कति सहज छ राजनीतिक दलमा रूपान्तरण ?
गत वर्ष सम्पन्न आम निर्वाचनमा आशा गरे अनुसार परिणाम प्राप्त गर्न नसकेपछि ठूला र पुराना भनिने कुनै पनि दलका सबैजसो नेता (शीर्ष नेतृत्व बाहेक)ले महसुस गरेको देखियो — अब हामी रूपान्तरित भएनौँ भने अर्को निर्वाचनमा झनै कमजोर हुन्छौँ । त्यस पछिका दिनमा कतिपय दल समग्र रूपमा र कतिपय दलका नेतृत्वसँग असन्तुष्ट नेताहरू रूपान्तरण अभियानमा लागेका छन् ।
राजनीतिक दल रूपान्तरणको आवश्यकता औँल्याउँदै क्याम्ब्रिज विश्वविद्यालयबाट प्रकाशित जर्नलमा लेखक फर्नान्डो क्यासल बर्टोआ र जोसे रामा लेख्छन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आएको आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक तथा वातावरणीय परिवर्तनका साथै जनताको इच्छा, चाहना, सोच र आवश्यकतामा आएको परिवर्तन अनुसार राजनीतिक दल रूपान्तरण हुन सकेनन् भने ती दलको पतन कसैले रोक्न सक्दैन ।’ आखिर नेपालका ठूला र पुराना दलहरूको नियति पनि यही त हुने होइन ?
रूपान्तरण के हो, किन आवश्यक छ, कसरी गर्न सकिन्छ, एउटा दलको कुन कुन क्षेत्रमा रूपान्तरण जरुरी छ भन्ने प्रस्ट नभई रूपान्तरण शब्द जपेर वा सभा, सम्मेलन र भाषण गरेर मात्र कुनै पनि दल रूपान्तरित हुन सक्दैन । यो लेखमा यिनै विषय केलाउने प्रयास गरिएको छ ।
रूपान्तरणका आधार
बृहत नेपाली शब्दकोषका अनुसार एक रूपबाट अर्को रूपमा र एक अवस्थाबाट अर्को अवस्थामा गरिने परिवर्तनलाई रूपान्तरण भनिन्छ । वास्तवमा कुनै पनि वस्तु, सङ्गठन वा दलको स्वरूप, प्रकृति र आकृतिमा सबैले प्रस्ट अनुभूति गर्ने गरी गरिने परिवर्तन नै रूपान्तरण हो ।
राजनीतिक दलको रूपान्तरण प्रक्रियामा प्रमुख रूपमा चार विषय क्षेत्रमा ध्यान दिनुपर्ने हुन्छ, जसलाई रूपान्तरणका आधार पनि भनिन्छ । ती हुन् : १) निरन्तरता दिनुपर्ने विषय । २) परिमार्जन गर्नुपर्ने विषय । ३) छोड्नुपर्ने विषय । ४) नयाँ सिर्जना गनुपर्ने विषय । जबसम्म रूपान्तरणमा लाग्ने नेतृत्व यी चार विषय वा आधारका बारेमा प्रस्ट हुँदैनन्, तबसम्म रूपान्तरण सम्भव हुँदैन ।
पहिलो आधार : कुनै पनि दल वा सङ्गठनका केही आधारभूत सिद्धान्त र अवधारणा हुन्छन्, जसको जगमा उक्त दल स्थापना भई सङ्गठित हुन्छ । आफ्नो सिद्धान्त र अवधारणालाई निरन्तरता दिएन भने उक्त दलको मौलिक पहिचान हराउँछ ।
दोस्रो आधार : सर्वप्रथम आफूहरूले परिमार्जन गर्नुपर्ने क्षेत्र र विषयको पहिचान गरिनुपर्छ । हिजोका दिनमा अवलम्बन गरेका सिद्धान्त, नीति, कार्यक्रम र साङ्गठनिक गतिविधि आदि वर्तमान राजनीतिक व्यवस्था, जनताको चाहना, बदलिँदो विश्व वातावरण, प्रविधि र सञ्चार क्षेत्रमा आएको परिवर्तन आदिसँग तादात्म्यता हुने गरी परिमार्जन गर्नु रूपान्तरण सफल हुने अर्को एक प्रमुख आधार हो ।
तेस्रो आधार : दलहरूले परम्परागत रूपमा अवलम्बन गर्दै आएका कतिपय सिद्धान्त, नीति र कार्यक्रमहरू आजको परिस्थितिमा पूरै बदल्नुपर्ने या भनौँ छाड्नुपर्ने हुनसक्छ । सामान्य उदाहरण हेरौँ, हिजोका दिनसम्म विरोध गर्नु भन्नाले ताला लगाउने, हडताल गर्ने, टायर बाल्ने, रेलिङ भाँच्ने भन्ने बुझिन्थ्यो । आजको समाज यी र यस्ता ध्वंसात्मक कार्य देख्न त के सुन्न पनि रुचाउँदैन । त्यसैले राजनीतिक दलले यस्ता क्रियाकलाप पूर्ण रूपमा बन्द गर्नुपर्छ र विरोधका अन्य विकल्प खोज्नुपर्छ ।
चौथो आधार : रूपान्तरणका लागि निरन्तरता दिने विषय, परिमार्जन गर्ने विषय र छाड्नुपर्ने विषयको पहिचान पछि नयाँ प्रतिपादन गरी अवलम्वन गर्नुपर्ने विषय क्षेत्रको पहिचान आवश्यक हुन्छ । आजको विश्व परिवेश, समाजको मनोविज्ञान, जनताको आवश्यकता साथै प्रतिस्पर्धी नयाँ तथा पुराना दलको स्थिति आदिलाई दृष्टिगत गरी राजनीतिक दलहरूले आफ्नो देश र जनतालाई केन्द्रमा राखेर नयाँ सिद्धान्त, नीति, कार्यक्रम र क्रियाकलाप पहिचान गरी अवलम्बन गर्नुपर्छ ।
अन्यथा हिजैको चस्मा हिजैको चाल, हिजैको चलन हिजैको चरित्र, हिजैको चाहना हिजैको चिन्तन अनि हिजैको चेतना र हिजैको चैतन्यले अब दल अगाडि बढ्न सक्दैनन् । दलको अस्तित्व नेता र सीमित कार्यकर्ताको रूपमा त रहला तर समग्र कार्यकर्ता र जनताको दलको रूपमा ऊ स्थापित हुन सक्दैन ।
त्यसकारण दल साँच्चै रूपान्तरण हुने, गर्ने र गराउने हो भने सबभन्दा पहिले हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्नेे, के–केलाई पूर्णतः निषेध गर्ने र कुन कुन कुरा नयाँ प्रतिवादन गरिनुपर्ने हो यसमा नेता र नेतृत्व प्रस्ट हुनुपर्र्छ ।
रूपान्तरणका लागि नेता, कार्यकर्ता र समर्थक समेतलाई अपिल गर्नु अगाडि नेतृत्वले यी विषयवस्तुमा एउटा श्वेतपत्र वा सबैले बुझ्ने भाषामा अवधारणापत्र नै तयार पार्नुपर्छ, ताकि रूपान्तरणपछि त्यो दल कस्तो हुन्छ त्यसको प्रस्ट तस्बिर देखियोस् । अनि मात्र विश्वास गर्न सकिन्छ कि यो रूपान्तरणको नारा कुनै कुण्ठा, आक्रोश वा पद र सत्ता नपाउँदाको चित्कार होइन र साँचो रूपमा समग्र सङ्गठनलाई मजबुत र २१औँ शताब्दीलाई नेतृत्व दिन सक्ने सङ्गठन निर्माण गर्ने अभियान हो । यी आधार प्रस्ट नभएसम्म कुनै पनि दल वा सङ्गठनको रूपान्तरण सम्भव छैन ।
रूपान्तरण
राजनीतिक दलहरूमा रूपान्तरणको सुरुवात उनीहरूले अवलम्बन गरेको सिद्धान्त र विचारबाट हुनुपर्ने देखिन्छ । आजभन्दा ७०–७५ वर्षअघि पारित गरिएका सिद्धान्त र नीतिहरूमा केहीको निरन्तरता, केहीमा परिमार्जन, केहीको पूर्णतः खारेजी र केही नयाँ नीति र सिद्धान्तको प्रतिपादन आवश्यक छ ।
आजको परिवेशमा नेपालका दलहरूमा रूपान्तरण हुनुपर्ने अर्को क्षेत्र दलको आन्तरिक र बाह्य साङ्गठनिक स्वरूपमा पनि हो । सानो, छरितो र चुस्त समिति, सङ्गठनभित्र पूर्ण लोकतान्त्रिक अभ्यास, अधिकारको विकेन्द्रीकरण र नेतृत्वमा समावेशिता नै आजका आवश्यकता हुन् । सङ्गठनको नेतृत्वमा युवा तथा महिलाको पकड, भौगोलिक, सामाजिक र जातीय प्रतिनिधित्वको सुनिश्चितता, साङ्गठनिक अनुशासन, नेतृत्वको समतामूलक व्यवहार, सामूहिक निर्णय प्रणाली आदि सङ्गठनलाई जीवन्त राख्ने तत्त्व हुन् । जुन आज दलहरूमा क्रमशः हराउँदै गएको पाइन्छ । एक व्यक्ति र सीमित समूहले दलका सबै क्रियाकलाप र निर्णय गर्ने परम्परा बसेको छ । त्यसकारण सङ्गठन र सङ्गठन सञ्चालनको प्रक्रियामा रूपान्तरण आजको प्रमुख आवश्यकता हो ।
विचार र सङ्गठन रूपान्तरण हुन नेतृत्व पनि रूपान्तरित हुनुपर्छ । अहिले अस्तित्वमा रहेका दलहरूको रूपान्तरणका लागि सबभन्दा ठूलो समस्या नेतृत्वको जडता नै हो । मैले सबै जानेको छु, म सर्वज्ञ र सर्वदृष्टिवाला हुँ, मलाई सबैले मान्नुपर्छ, मैले जे सोच्छु त्यो नै अन्तिम सत्य हो, मेरा पक्षमा बहुमत छ त्यसैले मैले गरेका निर्णय सबैले स्विकार्नुपर्छ, मेरो विरोध कसैले गर्नु हुँदैन, जसले विरोध गर्छ त्यो लोकतन्त्र र राष्ट्रियता विरोधी हो भन्ने सोच लिने नेतृत्व सान्दर्भिक हुन सक्दैन ।
गाईजात्रा प्रहसनमा मनोज गजुरेलले भनेझैँ कोही आफ्नालाई मात्र सुन्ने र कोही कसैलाई नसुन्ने नेतृत्व अब काम लाग्दैन । नेतृत्वमा प्राधिकार जमाएर बसेका नेताहरू जबसम्म यस्तो धारणा र व्यवहारबाट मुक्त हुँदैनन् तबसम्म कुनै पनि दल साँचो अर्थमा रूपान्तरित हुने सम्भावना देखिँदैन ।
विचार, सङ्गठन र नेतृत्वमा रूपान्तरण भनेको राजनीतिक मूल्य–मान्यता र संस्कृतिमा रूपान्तरण पनि हो । यस्तो किसिमको रूपान्तरण नेतामा मात्र होइन कार्यकर्ता, सदस्य र समर्थकमा पनि हुनु जरुरी हुन्छ । वास्तवमा नेता र नेतृत्व जन्मने त्यही विशाल कार्यकर्ताको माझबाट त हो ।
पुराना दलमा रूपान्तरणको बहस सुरु भएपछि मैले नेताहरूको भाषण नियमित सुनेको छु । ती भाषणमा पात्र र प्रवृत्तिको अधिक चर्चा गरिन्छ । दल रूपान्तरणका लागि यी दुई कुराले मात्र पुग्दैन, यद्यपि पात्र र प्रवृत्ति आजको राजनीतिको प्रमुख मियो भने हो नै । यसो भनिरहँदा ती भाषण गर्नेहरू रूपान्तरण हुनुपर्ने पात्रमा आफूलाई राख्दैनन् । सबै दोष अरुको टाउकोमा मात्र थोपर्छन् । आफू र आफ्नो प्रवृत्ति सबै ठिक, रूपान्तरण हुनुपर्ने अरु हो भन्ने खालको उनीहरूको सोच देखिन्छ ।
दल रूपान्तरण हुनका लागि दलमा सङ्गठित व्यक्तिहरु रूपान्तरित हुन जरुरी हुन्छ । रूपान्तरणका बारेमा एकजना वरिष्ठ वामपन्थी नेताले भन्थे — समाज, देश र विश्व बदल्छु भन्दै म अनवरत रूपमा मुठी कसेर हिँडेँ तर आफू कहिल्यै बदलिन सकिनँ । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने रहेछ ।
दल रूपान्तरणका लागि दलका नेता, सदस्य वा कार्यकर्ताले आफैँबाट सुरु गर्नुपर्छ र आफू उदाहरणका रूपमा प्रस्तुत हुनुपर्छ । आफू पजेरो चढ्ने, लाख लाखका मोबाइल बोक्ने, गला, औँला र नाडीमा दसौँ लाखको सुन भिर्ने, चिया र कफी पिउन तारे होटल पस्ने, साँझ परेपछि सेकुवा र चिसो पिउन दलबलसहित रेस्टुरेन्ट पस्ने, अनि त्यही नेताले राजनीतिक नेता र कार्यकर्ताको जीवन सरल, सादगी र सामान्य हुनुपर्छ भन्दा कसले पत्याउँछ ।
दलमा गुटबन्दीको विरोध गर्ने तर आफू सानो झुन्ड बोकेर हिँड्ने, जनताका सामु निर्वाचनताका मात्र देखापर्ने, सार्वजनिक पदमा आफ्नालाई मात्र सिफारिस गर्ने अनि नेताले सबैलाई समान व्यवहार गर्नुपर्छ र नेता सधैँ जनताको बीचमा हुनुपर्छ भनेर उसैले भाषण गर्दा कसरी विश्वास गर्ने ?
व्यक्ति रूपान्तरित हुन सबभन्दा पहिले उसको आत्मा रूपान्तरण हुनुपर्छ । स्वामी आनन्द अरुणका अनुसार, आत्मा रूपान्तरणका पाँच आधार हुन्छन् — १) शुद्धि (परिवेश, शरीर, भोजन, वाणी, भाव र विचारको शुद्धि अनि सम्यक् श्रम र सम्यक् विश्राम) । २) साधना । ३) संस्कार । ४) सत्सङ्ग । ५) समाधि । यी पाँच आधारमा सत्मार्ग र सत्कर्म पनि थपेर सात बनाउन सकिन्छ । यी आधार राजनीतिक दलका नेता र कार्यकताले कुन हदसम्म परिपालना गर्न सक्छन् त्यसैमा निर्भर हुन्छ उक्त दलको रूपान्तरण ।
अहिंसावादी नेता महात्मा गान्धीका अनुसार व्यक्ति रूपान्तरणका तीन चरण हुन्छन् : १) आत्मा निरीक्षण । २) आत्मा परीक्षण । ३) आत्मा शुद्धीकरण । गान्धीका अनुसार नेताले सबभन्दा पहिले मैले हिजो के के गरेँ भनेर पछाडि फर्केर हेर्नुपर्छ । त्यसपछि ती कार्य कुन कुन ठिक थिए र कुन कुन गलत थिए भनेर समीक्षा गर्नुपर्छ । पछाडि फर्केर हेर्नु आत्मा निरीक्षण हो भने विगतका कार्यको समीक्षा गर्नु आत्मा परीक्षण हो । आफूले गलत गरेको आत्मानुभूति भयो भने प्रायश्चित गर्दै अब उपरान्त ती र त्यस्ता कार्य गर्न बन्द गर्नुपर्छ । यो आत्मा सुद्धीकरण हो । कुनै पनि व्यक्तिले यी तीन चरण पार गर्न सक्यो भने मात्र ऊ रूपान्तरण या शुद्ध हुन सक्छ भन्ने गान्धीको मत थियो ।
गान्धीको निष्कर्ष थियो — यस्ता शुद्ध व्यक्तिले हाँकेको र यस्तै शुद्ध व्यक्तिहरू सदस्य रहेको सङ्गठनले मात्र जनता, समाज र देशको हितमा काम गर्न सक्छ ।
कुनै पनि दलको रूपान्तरणका लागि प्रमुख भूमिका केन्द्रीय नेतृत्वको हुन्छ । माथि भनिएका आधारहरूका बारेमा छलफल गर्ने, निर्णय गर्ने र दलका तल्लो तहका नेता र कार्यकर्तालाई त्यस बारेमा प्रशिक्षित गर्ने सबै काम केन्द्रीय नेतृत्वको हो । त्यसैले मूल नेतृत्वले नचाहेसम्म कुनै पनि दल रूपान्तरण हुने सम्भावना अत्यन्त झिनो हुन्छ । मूल नेतृत्वको चाहनाबिना पनि रूपान्तरण सम्भव बनाउन सम्पूर्ण कार्यकर्ता जुरुक्क उठ्नुपर्छ ताकि रूपान्तरण नगरी नहुने अवस्थामा नेतृत्व पुगोस् ।
यी सबै सन्दर्भ हेर्दा नेपालका पुराना दलहरूमा विचार, संगठन, नेतृत्व र कार्यकर्ता समग्रको रूपान्तरण अत्यावश्यक देखिन्छ । साथै दलको मूल्य–मान्यता र संस्कृति सबै पक्षमा रूपान्तरणको खाँचो छ । कुनै पनि दलको मूल नेतृत्व, नेता, कार्यकर्ता र समर्थक समेत कुण्ठा, आक्रोश, अवाञ्छित चाहना र स्वार्थलाई त्यागेर लाग्ने हो भने मात्र उक्त दलको रूपान्तरण सम्भव छ, अन्यथा रूपान्तरण नारामा मात्र सीमित हुने कुरामा दुई मत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा