बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

हाइटी हिंसाका कारण ४० हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ

सोमबार, १३ कात्तिक २०८०, २२ : ३०
सोमबार, १३ कात्तिक २०८०

रोम । क्यारेबियन राष्ट्र हाइटीमा अपराध बढेपछि गत अगष्टको मध्यदेखि हालसम्म करिब ४० हजार मानिसलाई घरबाहिर निकालिएको संयुक्त राष्ट्रसङ्घको खाद्य निकायले सोमबार जनाएको छ ।

रोमस्थित विश्व खाद्य कार्यक्रमका अनुसार यो विस्थापनले ‘पहिलेदेखि नै जटिल मानवीय सङ्कट’लाई बढावा दिइरहेको छ, जहाँ देशको लगभग आधा हिस्साले खाद्य असुरक्षाको चरम स्तरको सामना गरिरहेको छ ।

हिंसात्मक समूहले देशको विभिन्न भागमा नियन्त्रण जमाएको संयुक्त राष्ट्रसङ्घले गत हप्ता चेतावनी दिएको थियो । पहिले सुरक्षित रहेका इलाकाहरूमा अन्धाधुन्ध हत्या, अपहरण, बलात्कार र आक्रमणमा वृद्धि भएको राष्ट्रसङ्घल जनाएको छ ।

डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महिला, बालबालिका, वृद्धवृद्धा र अन्य जोखिममा रहेका समूहहरूले एक क्रूर द्वन्द्वको सामना गरिरहेका छन् जसमा दर्जनौं सशस्त्र समूहहरू लडिरहेका छन् ।

“बितेका अढाइ महिनामा दशौं हजार मानिसहरूलाई ‘घरबाट लखेटिएको’ छ । उनीहरू प्रायः आफूले लगाएको लुगा मात्र लिएर भाग्ने गरेका छन्,” एजेन्सीले भनेको छ ।

“हालैका यी आन्दोलनहरूले देशभरि विस्थापितहरूको कूल सङ्ख्या दुई लाखभन्दा बढी पु¥याएको छ,” विज्ञप्तिमा भनिएको छ, “डब्लूएफपी र यसका साझेदारहरूले अगस्टको मध्यदेखि पाँच लाख ५० हजारलाई खाद्यान्न वितरण गरेका छन्, तर कोष कटौतीको अर्थ एजेन्सीले प्रायः सामान्य दुई छाकको सट्टा दिनमा एक छाक मात्र  खाना प्रदान गर्न बाध्य भएको छ ।”

डब्ल्यूएफपीका कन्ट्री डाइरेक्टर ज्याँ मार्टिन बाउरले भने, “आगामी छ महिनामा अति जोखिममा रहेका हाइटीवासीको आवश्यकता पूरा गर्न हामीलाई तत्काल १३ करोड ६० लाख अमेरिकी डलर आवश्यक छ ।” 

राष्ट्रसंघीय निकायले खाना खुवाउनेदेखि विस्थापितहरूलाई नगद सहायता प्रदान गर्ने, परिवारहरूलाई उनीहरूको खाना छनौट गर्न अनुमति दिने र स्थानीय अर्थव्यवस्थालाई पनि बढावा दिने प्रक्रियामा रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप