आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत, १४ महिनापछि बढ्यो आयात
काठमाडौँ । खुम्चिन थालेको १४ महिनापछि चालू आर्थिक वर्षको तेस्रो महिना (असोजसम्म)मा आयातमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि नै आयात ऋणात्मक बनेको थियो । गत आर्थिक वर्षको पहिलो महिनादेखि खुम्चिएको आयात चालू आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्ममा आइपुगेर वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो महिनामा नेपालको आयात र निर्यात नै खुम्चिएको थियो । उक्त अवधिमा नेपालको आयात १२.९० प्रतिशत खुम्चिएको थियो । यस्तै, निर्यातमा २८.६८ प्रतिशतको गिरावट आएको थियो । त्यसयता प्रत्येक महिना निरन्तर घट्दै गत आर्थिक वर्षमा आयात १६.०८ प्रतिशतले खुम्चिएको थियो । यस्तै, गत आर्थिक वर्षभरमा निर्यात २१.४४ प्रतिशतको गिरावट आएको थियो ।
गत वर्ष केन्द्रीय बैंकको भण्डारमा रहेको विदेशी मुद्राको सञ्चितिमाथि चाप परेपछि अर्थतन्त्र टाट पल्टने प्रक्षेपणसहित सम्पूर्ण राज्य संयन्त्र लागेर आयात प्रतिबन्ध लगाइएको थियो । केन्द्रीय बैंकले एलसी (बैंक ग्यारेन्टी)मा कडाइ गर्नुदेखि सरकारले वस्तुहरूको सूची नै निकालेर आयात प्रतिबन्ध लगाएको थियो । फलस्वरुपः गत आर्थिक वर्षभर आयात ‘स्ट्रेस’मा रह्यो । यसबाहेक, कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण मूल्यवृद्धि र उपभोक्ताको आम्दानी खुम्चेर बजार माग घट्दा समेत आयात खुम्चिएको थियो ।
गत आर्थिक वर्षमा देखिएको आयात–निर्यातमा गिरावटको सिलसिला चालू आर्थिक वर्षको पहिलो दुई महिनामा समेत देखियो । साउन महिनामा आयात १.५६ प्रतिशतले र निर्यात ८.६५ प्रतिशतले खुम्चिएको थियो । यस्तै, चालू वर्षको भदौ महिनासम्मको अवधिमा आयात ५.०६ प्रतिशतले र निर्यात ७.७९ प्रतिशतले खुम्चिएको थियो ।
जुन, असोज महिनासम्ममा आइपुग्दा निर्यात ऋणात्मककै स्थितिमा रहे पनि आयातसँगै वैदेशिक व्यापार र व्यापार घाटा भने बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । सामान्यतया मुलुकमा आयात बढ्दा देशको अर्थतन्त्र नकारात्मक स्थितिमा गइरहेको भन्ने हुन्छ । तर, नेपालमा भने आयात खुम्चिँदा राज्यको राजश्वको मुख्य स्रोत भन्सार राजश्व नै सुक्ने भएकाले अर्थतन्त्र नकारात्मक स्थितितर्फ लम्किरहेको बुझिन्छ ।
यसबाहेक, आन्तरिक उत्पादनका लागि चाहिने आवश्यक उद्योगधन्दा देशमा नहुँदा दैनिक उपभोग्यदेखि सामान्य आवश्यकताका वस्तु समेत विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । फलस्वरुपः आन्तरिक माग बढ्नसाथ आयात ह्वात्तै बढ्ने र माग घट्न साथ आयात समेत घट्ने गर्छ । यस वर्षको तिहार कात्तिक महिनामा रहेकाले असोज महिनाको अन्तिमसम्ममा आयात बढेको देखिन्छ । यसबाट दसैंमा अघिल्ला वर्षको तुलनामा आर्थिक चहलपहल नबढे पनि अघिल्ला महिनाको तुलनामा भने बढेको देखिन्छ ।
आयात घट्नसाथ बजेटमार्फत राज्यले लिएको राजश्वको लक्ष्य नभेटिने हुँदा तलब भत्तादेखि राज्य सञ्चालनको चालू खर्च जुटाउनै मुस्किल पर्छ । यसमा विकास निर्माणमा खर्च हुने विकास खर्चको तुलना नै हुन्न । सोही कारण, आयात निरन्तर खुम्चिन सुरु गरेको १५औँ महिनामा भने आयात धनात्मक बनेको छ । अर्थात्, यसअघि लगातार १४औँ महिनासम्म घटेको आयात असोज महिनादेखि भने १.६९ प्रतिशतले बढेको छ ।
असोज महिनासम्ममा नेपालको निर्यात गत वर्षको सोही अवधिको तुलनामा घट्नुबाहेक सबै व्यापार सूचक बढेका छन् । जसमा व्यापार घाटा २.१५ प्रतिशतले बढ्दा कूल वैदेशिक व्यापार १.३१ प्रतिशतको सुधार देखिएको छ । नेपालको आयात बढ्दा र निर्यात खुम्चिँदा व्यापार घाटा समेत बढ्छ । लगातार १४औँ महिनासम्म ऋणात्मक रहेको व्यापार घाटा अब भने धनात्मक अवस्थामा आइपुगेको छ ।
लक्ष्यको ७४ प्रतिशत राजश्व सङ्कलन
चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको अवधिमा अर्थ मन्त्रालयले १ खर्ब ४५ अर्ब ८ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलनको लक्ष्य पाएको थियो । अर्थ मन्त्रालयले प्रत्येक महिनाको भन्सार राजश्व सङ्कलन लक्ष्य तय गर्दा असोज महिनासम्ममा उक्त परिणामको राजश्व सङ्कलनको लक्ष्य लिएको थियो । तर, यस अवधिसम्ममा लक्ष्यको ७४.९५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ ।
असोज महिनासम्मको अवधिमा विभागले १ खर्ब ८ अर्ब ७५ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको करिब ७५ प्रतिशत हो । आयात खुम्चिँदै जाँदा राजश्व सङ्कलनको लक्ष्य प्रभावित परेको थियो । ‘अघिल्लो वर्षको दसैँ असोज महिनामा परेको थियो । जसकारण, भदौ महिनामै आयात भएको थियो,’ भन्सार विभागका निर्देशक पुण्यबिक्रम खड्काले भने, ‘यो वर्ष असोजमा बजार पूर्ण चहलपलह रह्यो । सोही कारण आयातमा सामान्य वृद्धि भएको हुन सक्छ ।’
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको कात्तिक १२ गतेसम्मको अवधिमा २ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यो लक्ष्यको १६ प्रतिशत हो । चालू आर्थिक वर्षमा राज्यले कूल १४ खर्ब ७२ अर्ब राजश्व (कर, अनुदान र अन्य आम्दानी) सङ्कलनको लक्ष्य लिएको थियो । चालू आर्थिक वर्षलाई विनियोजित १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट मध्ये ३ खर्ब २ अर्ब ६९ करोड रुपैयाँ खर्च भइसकेको छ ।
यो राज्यको सोही अवधिमा भएको कूल आम्दानीको तुलनामा ५८ अर्बले बढी खर्च हो । यस्तै, आजसम्मको मितिमा विनियोजित बजेटको १७.२८ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकले जनाएको छ । आयात बढेको स्थितिमा नेपालको आन्तरिक अर्थतन्त्र चलायमान बन्ने र भन्सार राजश्व, मूल्यवृद्धि कर र अन्य प्रकारका करको मात्रा समेत बढ्छ ।
जसबाट घाटामा रहेको बजेट खर्च समेत सामान्य बन्दै राजश्व सङ्कलनको लक्ष्य भेटिन्छ । गत आर्थिक वर्षको जस्तै चालू आर्थिक वर्षमा समेत आयात खुम्चिरहेको स्थितिमा राजश्व लक्ष्य नभेटिने हुँदा राज्यलाई चालू खर्च समेत जुटाउन हम्मे–हम्मे पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?
-
माछाको आयात प्रतिस्थापनमात्र होइन, निर्यात गर्ने लक्ष्य
-
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र
-
माछामा आत्मनिर्भर बन्ने सरकारी सोच नै छैन
-
राखेपले बोलायो ११८ औँ बोर्ड बैठक, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिन आग्रह
-
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?