाउने नमनाउने व्यक्तिको ऐच्छिक विषय हो । कुनै समुदाय विशेषको अराजनीति, बहिष्कार र विरोधको विषय बनाएर जानु हुँदैन । अतः दसैँको बहिष्कारको नारा केवल राजनीतिक स्टन्टबाजी र सस्तो लोकप्रियताको लागि गरिने फन्डा मात्रै हो । तथापि धार्मिक र सांस्कृतिक दसैँ नमनाउने स्वतन्त्रता छ । लोकतान्त्रिक देशमा यसको विरोध र समर्थन नौलो कुरा होइन । चाडपर्व दुःख भुलेर खुसी साट्ने र मानवीय सम्बन्ध नवीकरण गर्ने अवसर हुन्, सोही अनुसार दसैँ मनाएर नै यो पटकको दसैँ सकियो । 

शेर्पा लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पासाङ शेर्पा
पासाङ शेर्पा
लेखकबाट थप