बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा झडप हुँदा एक प्रहरीको मृत्यु, दर्जनौ व्यक्ति घाइते

ढाका । बङ्गलादेशको मध्य ढाकामा विपक्षी समूहद्वारा शनिबार गरेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रहरीको मृत्यु भएको छ ।
केही घण्टासम्म चलेको हिंसात्मक झडपमा एक अधिकारीको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका प्रहरीले पुष्टि गरेको छ । विपक्षी समर्थकको ठूलो भीडमाथि शनिबार प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो ।
बङ्गलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक लाइभ फुटेजमा एकपछि अर्को गरी साउण्ड ग्रिनेड पड्किएको र सडकबाट कालो धुवाँको मुस्लो उठेको देखिन्छ भने हजारौं मानिस सुरक्षाका लागि दौडिरहेको देखिन्छ ।
एएफपीका संवाददाताका अनुसार प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गर्दा राजधानीको मध्यभागका सडक र गल्लीहरूमा हिंसा फैलिएको थियो भने प्रदर्शनकारीहरूले ढुङ्गा र इँटा प्रहार गरेका थिए ।
ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले एएफपीसँग कुरा गर्दै भने, ‘विपक्षी प्रदर्शनकारीहरूले हवल्दारको टाउकोमा छुरा प्रहार गरेका छन् ।’
बिएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीको प्रदर्शन यस वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो भएको एएफपीका पत्रकारले बताएका छन् ।
बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन् र बंगलादेशले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा छिमेकी भारतलाई उछिनेर तीव्र आर्थिक वृद्धिको निरीक्षण गरिरहेकी छिन्, तर मुद्रास्फीति बढेको छ र उनको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ।
प्रहरी निरीक्षक बच्चु मियाले रबरको गोलीबाट घाइते भएका कम्तीमा २० जनालाई देशकै सबैभन्दा ठूलो ढाका मेडिकल कलेज अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिए ।
शहरको सबैभन्दा ठूलो क्याथोलिक चर्चअगाडि विपक्षी समर्थकले लाठी प्रहार गर्नुका साथै एउटा बस र एउटा प्रहरी चौकीमा आगजनी गरेपछि झडप सुरु भएको थियो ।
बिएनपीले हिंसाको विरोधमा आइतबार देशव्यापी हड्तालको आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता जहीर उद्दिन स्वपनले एएफपीसँग भने, ‘प्रहरी र सशस्त्र सत्तारूढ दलका कार्यकर्ताले हाम्रो शान्तिपूर्ण र्यालीमा आक्रमण गरेपछि दुईपक्षबीच तनाव बढेको थियो ।’
प्रदर्शनमा अवाञ्छित गतिविधि रोक्न र शान्ति कायम गर्न कम्तीमा १० हजार प्रहरी तैनाथ गरिएको थियो भने हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्टीकरणमा कुलमानको उल्टै चुनौती
-
एमालेको एक वर्षको आम्दानी : १४ करोड ७९ लाख रुपैयाँ
-
मन्त्रीका स्वकीय सचिवको मृत्यु प्रकरण : संसदीय छानबिन गर्न तीन दलको माग
-
अमेरिकाले फेरि संघीय कर्मचारीको कटौती गर्दै अमेरिका
-
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री
-
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन