शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
जलवायु परिवर्तन

साँगुरिँदै हिमनदी : एक तिहाइ हिउँ पग्लिने खतरा

मङ्गलबार, १४ कात्तिक २०८०, ०९ : २७
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । पृथ्वीको तापमान बढेर हिउँ पग्लिदा मुलुकका २५ प्रतिशत हिमनदीको क्षेत्रफल साँगुरिएको छ । वातावरणीय असर र मानवीय गतिविधिका कारणले मुलुकका हिमनदीको क्षेत्रफल साँगुरिएको हो । 

पृथ्वीको तापमान १ सय ५० वर्षमा मानव गतिविधिका कारण १ डिग्री सेल्सियसले बढेको पाइएको छ । सन् २०४० सम्ममा विश्वको औसत तापक्रम १  दशमलव ५ डिग्री सेल्सियस पुग्ने अनुमान छ । 

हाल पृथ्वीको औसत तापमान १ दशमलव २ डिग्रीले वृद्धि भइसकेको जलवायु विश्लेषक मन्जित ढकाल बताउँछन् । विश्वको औसतमा तापमान १ दशमलव ५ ले वृद्धि हुँदा हिमालको एक तिहाइ हिउँ पग्लिने खतरा रहेको उनको भनाई छ । 

पर्यावरणीय परिवर्तनका कारणले आर्थिक, सामाजिक र मानवीय क्षेत्रमा क्षति पुर्‍याउने देखिन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५ प्रतिशत पानीको योगदान छ । नेपालका हिउँ पग्लेर हाल पानीको स्रोत पर्याप्त मात्रामा उपलब्ध भएपनि यसले दीर्घकालीन असर पार्ने देखिएको ढकालको भनाई छ । 

‘केही समयसम्म पानीको स्रोत बढे पनि दीर्घकालीन रूपमा यसको उपलब्धता घट्दै जानेछ,’ उनले भने, ‘यसले ऊर्जा क्षेत्रमा असर पर्ने देखिन्छ ।’ 

पर्यावरणीय परिवर्तनको प्रभाव हिमालको हिउँमात्रै पग्लिने नभई विभिन्न क्षेत्रमा असर परेको छ । हिमाली क्षेत्रमा बसोबास गर्नेको जीवनशैली, रहनसहनमा पनि असर पुगेको छ । 

‘हिमाली क्षेत्रको घाँसे मैदान कम हुँदै गएको छ, कृषिका अवसर घट्दै छ । कतिपय स्थानमा पानीका स्रोत सुक्दै गएका छन्,’ उनले भने, ‘यही कारण हिमाली क्षेत्रका मानिस बसाइँ सर्दैछन् ।’ 

Nepal-Glaciers-Climate-Ch-002

विश्लेषक ढकालका अनुसार हिमालको हिउँको लाइन पनि माथि–माथि सर्दै गएको छ । ‘पर्वत आरोहीले हिमालका विभिन्न स्थानका हिउँहरू माथि–माथि सर्दै गएको बताएका छन् ।’ उनले भने, ‘यसले गर्दा पर्यटन क्षेत्रमा पनि असर पर्ने देखिन्छ ।’ 

वातावरणीय असरका कारणले हिमनदीको क्षेत्रफल घट्दै गएको छ । हिमालहरू पग्लिएर सन् १९८० देखि २०१० सम्ममा नेपालका हिमनदीको क्षेत्रफल २५ प्रतिशत खुम्चिएको वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ  डा. अरुणभक्त श्रेष्ठले बताए । ‘हिउँ पग्लिँदा सुरुमा नदीमा पानी बढी हुन्छ,’ उनले भने, ‘तर दीर्घकालीन रूपमा नदीको क्षेत्रफल घट्दै जानेछ ।’

श्रेष्ठका अनुसार पछिल्लो समय वातावरणीय परिवर्तनले गर्दा हिउँ पर्ने ठाउँमा हिमपात नभई पानी पर्ने, हिउँ परे थोरै मात्रामा पर्ने जस्ता समस्या देखिएको छ । ‘हिमपात नभएर खेतीबाली उत्पादनमा ह्रास देखिएको छ,’ उनले भने, ‘यसका साथै कुनै ठाउँमा बढी पानी पर्ने, अव्यवस्थित भौतिक संरचना लगायतले भू–क्षेत्र कमजोर भएका छन् ।’

वातावरणीय असरले हिमताल विस्फोट हुनु, बाढी, पहिरो, भूक्षय हुनु जस्ता प्राकृतिक विपद् निम्तिएको श्रेष्ठको भनाई छ । ‘पछिल्लो पटक २५ वटा हिमताल विस्फोट भएका छन्,’ उनले भने, ‘हिमताल विस्फोट भएर के–कति क्षति भएको हो, त्यसको यकिन तथ्याङ्क भने छैन ।’ 

किन पग्लँदै छ हिमाल ? 

पृथ्वीको वायुमण्डलका केही हरितगृह ग्याँस (कार्बनडाइअक्साइड, मिथेन आदि) ले तापक्रम पृथ्वीबाट बाहिर निस्कन रोक्छ । यी ग्यासहरू प्राकृतिक रूपमा नै वायुमण्डलमा हुन्छन् र पृथ्वीलाई स्थिर तापक्रममा राख्न मद्दत गर्दछन् । 

‘यद्यपि पेट्रोल र डिजेलको अधिक प्रयोग गर्नु, कृषि क्षेत्रका अवशेष जलाउनु, वन विनाश लगायतले वातावरणमा अधिक मात्रामा हरितगृह ग्यास उत्सर्जित हुन्छ,’ विश्लेषक ढकाल भन्छन्, ‘यसले प्राकृतिक चक्रलाई नै परिवर्तन गरी पृथ्वीको तापक्रम बढाइरहेको छ ।’

हिमालका हिउँ पग्लिनमा नेपाल भन्दा विकसित मुलुकको उद्योग र कारखानाले उत्सर्जन गर्ने ग्यासले असर पारेको विज्ञ श्रेष्ठले बताए । ‘नेपालको भन्दा पनि विकसित मुलुकले औद्योगिक क्षेत्रबाट बढी हरितगृह ग्यास उत्सर्जन भएको छ,’ उनले भने, ‘सोको असर हामीले भोगिरहेका छौँ ।’

230620051319-02-climate-change-himalayan-glaciers-melt

यसका साथै अव्यवस्थित बसोबास र भौतिक संरचनाका कारणले पनि वातावरणमा असर परेको छ । 

कसरी जोगाउने हिमाल ? 

जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणाली अर्थात् इकोसिस्टमलाई असर गर्न सक्ने विज्ञहरूले बताएका छन् । यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधतामा ह्रास, स्वास्थ्य जोखिम बढाउने र मानिस विस्थापित हुनुपर्ने सम्मको स्थिति निम्तिन सक्ने उनीहरूको अनुमान छ । कार्बन उत्सर्जन घटाउन थप ढिलो नगर्न उनीहरूले सुझाएका छन् । 

पर्यावरणीय असरलाई व्यवस्थापन गर्न न्यूनीकरण र अनुकूलन गरी दुई तरिकाले सकिन्छ । न्यूनीकरणका लागि ऊर्जा दक्षता र प्रयोगमा कुशलता ल्याउनु पर्ने विश्लेषक ढकालले बताए । ‘सफा र नवीकरणीय ऊर्जा उत्पादनमा जोड दिनुपर्छ । विद्युतीय सवारी र साइकल प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यसले कार्बन उत्सर्जनलाई निरुत्साहित गर्छ ।’

अनुकूलनअन्तर्गत सुरक्षित संरचना निर्माण गर्ने, वृक्षारोपण र वन संरक्षण गर्नुपर्ने विज्ञ श्रेष्ठले यसरी सुझाए, ‘जथाभाबी भौतिक संरचना निर्माण नगर्ने, विपद्को पूर्वतयारी गर्ने र स्थानीय तहले सही ढंगले सूचना प्रवाह गर्ने ।’ 

विगत केही दशकयता वायुमण्डलीय तापक्रममा भएको वृद्धिले अतिवृष्टि, अनावृष्टि, खडेरी जस्ता जलवायु प्रकोपहरूबाट नेपालका हिमशृङ्खला र हिमनदीहरू एवं तिनमा आश्रित पारिस्थितिक प्रणालीहरूमा प्रतिकुल प्रभाव परिरहेको छ । 

तीव्र गतिमा हिउँ गल्ने, हिमतालहरू फुट्ने खतरा बढ्दै गएको छ । जलवायुको परिवर्तनका असरहरूको जोखिम न्यूनीकरणका लागि राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–२०३० जस्ता विभिन्न कार्यक्रम सरकारले ल्याएको छ । यी नीति र योजना कार्यान्वयनमा जोड दिनुपर्ने विज्ञहरूले सुझाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप